बैंकलाई व्यवसायीले अविश्वास गरेपछि बढेन कर्जा, के भन्छन् बैंकर ?

बैंकलाई व्यवसायीले अविश्वास गरेपछि बढेन कर्जा, के भन्छन् बैंकर ?


काठमाडौं – यतिबेला बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम झण्डै ६ खर्ब रुपैयाँ थुप्रिएको छ । लगानीयोग्य रकम बैंकमा नै थुप्रिँदा बैंकको नाफा नै प्रभावित बनिरहेको छ । जसकारण बैंकको टाउखो दुखाई भइरहेको छ । ब्याजदर घटेर ३० महिना यताकै न्यून बिन्दुमा आइसकेको छ । तरपनि लगानी नबढ्दा बैंकलाई समस्या भएको हो ।

कोरोना महामारीयता व्यवसायीहरु बैंकको ब्याजदर सस्तो हुनुपर्ने माग राख्दै आइरहेका थिए । उनीहरुको मागजस्तै यतिबेला ब्याजदर न्यून बिन्दुमा आइसकेको छ । तर कर्जा लगानी बढ्न नसक्दा बैंकको नाफा नै प्रभावित बनेको छ । गत आर्थिक वर्षमा समेत बैंकहरुको नाफा प्रभावित बनेको जानकारहरु बताउँछन् ।

बैंकहरुले कोरोना महामारीमा दिएको तनाबका कारण कर्जा प्रवाह बढ्न नसकेको व्यवसायीहरु बताउँछन् । सो समयमा बैंकले ऋणको सावा ब्याज भुक्तानी गर्न भन्दै निरन्तर दबाब दिएका थिए । यस्तै, कल अंकमा लिएको ब्याज बढेर १४ प्रतिशतसम्म पुगेको थियो । यस्तै राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जा मार्गदर्शनका कारण समेत व्यवसायी प्रताडित बनेका थिए ।

‘तत्कालीन समयमा बैकहरूले देखाएको दादागिरीको फल हो यो’ बैंकप्रति रुष्ट भएका एक व्यवसायीले बैंकिङ्ग समाचारसँग भने । हाल व्यवसायीहरु ऋण लिएर व्यवसाय गर्न पनि डर बैंकको ब्याजदर कुन समयमा बढ्ने हो त्यसको टुङ्गो नभएका कारण गाह्रो मानिरहेका छन् । उनीहरुका अनुसार बैंकले केही समयअघि झै ह्वात्तै ब्याजदर बढ्ने डरले साना तथा ठूला व्यवसायीले ऋण लिएर व्यवसाय गर्न चाहेका छैनन् । कतिपयले बैंकले व्यवसायीलाई गर्ने विश्वासको कमीले पनि कर्जा लगानीमा गिरावट आएको उल्लेख गरेका छन् ।

बैंक र व्यवसायीहरूबीचको विश्वासको कमीले ऋण प्रवाहलाई कम गर्ने एक वित्तीय चक्र सिर्जना हुने विज्ञहरुको बुझाई पाइन्छ । बैंकहरू बढी जोखिम-प्रतिरोधी हुने हुँदा पनि बढि व्यवसायको विश्वसनीयता प्रमाणित गर्ने गरेको पाइन्छ । जसले ऋण लगानीमा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ ।

बैंकप्रति बढेन व्यवसायीको विश्वास

बैंकहरू व्यवसायीमैत्री नहुँदा ऋण प्रवाहमा समस्या आउने गरेको विज्ञहरुको बुझाई छ । बैंकहरूले व्यवसायीहरूको आवश्यकता र जोखिमलाई राम्रोसँग बुझ्न नसक्दा ऋण दिन हिचकिचाउदा ऋण लगानी नगर्ने उनीहरुको भनाई छ । कतिपयले बैंकहरु व्यवसायमिैत्री नहुँदा व्यवसायीले गर्ने विस्वासमा कमी आएको उल्लेख गर्दै आएका छन् ।

यता, बैंकरहरु भने व्यवसायीहरूले आफ्नो वित्तीय स्थिति पारदर्शी ढंगले प्रस्तुत नगर्नाले बैंकहरूलाई ऋण दिन गाह्रो हुने गरेको बताउँछन् । उनीहरुकाअनुसार व्यवसायको बारेमा पर्याप्त जानकारी वा डाटा उपलब्ध नभएमा बैंकहरूलाई ऋणको जोखिम मूल्याङ्कन गर्न कठिनाइ हुन्छ जसका कारण पनि कर्जा लगानीमा बैंकहरुले हिचकिचाउने गरेका हुन् । त्यस्तै, कतिपयले बैंकहरूले व्यवसायीहरुसँग ऋणको शर्त र सम्झौतामा स्पष्टता नदिने गरेकोले पनि बैंकहरूले जोखिम कम गर्न ऋण उपलब्ध नगराउने गरेको उल्लेख गरे ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डे बैंकले व्यवसायीलाई गर्ने विस्वासमा कुनै कमी नआएको भन्दै व्यवसायिको कन्फिडेन्स नै कर्जा लगानीको प्रमुख कारण बनेको बताउँछन् । उनकाअनुसार बैंक र व्यवसायीबिच निकै राम्रो सम्बन्ध रहेको छ । ‘बैंकहरुले सदस्यहरुको कुराहरु सुन्न पर्छ सुनिरहेको छ । बैंक र व्यवसायीबिच पनि निकै राम्रो सम्बन्ध छ’ बैंकिङ्ग समाचारसँग उनले भने ।

पछिल्लो समय बैंकहरुले नै इन्भेष्टर खोज्दै हिड्नुपर्ने अवस्था आएको एक बैंकर बताउँछन् । उनकाअनुसार बैंक लगानी गर्न तयार हुँदा पनि पहिले बैंकमा कर्जाको लागि धेरै व्यवसायी आउने गरेता पनि हाल भने बैंकहरु आफै लगानीकर्ता खोज्दै हिड्नुपर्ने अवस्था रहेको छ । उनले हाल बजारमा नयाँ इन्भेष्टर नै नआएको उल्लेख गरे । ‘व्यवसायीहरुले बैंकको ब्याजदर ह्वातै बढ्ने हुँदा कर्जा लिन मानेनन् भन्ने त सुनियो तर हाल नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर लागू तोकेको छ अब त्यसरी एक्कासी बैंकको ब्याजदर बढ्दैन ।’

पूर्व बैंकर अनलराज भट्टराई समत कोरोना महामारीको समयमा केन्द्रीय बैंकको बैंक बचाउने नीति गतल भएको हुन सक्ने बताउँछन् । सो समयमा राष्ट्र बैंकले व्यवसायीभन्दा बढी बैंकलाई च्यापेका थिए । सोहीकारण बैंकहरुले व्यवसायीलाई बढी नै दुख दिएका थिए ।

कोरोना महामारीको समयमा बैंकको ब्याजदर एकल अंकमा आउनुपर्ने माग राख्दै सडक आन्दोलन नै भएको थियो । तर यतिबेला ब्याजदर एकल अंकमा मात्रै आएको छैन । बरु ३० महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । तर पनि कर्जा वृद्धि हुन सकेको छैन । ‘यसमा व्यवसायीले कोभिडको समयमा पाएको पीडाको प्रतिफल हुन सक्छ,’ भट्टराईले बैंकिङ्ग समाचारसँग भने ।