शेयर बजार: उत्तर दिनुपर्ने अर्थमन्त्रीले गरे उल्टै प्रश्न, जवाफ कसले दिने ?

शेयर बजार: उत्तर दिनुपर्ने अर्थमन्त्रीले गरे उल्टै प्रश्न, जवाफ कसले दिने ?

निकेश खत्री
224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ३ हजार अंकको बिन्दुमा पुगेको शेयर बजार घट्न थालेपछि अर्थमन्त्री छटपटाएका छन् । शेयर बजारमैत्री अर्थमन्त्रीको छवि बनाएका विष्णुप्रसाद पौडेल बिना कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्न थालेपछि छटपटाएका हुन् ।

यसअघि पटक–पटक शेयर बजार परिसूचकले उच्च अंकको कीर्तिमान कायम गर्दा अर्थमन्त्रीकारुपमा पौडेल थिए । नेप्से परिसूचकले १८८१ अंकको बिन्दु तय गर्दा पनि अर्थ मन्त्रालयको नेतृत्व पौडेलले गरेका थिए ।

यसपछि काेराेना कालमा परिसूचकले ३१९८ अंकको बिन्दु तय गर्दा समेत अर्थ मन्त्रालयको नेतृत्वमा पौडेल नै थिए । यसकारण पटक–पटक आफ्नो नेतृत्वमा शेयर बजारले उच्च बिन्दुको बाटो तय गरेपछि पौडेल शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा परिचित छन् ।

पाँचौँ पटक अर्थ मन्त्रालयको नेतृत्वमा पौडेल आउनसाथ यस पटक पनि शेयर बजारले निरन्तर उकालो यात्रा तय गरेको थियो । असार १७ गतेको सम्झौतापछि अर्थ मन्त्रालयमा पौडेल फर्कने चर्चा चल्न थाल्यो र असार ३१ गतेको शपथग्रहणमा सो चर्चा वास्तविकतामा परिणत भयो ।

असार १७ गतेदेखि नै बढ्न थालेको बजार असार ३१ गते अर्थमन्त्रीका रुपमा पौडेलले कार्यभार सम्हालेपछि झनै बढ्न थाल्यो । साउनको २ गतेसम्म दैनिक २ देखि ३ अर्ब रुपैयाँमा रहेको कारोबार रकम सोही महिनाको अन्तिमसम्ममा पुग्दा ३० अर्ब रुपैयाँसम्म पुग्यो ।

अर्थतन्त्रका सबैजसो सूचकहरू ठिकठाक अवस्थामा फर्कने क्रममा रहँदै गर्दा शेयर बजार १८ सय अंकको बिन्दुमा रुमल्लिइरहेको थियो । दैनिक २ देखि ३ अर्ब रुपैयाँको कारोबार नै मुस्किल भइरहेको थियो । यस्तो स्थितिमा अर्थ मन्त्रालयमा पौडेल फर्किए र बजारमा एकाएक रौनक आयो ।

तर, सो रौनक २ हजार अंकको बिन्दुबाट ३ हजार अंकको बिन्दुमा पुगेपछि सेलायो । जसकारण फेरी एक पटक शेयर बजारकाे नयाँ कीर्तिमान कायम हुने अपेक्षामा रहेका अर्थमन्त्री पौडेल अत्तालिएका हुन् । एक महिनाभन्दा बढीको समयमा नै शेयर बजार परिसूचकले ५० प्रतिशतसम्मको वृद्धि कायम गरिसकेको थियो ।

यति बेला शेयर बजार लगातार १८औं दिनदेखि ओरालो यात्रामा छ । यसबीचमा छिट्टफुट्ट बढेपनि बजारले उकालो यात्रा तय गर्न सकेको छैन । जबकि, बजार घट्नुपर्ने आधार नै केही छैन । यति बेला बैंक ब्याजदर ३० महिनायताकै न्यून बिन्दुमा छ भने बैंकहरुमा लगानीयोग्य तरलता समेत झन्डै ६ खर्ब रुपैयाँ हाराहारी छ ।

बिना आधार बजार घट्न थालेपछि शेयर बजारमैत्री भनिएका पौडेलमा छटपटी बढेको हो । यसै कारण आज उनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय पुगे र बजार घट्नुको कारण सोधिखोजी गरे । जबकि, अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका पौडेल स्वयं बजार घट्नुको कारणबारे जवाफ दिने ठाउँमा छन् ।

उनै पौडेल आज नेप्से कार्यालय पुगे र सोधे, ‘३ हजार अंकको बिन्दुमा पुगेको शेयर बजार घट्नुको कारण र ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम ६ अर्बमा खुम्चिएको बारे सोधिखोजी गरे ।’ साथै अर्थमन्त्री पौडेलले आफ्ना यी प्रश्नको जवाफ नपाउँदासम्म सोधिरहने समेत बताए ।

सरकार पूँजी बजार मैत्री र यस क्षेत्रको दिगो विकासका लागि तयार रहे पनि बजार घट्न थालेपछि अर्थमन्त्रीमा चिटचिडाहट आएको देखिन्छ । किनकि, वर्तमान सरकारले पुँजी बजारको वृद्धिलाई नै आफ्नो सफलताको रुपमा चित्रण गरिरहेको छ । प्रधानमन्त्री स्वंमले नै विश्वासको मति लिनेक्रममा सरकार फेरिएसँगै पूँजीबजार चलायमान बनेको उद्घोष गरेका थिए ।

अर्थमन्त्रीसँग कुराकानी गर्दै नेप्सेका अध्यक्ष शोभाकान्त पौडेलले बजार घट्नुपर्ने कारण नै नरहेको बताए । उनले बजार घट्नुपर्ने कारणबिनै घटिरहेकाले नेप्सेमाथि निगरानी बढाउनुपर्ने समेत बताए । ‘अर्थ मन्त्रालयले नेप्सेमाथि निगरानी बढाउनुपर्छ,’ उनले भने ।

शेयर लगानीकर्ता तारा प्रसाद फुल्लेल अर्थमन्त्री पौडेल शेयर बजारमैत्री भएको बताउँछन् । पद बहालीकै दिन अर्थमन्त्रीले शेयर बजारलाई नेपालको अर्थतन्त्रको ऐनाका रुपमा विकास गर्ने भनेको सुनाउँदै फुल्लेल भन्छन्, ‘यसअघिका अर्थमन्त्रीले बजारमैत्री भाषण नै गरेका थिएनन् ।’

लगानीकर्ताहरूका अनुसार पौडेलले बजारलाई सुधार गर्न आवश्यक पर्ने नीति बनाउने गरेका छन् । नीति नबनाए पनि बजार विरोधी र बजार घट्ने गरी भाषणबाजी गर्दैनन् । यही कारण पौडेललाई शेयर लगानीकर्ताले मन पराउने अर्का लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

‘अर्थमन्त्री पौडेलले बजार विरोधी गतिविधि गर्नुहुन्न,’ उनी भन्छन्, ‘सोही कारण उहाँ बजारमैत्री अर्थमन्त्रीका रुपमा स्थापित हुनुभएको छ ।’