लगानीकर्ताले रुचाएनन् बैंकको त्रैमासिक वित्तीय विवरण, घट्न थाल्यो शेयर मूल्य

लगानीकर्ताले रुचाएनन् बैंकको त्रैमासिक वित्तीय विवरण, घट्न थाल्यो शेयर मूल्य


काठमाडौं – वाणिज्य बैंकहरुले सुधारिएको तथ्यांकसहित पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि शेयर मूल्य भने घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्ममा गत वर्षको तुलनामा बैंकहरुले नाफा बढाएको तथ्यांक सार्वजनिक गरेका छन् । यसका बाबजुत विवरण सार्वजनिक भएयताका दुई कारोबारका दिनमा शेयर मूल्य लगातार घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार र बिहीबार एकाध बाहेक सबैजसो बैंकहरुको शेयर मूल्य ओरालो लागेको छ। यसलाई शेयर लगानीकर्ताहरुले बैंकको त्रैमासिक प्रतिवेदन चित्त नबुझाइएको दाबी गरिएको छ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ प्रतिशतले नाफा बढेको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् ।

यस अवधिमा २० वटा बैंकहरुले १६ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमामा बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू वर्षको पहिलो त्रैमासमा बैंकको नाफा बढ्दा लगानीकर्तामा उत्साह आउनुपर्ने हो ।

किनकी, पहिलो त्रैमासदेखि नै बढ्न थालेको बैंकको नाफाको प्रभाव दोस्रो र तेस्रो हुँदै चौथोसम्म पर्छ । यही तुलनामा बैंकको नाफा बढ्दै जाँदा लगानीकर्ताले पाउने प्रतिफल समेत बढी हुन्छ । तर, लगानीकर्तामा उत्साहको साटो नैराश्यता देखिन थालेको छ । यही साताको बुधबार वित्तीय विवरण सार्वजनिक भएयता बैंकहरुको शेयर मूल्यमा निरन्तर गिरावट आउन देखियाे ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत समूहमध्ये बैंकिङ्ग क्षेत्रलाई बलियो मानिन्छ । यो समूहमा आउने घट्बढले समग्र नेप्सेको सूचकलाई नै प्रभावित बनाउँछ । बुधबार शेयर बजार ०.७६ प्रतिशत घट्दा बैंकिङ्ग समूहको सूचक सबैभन्दा धेरै १.७० प्रतिशत घटेको थियो । बुधबार नबिल बैंकको मात्रै बजार बढेको थियो । नबिल बैंकको शेयर मूल्यमा पनि जम्मा ३ अंकको सुधार देखिएको थियो ।

त्यस्तै, गत बुधबार सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीको सूचीमा प्रभु बैंक छ । बैंकको शेयर मूल्यमा सो दिन १५.१ रुपैयाँको गिरावट आएको थियो । साथै, सो दिन सिटिजन्स बैंकको मूल्यमा १५ रुपैयाँ, सिद्धार्थ बैंकको मूल्य १४ रुपैयाँ, कुमारीको ११.७ रुपैयाँ, कृषि विकास बैंकको ११.१ रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर मूल्य ११.१ अंकको गिरावट आएको थियो ।

बुधबारकै कारोबारले निराश बनेका लगानीकर्ता बिहीबार पनि निराश बनिरहे । जसकारण, बिहीबारको बजार पनि घट्यो । जसमा बैंकिङ्ग समूहमा समेत उच्च गिरावट आयो । बिहीबार पनि बैंकिङ्ग समूहमा १५.७८ अंकको गिरावट आएको छ । सो दिन १.०२ प्रतिशतले घटेको बैंकिङ्ग समूहमा रहेका २ वटा बैंकको शेयर मूल्य मात्रै बढ्यो । बिहीबार एसबीआई र स्ट्यान्डर्ड चाटर्ड बैंकको मूल्य मात्रे बढ्यो ।

शेयर विश्लेषक गोपाल भट्ट शेयर बजारमा तत्काल नाफा लिने किसिमका लगानीकर्ता नरहेकाले बजार प्रभावित बनेको बताउँछन् । उनले नेपालका लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरणको साटो बजारको हल्लालाई लगानीको आधार बनाउने गरेको बताए । ‘ सरोकारवालाले पोजेटिभ विश्लेषण गर्नुपर्छ,’ उनले थपे, ‘पछिल्लो चरण बजारमा अर्थमन्त्री विष्णु पौडेल लगानीकर्ता जस्तो बन्न पुगेका छन् । जसको प्रभाव बजारमा देखिन्छ ।’

त्यस्तै, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बैंकको वित्तीय विवरण लगानीकर्ताको अपेक्षाभन्दा फरक सार्वजनिक भएकाले बजार घटेको बताए । ‘धेरैजसो लगानीकर्ताले बैंकको यसप्रकारको सुधारिएको विवरण आउने अपेक्षा गरेका थिएनन्,’ उनले भने, ‘यहीकारण धेरैले शेयर बेचेर बसेका थिए ।’ यस्तै, वित्तीय विवरण सार्वजनिक भएपछि बैंकिङ्ग समूहको शेयर मूल्य घट्नुपर्ने कारण नै नरहेपनि घटिरहेको उनको भनाइ छ ।