‘भारतसँग नेपालले फिन्टेकमा धेरै सिक्नुपर्छ, तर पछाडी छैन’

‘भारतसँग नेपालले फिन्टेकमा धेरै सिक्नुपर्छ, तर पछाडी छैन’


मुम्बई – विश्वका विभिन्न मुलुकले सूचना प्रविधिमा उल्लेख्य प्रगति गरिसकेका छन् । ती मुलुकको तुलनामा नेपालले ठूलो प्रगति गर्न नसकेपनि विस्तारै सूचना प्रविधि उद्योग अघि लम्किँदै छ । अझ पछिल्लो समय बैंकिङ्ग क्षेत्र र सूचना प्रविधिको अन्तरआबद्धता झनै बाक्लिँदो छ । यही विषयमा भारतले २८ अगस्टदेखि ३० अगस्टसम्म ३ दिने ‘ग्लोबल फिनटेक फेस्टिभल’ आयोजना गरेको थियो । सो फेस्टिभलमा नेपालबाट समेत विभिन्न कम्पनीका प्रतिनिधि सहभागी बनेका थिए । तीनैमध्ये स्मार्ट चोइस टेक्नोलोजीका अध्यक्ष रोविन कुमार नेपालसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको संपादित अंशः–

ग्लोबल फिनटेक फेस्टिभलमा सहभागी बन्न आइपुग्नु भएको छ । कस्तो रह्यो अनुभव ? छोटोमा बताइदिनुस् न ।

यो मेरो पहिलो अनुभव हो । यसअघि म यहाँ आएको थिइन् । यो स्तरको फेस्टिभल आयोजना गर्नु भनेको आँफैमा ठूलो कुरा हो । ८० हजार मान्छे आएका छन् । यत्रो ठूलो एरिया छ । ८० हजार मान्छेलाई एउटै हलमा राखेर कार्यक्रम गर्नु डेढ अर्ब जनसंख्या भएको मुलुकमा मात्रै सम्भव छ ।

अन्य मुलुकमा सम्भव छैन जस्तो लाग्छ । यसमा धेरै विषय बुझ्न पाइयो । भारतमा केन्द्रीय बैंकले गरेको सहयोग, फिनटेक क्षेत्र कता पुगेको छ लगायत विषय बुझ्न पाइयो । फिनटेकलाई इकोनोमीमा कहाँसम्म जोड्न सकिन्छ भनेर हेर्न समेत पाइयो ।

यो विषयमा विभिन्न देशका मान्छे र उनीहरुको विभिन्न सोचाई बुझ्ने अवसर मिल्यो । नेपालबाट जम्मा २ घन्टाको दुरीमा बसेका छौं । यसले विकासको चरणमा अघि बढिरहेको नेपाललाई धेरै सहयोग पुग्छ ।

भारतबाट नेपालले कस्ता विषय सिक्नुपर्ला जस्तो लाग्यो तपाईलाई ?

भारतबाट हामिले धेरै विषय सिक्नुपर्ने देखिएको छ । हामिले भारतबाट सिक्नुपर्ने विषय युरोप र अमेरिकामा पनि छैन । भारतमा स्केल र स्किलको राम्रो स्थिती छ । किनकी, भारतले माइक्रोपेमेन्टदेखि लार्जर पेमेन्टसम्म स्केलमा काम गरिरहेको छ ।

बैंकिङ्ग र फिनटेक आँफैमा अन्तरआबद्ध छ । किनकी, सर्वसाधारणले पैसा राख्नेठाउँ बैंक नै हो र कारोबार र माइक्रोकारोबार तथा क्रसबोर्डर पेमेन्टमा फिनटेक जोडिएको छ । यो बैंकबाट मात्रै सम्भव छैन ।

बैंकिङ्ग क्षेत्रलाई आजभन्दा १० वर्षअघिसँग तुलना गर्ने हो भने धेरै परिवर्तन भइसकेको छ । हामि कस्तो स्थितीबाट कता गइरहेका छौं भन्ने देखिन्छ र योक्रम जारी छ । भारतसँगको तुलनामा हामि धेरै पछाडी छैनौं । धेरै कुरा सिकिसकेका छौं ।

हामिले आफ्नै शहरमा बनेका प्रविधिलाई एडप्ट गरिरहेका छौं । त्यो सुरुमा स्ट्याण्डर्ड नहुन सक्छ । तर गुणस्तर विस्तारै बढाउँदै लैजान सकिन्छ । सुरुमा त सुरु नै हुनुपर्छ । भारतबाट नेपालमा लैजानुपर्ने विषय धेरै देखिएको छ ।