काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ५२ लाख ७ हजार १ सय २२ पुगेको देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या साउन मसान्तमा ३ लाख १२ हजार ३ सय १९ ले बढ्दै २ करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको थियो भने भदौमा भने २ लाख ३४ हजार ९ सय ५७ ले मात्रै बढेको छ ।
मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको दोस्रो महिना भदौमा २ करोड १६ लाख ९१ हजार ४७४ थियो। मोबाइल बैंकिङ्गमा बैंकहरुले लिएको शुल्क महँगो हुँदा प्रयोगकर्ताको सङ्ख्या घट्न पुगेको कतिपयको बुझाइ छ । बैंकहरुले एक ‘ट्रान्जेक्सन’को नै १० रुपैयाँ लिँदै आएका छन् ।
कुन बैंकको कति ?
सबैभन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ता हुने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक रहेका छन् । यी बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १० लाखभन्दा बढी छन् । त्यस्तै, सबैभन्दा कम मोबाइल बैंकिङ्ग प्रयोगकर्ता हुने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक छ । साे बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ५० हजार मात्रै रहेका छन् ।
लाग्न थाल्यो भ्याट, झनै महँगो बन्यो सेवा
डिजिटल कारोबारमा सरकारले यो वर्षदेखि भ्याट लागाउन थालेसँगै अत्याधिक खर्च आउन थालेको छ । एउटा बैंकबाट अर्को बैंकमा कारोबार गर्दा प्रतिकारोबार १० रुपैयाँ र त्यसमा लाग्ने १.३० रुपैयाँ भ्याट जोड्दा ११.३० रुपैयाँ पुगेको छ । सरकारको भ्याट नीतिले गर्दा ५ रुपैयाँको वस्तुमा १६.३० रुपैयाँ खर्च हुने गरेको छ । जसले दैनिक १० वटा विद्युतीय कारोबार गरेमा महिनामा ११३ रुपैयाँ अतिरिक्त खर्च हुन्छ ।
यसअनुसार प्रतिदिन १० वटा कारोबार गर्दा महिनामा अतिरिक्त ३ हजार ३९० रुपैयाँ खर्च हुने देखाउँछ जसले गर्दा पनि डिजिटल माध्यमबाट हुने भुक्तानीमा कमी आउने कतिपयले बताइरहेको समयमा केन्द्रीय बैंककाे तथ्यांकले पनि डिजिटल माध्यमबाट हुने कारोबार रकममा गिरावट आएको देखाएको छ ।
राष्ट्र बैंकले पछिल्लो समय मोबाइल बैंकिङ्गबाट हुने कारोबार रमकमा पनि गिरावट आएको देखाएको छ । केन्द्रीय बैंकले भदौमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखाएको छ । राष्ट्र बैंककाअनुसार अघिल्लो आर्थिक वर्षभरिमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । गत साउनमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
यता अधिकांश बैंकरहरुले भने साउनको तुलनामा भदौ महिनामा कम कारोबार हुने गरेको उल्लेख गर्दै आएका छन् । उनीहरुले साउन महिना आर्थिक वर्षको अन्त्य महिना हुनाले राजस्वदेखि सबै कारोबार मिलाउने हुँदा बढी कारोबार हुने गरेको बताउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्गबाट कारोबार गर्दा कति शुल्क लाग्छ भन्ने कुनै व्यवस्था गरेको छैन । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भदौ महिनामा विभिन्न बिदाहरु पर्दा विभिन्न कर्पोरेट हाउसहरुले कम भुक्तानी गर्दा कारोबार रकममा गिरावट आएको बताउँछन् । ‘कुनै महिनामा बढी कारोबार हुनु कुनै महिनामा कम हुनु नर्मल नै हो’ उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने, ‘ कारोबार रमकमा गिरावट आउनुमा मोबाइल बैंकिङ्ग प्रयोग गर्दा लाग्ने ट्रान्जेक्सन शुल्कको प्रभाव होइन ।’
प्रतिक्रिया