काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनासम्मको अवधिको तथ्यांकले अर्थतन्त्रको बाह्यसँग आन्तरिक सूचक सबल बन्दै गएको देखाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको साउनदेखि असोजसम्मको तथ्यांकअनुसार पहिलादेखि नै सबल रहेका अर्थतन्त्रका बाह्य सूचकसँगै आन्तरिक सूचक समेत सुधारिन थालेको देखाएको हो । यस अवधिमा वृद्धि भएको कर्जा प्रवाहले यस्तै देखाउँछ ।
बढ्दो अवस्थामा रहेको रेमिट्यान्स आप्रवाह थप सुधारिँदा अर्थतन्त्रको बाह्य पक्ष थप सबल बन्दै गएको छ । तथ्यांकअनुसार आप्रवाह ११.५ प्रतिशतले बढेर ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आर्थिक वर्षको सोही अवधिमा २५.८ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको थियो । यद्यपि, रेमिट्यान्स भित्रनेक्रम वृद्धि भने रोकिएको छैन ।
यस्तै, तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको सङ्ख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार ९३९ पुगेको छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी रेमिट्यान्स बढ्दा सिधा हेर्दा राम्रो देखिने र वैदेशिक मुद्राको सञ्चिति पनि बढाउने भए तापनि रेमिट्यान्स बढ्नुको कारणमा भर पर्नुपर्ने बताउँछन्।
उनले बाहिर लामो समयदेखि भइराखेका व्यक्तिहरूबाट रेमिट्यान्स बढ्दा राम्रो हुने भन्दै थप जनशक्ति बाहिरिएर रेमिट्यान्स बढ्नु नकारात्मक पक्ष भएको बताउँछन् । उनले जनशक्ति बाहिरिँदै जाँदा अर्थतन्त्रको बाह्य पक्ष सबल भएपनि आन्तरिक पक्ष कमजोर हुँदै जाने बताए । ‘रेमिट्यान्स बढ्दैमा अर्थतन्त्र राम्रो भयो बलियो भयो भन्ने स्थिति रहँदैन’ उनले भने ।
बढ्दै निक्षेप संकलन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा पनि वृद्धि हुँदै गएको देखाउँछ । केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंक वित्तीय संस्थाको निक्षेप संकलन २.६ प्रतिशत ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सुस्तता आउँदा बैंकहरुमा निक्षेप संकलन हुने क्रम बढिरहेको हो ।
नेपाल राष्ट्र बैंकले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७० अर्ब बढेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ५८ अर्ब ५० करोडले बढेको थियो । गत असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत छ । केन्द्रीय बैंकका अनुसार २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । २०८० असोज मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो ।
बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह, कृषिमा लगानी शून्य
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको हो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरुको २.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत बढेको छ । निर्माण क्षेत्रतर्फ २.२ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फ २.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ४.७ प्रतिशत बढेको छ । यस्तै, सेवा उद्योग क्षेत्रतर्फ २.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फ कर्जा २.२ प्रतिशतले बढेको छ ।
यस्तै, आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशत, हायर पर्चेज कर्जा ०.७ प्रतिशत, नगद प्रवाह कर्जा १.९ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशत बढेको छ । तर, कृषिमा लगानी दशक घोषणा गर्दा पनि कृषिमा जाने लगानी भने बढ्न सकेको छैन । कृषि क्षेत्रमा जाने कर्जा ०.४ प्रतिशतले र अधिविकर्ष कर्जा ५.८ प्रतिशतले घटेको हो ।
चालू वर्षको यो ३ महिनाको अवधिमा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि उक्त कर्जा १.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा यस्तो कर्जा ६.१ प्रतिशतले बढेको छ । त्यस्तै, समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा यस्तो दाबी ४.४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
बढ्यो विदेशी विनिमय सञ्चिति, १७.६ महिनाको आयात धान्ने
विदेशी विनिमय सञ्चितिमा बढेको देखाउँछ । नेपालमा विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ६० करोड पुगेको छ । तीन महिनामा अमेरिकी डलर ८.७ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको असोजमा १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ असोज मसान्तमा २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ ।
चालु खातामा १ खर्ब ११ अर्ब बचत, शोधनान्तर स्थिति झन्डै २ खर्बले बचतमा
समीक्षा अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।
यस्तै, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) रु.३ अर्ब ३८ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।
प्रतिक्रिया