बैंकमा देखिएन कर्जा प्रवाह नबढ्नुको प्रभाव, उल्लेख्य बढ्यो नाफा

बैंकमा देखिएन कर्जा प्रवाह नबढ्नुको प्रभाव, उल्लेख्य बढ्यो नाफा


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा सार्वजनिक वित्तीय विवरणमा कर्जा प्रवाह नबढ्दाको प्रभाव शून्य देखिएको छ । बैंकहरुमा थुप्रिरहेको तरलता (लगानीयोग्य रकम) लगानीमा परिवर्तन नहुँदाको प्रभाव शून्य देखिएको हो । चालू वर्षको पहिलो त्रैमास (साउनदेखि असोज)सम्मको अवधिमा बैंकहरुले कमाएको नाफाबाट यस्तो देखिएको छ ।

यस अवधिमा सञ्चालनमा रहेका २० वटा बैंकहले ३ महिनाको अवधिमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा २१ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको यही अवधिमा बैंकहरुले १३ अर्ब १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका थिए । जुन, चालू वर्षको नाफाको तुलनामा २ अर्ब ८९ करोड रुपैयाँले बढी हो । बैंकहरुले गत आर्थिक वर्षको तुलनामा चालू वर्षको ३ महिनामा आक्रामकरुपमा नाफा बढाएका हुन् ।

नबिल सबैभन्दा अघि, अरुको कस्तो छ ?
यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब २८ करोड, एनएमबी बैंकले १ अर्ब १४ करोड, एभरेष्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र प्रभु बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

नेपाल एसबीआई बैंकले ८१ करोड रूपैयाँ, हिमालयन बैंकले ७२ करोड रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५३ करोड, माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख रुपैयाँ, सानिमा बैंकले ३९ करोड, सिद्धार्थ बैंकले ३८ करोड, सिटिजन बैंकले १९ करोड नाफा कमाएका छन् । ३ महिनाको अवधिमा एनआईसी एशिया बैंकले सबैभन्दा कम ११ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको तुलनामा पहिलो त्रैमासमा १२ वटा बैंकले नाफा बढाएका छन् भने ८ वटाको नाफा घटेको छ । एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सानिमा, माछापुच्छ्रे, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको तथ्यांक सार्वजनिक भएको छ ।

बलियो बन्दै सरकारी बैंक
सरकारी स्वामित्वको नेपाल बैंकले राम्रो प्रगती गरेको छ । बैंकले पहिलो त्रैमासमा ६० करोड २१ लाख ९८ हजार नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो । गत वर्षको यही अवधिमा बैंकले १४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यससँगै बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस्तै, कृषि विकास बैंकले पनि नाफा उल्लेख्य रुपमा बढाएको छ । गत वर्षको यही अवधिमा ८८ करोड ८ लाख रुपैयाँभन्दा बढीले घाटामा रहेको बैंकले यस अवधिमा १९ करोड ९ लाख २३ हजार नाफा गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि १५ करोड १३ लाख नाफा गरेको छ । यो बैंकको नाफामा भने नेपाल बैंक र कृषि विकास बैंकको जस्तो नाफा बढेको छैन । बैंकको गत वर्षको तुलनामा ८२ प्रतिशतले नाफा घटेको तथ्यांक सार्वजनिक भएको छ । यो बैंकले गत आवमा ८५ करोड १८ लाख नाफा आर्जन गरेको थियो ।


केन्द्रीय बैंकको नीतिको प्रभाव बैंककाे नाफामा
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लचिलो नीति लिँदा अधिकांश बैंकहरुको नाफा बढेको छ । यस अवधिमा १२ वटाको नाफा बढ्दा ८ वटाको मात्रै नाफा घटेको छ । गभर्नर महाप्रसाद अधिकारी आएसँगै कसिलो मौद्रिक नीतिका कारण मारमा परेका बैंकहरुले चालु वर्षको मौद्रिक नीतिमा गरिएको फेरबदलले नाफा बढाउन सफल बनेका हुन् ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष व्यवस्थापन सम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएको थियो । यसबाट बैंकहरुलाई सहजता प्रदान भएको सरोकारवाला बताउँछन् । गभर्नरले पुँजीकोष व्यवस्थापन सम्बन्धी व्यवस्थालाई खुकुलो बनाइदिदा पनि बैंकहरुले पहिलो त्रैमासमा नै यति नाफा आर्जन गर्न सफल भएको विज्ञको बुझाइ छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्दा पनि बैंकहरुको नाफामा सुधार आएको उनीहरुको बुझाइ छ ।

अनलराज भट्टराई नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्थाहरुमा गरेको खुकुलोपनाले बैंकहरुको नाफा बढ्न सफल भएको बताउँछन् । ‘केन्द्रीय बैंकले मौद्रिक नीतिमा बैंकहरुले गर्नुपर्ने प्रोभिजनिङ्गलाई खुकुलो बनाउँदै रेगुलेटरि रिफर्मलाई पनि ध्यान दिँदा बैंकहरुलाई केही सहज भएको हो’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘बैंकहरुले पनि आफुले सक्दो कर्जा रिकभरिमा ध्यान दिएर कर्जा लगानीमा पनि ध्यान दिँदा नाफामा सुधार आएको हो ।’