जनसंख्याभन्दा दोब्बर बढी बैंक खाता, एकै व्यक्तिले खोल्छन् आधा दर्जन

जनसंख्याभन्दा दोब्बर बढी बैंक खाता, एकै व्यक्तिले खोल्छन् आधा दर्जन


काठमाडौं – बैंकमा खाता खोल्नेहरुको संख्या नेपालको कूल जनसंख्याभन्दा झण्डै दोब्बर पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार पुगेको हो । जबकी, पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।

बैंकमा खुलेको कूल खाता संख्या जनगणना २०७८ को कूल जनसंख्याभन्दा २ करोड ७० लाख बढी हो । जबकि ‘साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनीसेटिभ’ ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा ५४ प्रतिशत जनसंख्यामा मात्रै बैंकिङ्ग पहुँच पुगेको छ । यसको अर्थ नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ्ग पहुँच बाहिर छ ।

नेपाल राष्ट्र बैंकले सो प्रतिवेदन आफ्नै वेवसाइटमा पनि राखेको छ । बैंक खाता खोल्नेको संख्या बढ्दो क्रममा देखिएको । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २०८०/८१ मा नै ४५ लाखले खाता संख्या बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंक खाताको संख्या ५ करोड १७ लाख ३८ हजार थियो । यो एउटै व्यक्तिले धेरै वटा बैंकमा खाता खोल्दा सृजना भएको समस्या हो । जसलाई बैंक तथा वित्तीय संस्थादेखि नेपाल राष्ट्र बैंकले समेत बेवास्ता गरेको छ ।

राष्ट्र बैंकको व्यवस्था कार्यान्वयनमा बेवास्ता
नेपाल राष्ट्र बैंकले बचत खाताको संख्या बढ्दै गएसँगै एउटै व्यक्तिको नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बैंकमा एक भन्दा बढी खाता हुनेले विदेशमा गएर समेत बढी रकम निकाल्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकको सो निर्देशनपछि बैंकहरुले एकभन्दा बढी खाता भएकाहरुलाई तत्काल बन्द गरी एउटा मात्र राख्न सूचना जारी गरी खाता बन्द समेत गराइसकेका छन् । एक व्यक्तिको एटा बैंकमा एक वटा मात्रै बचत खाता हुन पाउने व्यवस्थाले केही खाताको संख्या घटेको पनि छ ।

पूर्व गभर्नर चिरञ्जीवी नेपाल बैंकखाता बढी हुनु वित्तीय क्षेत्रको लागि राम्रो हुने बताउँछन् । ‘कसैको ३/४ वटा खाता पनि हुनसक्छ,’ उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने, ‘केन्द्रीय बैंकले एक व्यक्ति एक बैंक खाताको नीतिमा काम गरेको भन्दै त्यसले वित्तीय क्षेत्र विस्तारका लागि राम्रो गर्दैन ।’

घट्दै बैंक, बढ्दै खाता संख्या
हाल बैंक तथा वित्तीय संस्थाको संख्या भने घट्दो छ । नेपाल राष्ट्र बैंकले मर्जर नीति अंगालेपछि बैंक तथा वित्तीय संख्याको संख्या घट्दो छ । बैंक तथा वित्तीय संस्थाको मर्जरका कारण दोहोरो बैंक खाता घट्नुपर्ने हो । तर, बैंक खाता संख्या झनै बढ्दो छ । कुनै समयमा ३२ वटासम्म पुगेका वाणिज्य बैंकको संख्या यतिबेला २० मा झरेको छ । बैंकहरुको संख्या घट्दै जाँदा खाताको संख्या पनि क्रमश घट्नुपर्नेहो ।

बैंकिङ्ग क्षेत्रका विज्ञहरुका अनुसार बढी खाता खोल्दा बैंकहरूलाई व्यवस्थापनमा चाप बढ्ने र खाता खोल्नेहरुसँगै वित्तीय अपराधका घटनाहरू पनि बढ्न सक्छ । उनीहरुले अत्यधिक खाता खोल्दा बैंकको स्रोत साधन सिमित हुँदा सेवाहरूको गुणस्तरमा कमी आउने बताउँदै आएका छन् । यता बैंकरहरु भने बढी खाता खोल्दा बचत र लगानीलाई प्रवद्र्धन गर्दै आर्थिक वृद्धिमा सहयोग पुग्ने बताउँछन् । बैंकरहरुले खाताको संख्यासँगै व्यक्तिहरू बैंकिङ्ग सेवामा समाहित हुँदा वित्तीय ज्ञान बढ्ने बताउँदै आएका हुन् ।