व्यवसायमा छोरीहरू पनि सक्षम छन् भन्ने उदाहरण दिँदै ‘प्रभा’

 व्यवसायमा छोरीहरू पनि सक्षम छन् भन्ने उदाहरण दिँदै ‘प्रभा’


काठमाडौं – आफ्नै थोरै पुँजी, सीप र व्यवस्थापनमा उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हुनेहरूको जमात बढ्दो छ । आफ्नो उद्यमशीलतामा विश्वास गर्दै बजारको आवश्यकतालाई सुक्ष्मरूपमा बुझेर ‘स्वदेशमै सम्भव छ’ भनेर कोसिस गर्नेको सङ्ख्या पनि निकै बढेको छ।

यही कुरालाई मनन गर्दै सरकारले पनि स्टार्टअपको विषयलाई थप चासोका साथ हेर्न थालेको छ । यसले स्वदेशमै सम्भव छ भनेर काेशिस गरिरहेका नयाँ उद्यमीहरूको लागि थप उत्प्रेरणा र नयाँ आशा जगाएको छ ।

बढ्दो शिक्षाको पहुँच, सूचना र प्रविधिको विकासले नेपाली महिलाहरूमा पनि स्वदेशमै उद्यमी बनी केही गर्ने रुचि बढ्दो छ । वर्तमान परिवेशमा के कस्तो आवश्यकता छ भन्ने कुराको मनन गर्दै अघि बढिरहेको व्यवसायीमध्ये एक हुन्, प्रभा गौतम ।

उनले सहरको व्यस्तता छल्न चाहनेलाई लक्षित गर्दै ‘देउमाडी माउन्टेल कटेज’ सञ्चालनमा ल्याएकी छिन् । उनी एक हाइड्रोपावर इन्जिनियर हुन, जसले वर्तमान समयमा नेपालमा प्रकृतिमा अपार सम्भावना देखेर आफ्नो व्यवसायलाई विस्तार गरेकी छिन् ।

उनले हाइड्रोपावर इन्जिनियर भएर काम गर्दा विभिन्न ठाउँमा भ्रमण गर्ने मौका पाइन्। यसैबीच नेपालको हरियाली वातावरण, नेपालको जलस्रोत नेपालको प्राकृतिक क्षेत्रमा अपार सम्भावना छ भन्ने महसुस गरिन् र आफ्नै केही सुरुवात गर्ने अठोट लिइन् ।

उनले नेपालको प्रकृतिलाई मध्यनजर गर्दै घुम्न र प्रकृतिसँग निकटमा अनुभव गर्न चाहनेलाई सहज बनाउन प्राकृतिक ठाउँहरूमा बस्न मिल्ने वातावरण बनाइदिएकी छिन् । पारिवारिक वातावरण सिर्जना गरेर व्यस्तता छल्न चाहनेलाई घरहरू भाडामा दिने गरेकी छिन् ।

‘घुम्न मन पराउनेहरूका लागि हामीले सहज बनाउन खोजेका हौँ,’ उनले भनिन्, ‘काम सुरुवात गर्ने क्रममा धेरै चुनौतीहरू थिए । तर, हामीले जता–जता चुनौती सामना गरेऊ झनै अघि बढ्ने हौसला मिल्यो ।’ बाहिरी देशहरूमा सहरमा बसेर व्यस्त जीवन बिताइरहेको हुन्छन् । यस्तो जीवनबाट केही समय आनन्द लिन वन जङ्गलतर्फ गएर कटेजहरुमा बस्ने चलन छ । जहाँ घर जस्तै सबै सुविधाहरू उपलब्ध गराइएको हुन्छ ।

‘सामाजिकरुपले महिलाहरूलाई व्यवसाय गर्न कठिन छ । घरबाट छोराहरूलाई हुने जति सहयोग छाेरीहरूलाई हुँदैन ।’

प्रभाले नेपालको प्रकृतिलाई प्राथमिकतामा राखी पर्यटनहरूको लागि पनि सहज बनाएकी छिन् । तर, सामाजिक रूपमा महिलाहरूलाई व्यवसाय गर्न असहज हुने उनको बुझाइ छ । उनी भन्छिन्, ‘सामाजिकरुपले महिलाहरूलाई व्यवसाय गर्न कठिन छ । घरबाट छोराहरूलाई हुने जति सहयोग छाेरीहरूलाई हुँदैन ।’ उनी आफू पनि इन्जिनियर भएका कारणले आफ्नै केही व्यवसाय सुरुवात गर्ने क्रममा गाह्रो भएको बताउँछिन् ।

‘छोरालाई परिवारबाट लगानी गरिन्छ । तर, छोरीहरूमा लगानी गर्ने प्रचलन नै छैन,’ उनले थपिन्, ‘जसले गर्दा कुनैपनि महिलाहरूलाई सुरुवातमा गाह्रो नै हुन्छ ।’ यस्तो अवस्थामा नेपाली समाजमा अब छोरीहरूको व्यवसायमा पनि समाजले लगानी गर्ने प्रचलन बढ्नुपर्ने उनको भनाइ छ ।

कुनैपनि व्यवसायमा धैर्यता र लगन हुनु अत्यन्तै आवश्यक रहेको प्रभाको भनाइ छ । ‘व्यवसायमा केही गर्छु भन्ने सोच र निरन्तरता दिन सक्ने आँट चाहिन्छ । केही वर्षसम्म मिहिनेत र लगन जारी राख्यौँ भने व्यवसाय आफूले सोचेको ठाउँसम्म पुर्‍याउन सकिन्छ,’ उनले भनिन् ।