खाता राख्ने पुरानो शैलीको ढड्डा बदल्दै ‘खातापाना’

खाता राख्ने पुरानो शैलीको ढड्डा बदल्दै ‘खातापाना’


  काठमाडौं – तपाईँ/हामी सबै जन्मेदेखि मृत्युसम्म सरकारी कार्यालयमा एक न एक पटक पुगेकै हुन्छौँ । किनकि, जन्म दर्तादेखि मृत्युदर्तासम्मको काम सरकारी कार्यालयबाटै गर्नुपर्छ । नागरिकता बनाउन होस् वा राहदानीका लागि, सरकारी कार्यालय नपुगेर सुखै छैन । अझै लाइसेन्सको कामका लागि यातायात कार्यालय पुग्दा पुराना ढड्डामा राखिएका कागजका थुप्रो देखिन्छ ।

ती सबै कागजमा विभिन्न तथ्याङ्क र जानकारी राखिएको हुन्छ । यसबाहेक निजी कम्पनी र पसलहरूमा पनि किताब र खाताको चाङ देख्न सकिन्छ । तर, यति बेला दुनियाँमा धेरै परिवर्तन भइसक्यो । संसारभर सूचना प्रविधिले क्रान्ति गर्दै जाँदा पुराना शैलीमा पुरानै ढड्डामा खाताहरू राख्ने समय पनि घर्किसक्यो। सामान्यतया, खातापाना भन्ने बित्तिकै हाम्रो दिमागमा कम्पनी त्यही पुराना किताब, खाता र कागजका याद आउँछन् ।

सोही कारण आज हामी खाताहरूलाई व्यवस्थित र डिजिटल प्रविधिबाट हिसाब राख्ने कम्पनी ‘खातापाना’को कुराकानी गर्न गइरहेका छौं । विश्वव्यापीरुपमा प्रविधिले प्रगति गर्दै गर्दा नेपालमा पनि प्रविधिको प्रयोगले व्यापक फड्को मारेको छ । यसलाई खाताहरूको व्यवस्थित र प्राविधिकरुपमा व्यवस्था गर्ने र राख्ने खातापानाले पनि पुष्ट्याउँछ ।

खातापानाका सञ्चालक कैलाश पाण्डेले आफ्नो व्यवसाय मार्फत वर्तमान समयको मागलाई समाधान गरेका छन् । कैलाश पाण्डेले कानून विधा र चार्टड एकाउन्टेन्ट विधामा भारतबाट उच्च शिक्षा लिएका छन् । पढाई सकेर भारतमा नै केही समय काम गरेपछि नेपाल फर्किएर आफ्नै व्यवसाय गर्ने मनस्थिति बनाए पनि कोरोनाका कारण बिथोलियो । केही समय बिथोलिए पनि कोभिड महामारीको फुर्सदको समयमा गहन बनेर सोच्ने मौका पाए र सोचपछि निस्कियो ‘खातापाना’ को योजना ।

फुर्सदको समयमा सोचेपछि सबै काम मोबाइलबाटै गर्न सक्ने गरी ‘एप’ बनाउने सोचे र सुरु गरे काम । उनले २०२१ मा पुरानो शैलीको खाता राख्ने तरिका बदल्न सूचना प्रविधिलाई आत्मसाथ गर्दै खातापानाको सुरुवात गरे । ‘खातापाना भन्ने बित्तिकै ‘अकान्ट’ सम्बन्धी काम भन्ने बुझिन्छ,’ उनले भने, ‘खातापाना नाम राख्नुको कारण अकाउन्ट सम्बन्धी काम हुने भएकोले हो ।’

चुनौतीको सामना गर्नुका साथै आफ्नो कामलाई अघि बढाउने चरणमा धेरै गल्तीबाट नै आफू आज यो स्थानसम्म आइपुगेको उनको भनाइ छ ।

सुरुवातमा कम्पनीसँगै व्यक्तिगत रुपमा आम्दानी र खर्चको हिसाबकिताब राख्ने योजनासहित खातापाना सुरु भएको थियो । तर, विस्तारै विस्तार हुँदै यसको कार्यक्षेत्र फराकिलो बनिरहेको छ । नेपालको वित्तीय चेतना कम हुँदै गएको भान भएपछि कैलाशले खातापानाको योजना अघि बढाएका थिए । कुनैपनि कम्पनीमा हिसाबहरू मिलाउन जरुरी भएसँगै व्यक्तिगत जीवनमा पनि खर्च मिलाउन आवश्यक छ,’ उनले भने, ‘कमाई बचतको व्यवस्थित तरिकाले रेकर्ड राख्न आवश्यक छ भन्ने लागेर यो काम सुरुवात गरेको हो ।’

खातापानाले सबै किसिमको कम्पनीहरू, बैंक, पसलहरू, व्यक्तिगतरुपमा पनि हिसाबहरू राख्न मद्दत गर्छ । तर, काम सुरु गर्दै गर्दा विभिन्न समस्या र चुनौती कैलाशले भोगेका थिए । ‘काम सुरुवात गर्ने क्रममा जनशक्ति बटुल्न समय लाग्यो,’ उनको भनाइ छ, ‘आफ्नो टिम बनाएर काम गर्नपनि नेपालमा के कस्तो छ दक्षता भनेर प्रश्न गर्नुपर्ने अवस्था छ ।’

चुनौतीको सामना गर्नुका साथै आफ्नो कामलाई अघि बढाउने चरणमा धेरै गल्तीबाट नै आफू आज यो स्थानसम्म आइपुगेको उनको भनाइ छ । आफूले के काम गर्न लागेको र कम्पनीको उद्देश्य के हो भन्ने कुरा आफू प्रस्ट हुन् आवश्यक रहेको उनी बताउँछन् । खातापानाले बैंक तथा वित्तीय क्षेत्रलाई पनि सहजीकरण गर्ने बताउँदै भन्छन्, ‘नेपालका व्यवसायीले बैकिङ्ग सेवाहरु लिइरहेका हुन्छन् । तर, सबै प्रक्रिया थाहा नभएर बीचमा नै छोडिरहेका हुन्छन् ।’ यस्ता व्यवसायी वा ग्राहकलाई खातापाना उपयोगी बन्ने उनको भनाइ छ ।