वैदेशिक रोजगार बचतपत्रमा आवेदनका लागि कस्ता व्यक्ति योग्य हुन्छन् ?

वैदेशिक रोजगार बचतपत्रमा आवेदनका लागि कस्ता व्यक्ति योग्य हुन्छन् ?


काठमाडौं – सरकारको आन्तरिक ऋण परिचालनमा सहयोग पुऱ्याउनुका साथै विप्रेषण आय बैंकिङ्ग माध्यमबाट स्वदेशमा भित्र्याउन प्रोत्साहित गर्ने उद्देश्यले नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सन्देश जारी गर्दै वैदेशिक रोजगार बचतपत्रका विशेषताहरुको बारेमा जानकारी दिएको छ ।

केन्द्रीय बैंककाअनुसार वैदेशिक रोजगार बचतपत्र सरकारले निष्कासन गर्ने भएकोले लगानी पूर्ण रूपमा सुरक्षित हुन्छ । त्यस्तै, राष्ट्र बैंककाअनुसार ब्याजदर तुलनात्मक रूपमा आकर्षक हुन्छ र ब्याजदर परिवर्तन हुँदैन, घटीमा दश हजार रूपैयाँ र बढीमा सो रकमले भाग गर्दा निःशेष हुने अङ्कमा कुल निष्कासित रकममा नबढाइ खरिद गर्न सकिन्छ, आवश्यकताअनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिन्छ ।

केन्द्रीय बैंकले वैदेशिक रोजगार बचतपत्रमा आवेदनका मुलुकबाहिर रोजगारीमा संलग्न वा रोजगारीबाट फर्केको बढीमा ६ महिना नपुगेका नेपाली नागरिकहरू वा गैरआवासीय नेपाली योग्य रहने पनि बताएको छ । केन्द्रीय बैंकले बचतपत्र खरिदकर्ताले आफ्नो नाममा वा परिवारका सदस्यका नाममा खरिद गर्न सक्ने पनि उल्लेख गरेको छ । त्यस्तै, वैदेशिक रोजगार बचतपत्र विदेशबाट वा विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेशमा ल्याएको प्रमाण पेस गरेमा खरिद गर्न सकिन्छ ।