व्यवस्थापनले निजी बैंकको जस्तो नाफा खोजेपछि सरकारी बैंकका कर्मचारी तनावमा

व्यवस्थापनले निजी बैंकको जस्तो नाफा खोजेपछि सरकारी बैंकका कर्मचारी तनावमा


काठमाडौं – सरकारको स्वामित्वमा रहेका बैंकहरुले निजी बैंकहरु सरह नाफा खोज्न थालेपछि सरकारी बैंकका कर्मचारी तनावमा पर्न थालेका छन् । सरकारी बैंकका उच्चस्तरको व्यवस्थापनले निजी बैंकहरु सरह नाफा खोज्न थालेपछि सरकारी बैंकका कर्मचारी तनावमा पर्न थालेका हुन् ।

सरकारी बैंकहरूले निजी बैंक जस्तो नाफा खोजेको कुरा हाल निकै चासोको विषय समेत बन्न पुगेको छ । सरकारी बैंकको उद्देश्य आम जनताको सेवा गर्नु, वित्तीय समावेशिता प्रवर्द्धन गर्नु र राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउनु हो । तर, निजी बैंकहरू नाफा कमाउने दृष्टिकोणले नै सञ्चालन गरिएको हुन्छ ।

सरकारले सरकारी बैंकहरूको सुधारका लागि निजी बैंकहरूको कार्यशैली र नाफा मोडेललाई ध्यानमा राखेर काम गर्न थालेको कतिपयको बुझाइ छ । सरकारले सरकारी बैंकहरूको वित्तीय अवस्था र कार्यशैली सुधार गर्नका लागि निजी बैंकहरूको जस्तो प्रतिस्पर्धा र कार्यक्षमता आवश्यक रहेको भन्दै सरकारी बैंकहरूले नाफा नकमाए बैंकको सेवास्तर र व्यावसायिक दक्षता पनि प्रभावित हुने धारणा व्यक्त गर्दै आएको पाइन्छ ।

सरकारी बैंकहरूले नाफा प्राप्त गर्नमा मात्र ध्यान केन्द्रित गर्दा वित्तीय समावेशिता लगायतका सामाजिक कार्यहरूमा ध्यान दिँदैनन् । जसले समाजको कमजोर वर्गलाई पनि थप असहज बनाउँछ । निजी बैंक जस्तै नाफा अधिकतम गर्न लाग्दा बैंकहरुले ब्याजदरमा पनि वृद्धि गर्ने अधिकांशको बुझाइ छ । सरकारी बैंक नाफामुखी बन्न खोज्दा वित्तीय असमानता बढ्छ ।

सरकारी बैंकहरूले अधिक नाफा कमाउनेतर्फ लाग्दा बैंकको कार्यसम्पादनमा पनि प्रभाव पर्छ । सरकारी स्वामित्वका बैंकहरुले नाफा कमाउन जोखिमपूर्ण क्षेत्रमा पनि ऋण वितरण गर्न सक्ने हुँदा त्यसले ऋण ‘डिफल्ट’को जोखिम बढ्छ । जसले गर्दा सरकारी बैंकको प्राथमिक उद्देश्य नाफा नभई समाजको समृद्धि र समग्र विकासमा योगदान पुर्‍याउने हुनुपर्छ ।

नेपाल सरकारको स्वामित्वमा सञ्चालनमा रहेको एक सरकारी बैंकमा कार्यरत एक कर्मचारीले सरकारी बैंकले निजी बैंकको जस्तै नाफा खोजेको आरोप लगाए । उनले सरकारी बैंकले निजी बैंकसँग अन्य विषयमा प्रतिस्पर्धा नगरेपनि नाफा आम्दानी भने निजी बैंकको जस्तै चाहेको बताएका हुन् । ‘प्रविधिमा फड्को मार्ने, निजी बैंकले जस्तै छिटोछरिता सेवा दिने र ग्राहकले चाहेको जस्तो विषयमा ध्यान नदिएर नाफामा मात्रै ध्यान दिएको जस्तो देखिन्छ,’ ती कर्मचारीले बैंकिङ्ग समाचारसँग भने, ‘नाफा त गर्न नै पर्छ संस्था स्थापना भएपछि तर नाफालाई मात्रै ध्यानमा राख्न भएन भन्ने कुरा हाम्रो हो ।’

निजीको जस्तो हुन्न तलब

सरकारी बैंकका कर्मचारीहरुले बैंकहरु नाफा कमाउन मात्रै केन्द्रित बन्दा आफूहरूलाई विभिन्न किसिमका समस्या हुने गरेको बताएका छन् । बैंकहरुले नाफामा मात्रै ध्यान दिएको तर कर्मचारीको तलबमा बेवास्ता गरेको उनीहरूले बताएका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले १७ वटा निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा समस्या आएको बताए । ‘हामीले निजी बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने यता नेपाल राष्ट्र बैंक, बोर्ड र अर्थ मन्त्रालय भने नाफा खोज्ने ।’ उनले नेपाल बैङ्कद्वारा आयोजित एक कार्यक्रममा भने, ‘नाफा खोज्दा निजी बैंकका कर्मचारीको सेवा सुविधासँग हाम्रो सेवा सुविधा दाँज्नु भएको छैन ।’

यता निजी बैंकमा कार्यरत एक उच्च पदस्थका कर्मचारी भने सरकारी बैंकको कर्मचारीको तुलनामा निजी बैंकका कर्मचारीको तलब बढी हुनु स्वाभाविक भएको बताउँछन् । धेरै बैंक वित्तीय संस्था आउँदा मोलतोललाईमा कर्मचारी माग गर्ने गर्दा निजी बैंकको कर्मचारीको तलब बढी भएको उनको बुझाई छ । निजी बैंकहरुमा निजी लगानी हुँदा टार्गेट बेसमा काम गर्नुपर्ने हुन्छ त्यसैले तलब बढी भएको उनको बुझाई छ ।