कोरोना महामारीबाट गुम्यो रोजगारी, त्यसपछि सुरु भयो आफ्नै पहिचान

कोरोना महामारीबाट गुम्यो रोजगारी, त्यसपछि सुरु भयो आफ्नै पहिचान


काठमाडौं – नेपाल बहु आयामिक सम्भावनाले भरिएको देश हो । नेपाल, सौन्दर्यले मात्र नभएर स्रोत साधनले पनि भरिपूर्ण छ । तर, यतीबेला नेपालको प्रमुख समस्या बनिरहेको छ, बेरोजगारी । देशमा काम सजिलै नपाइने, सानो लगानीमा केही गर्नपनि नसकिने, उद्यम गर्न वित्तीय सहयोग सजिलै नजुट्नु लगायतका गुनासा सबैजसो युवाबाट सुन्न पाइन्छ।

उद्यमको क्षेत्रमा केही महिलाहरूको सक्रियताले सामाजिक न्याय मात्र नभएर देशको आर्थिक पाटोमा सकारात्मक प्रभाव पारिरहेको छ ।

तर, विदेशिने युवाहरुको भिडमा विदेशिने विकल्प छाडेर स्वदेशमा नै बस्ने अठोटसहित अन्य विकल्पको खोजी गर्ने युवाको जमात पनि देख्न सकिन्छ । केही युवाहरू आफ्नै देशमा केही गर्ने अठोट लिन्छन् र आशाका किरण बनेर उदाइरहेका पनि देख्न सकिन्छ । जसले देशमा पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिन्छ । उद्यमको क्षेत्रमा केही महिलाहरूको सक्रियताले सामाजिक न्याय मात्र नभएर देशको आर्थिक पाटोमा सकारात्मक प्रभाव पारिरहेको छ ।

त्यसैमध्येकी एक हुन् विष्णु माया श्रेष्ठ । जो आफै केही गर्नुपर्छ भनेर आफ्नो बुटिक फेसनमा आबद्ध भएर टेलर (सिलाईबुनाई) खोलेकी छिन् । परिवार चलाउन र आफ्नै केही गर्नको लागि विदेश जानुपर्छ भन्ने युवाका लागि स्वदेशमा नै उन्नति/प्रगति गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् । उनलाई सानैबाट सिलाई बुनाईमा रुचि थियो । गाउँघरमा सिक्ने वातावरण नभएपछि उनको रुचि यतिकै हरायो र विवाहपछि काठमाडौं आइन ।

शहर छिरेपछि शिक्षण पेसामा आबद्ध भइन्, तर उनको मनमा सिलाई/बुनाईको हुटहुटी हट्न सकेन । उनी भन्छिन्, ‘शिक्षिका भएर काम गरिरहँदा पनि मलाई केही गर्नैपर्छ भन्ने जोशले भने छाडेन ।’ रोजगारी गर्दा अन्यले तोकेबमोजिमको समयमा चल्नुपर्ने भएपनि उनलाई सँधै तनाव भइरह्यो । सही समयको पखाइमा रहेकी उनलाई कोरोनापछिको बन्दाबन्दी अवसर बनेर आयो । कोरोनाकालमा धेरैले नचाहेरै रोजगारी छाड्नु परेको थियो । तर, उनलाई भने त्यही समय आफ्नो चाहना र योजना पुरा गर्ने मौका बन्यो ।

‘कोरोनापछि शिक्षिकाको जागिर छाड्नुपर्‍यो र यसैबीच आफ्नो सानो उमेरदेखिको रुचिलाई व्यवसायमा परिणत गर्ने समय आएजस्तो लाग्यो,’ थप्छिन्, ‘त्यसपछि सुरु भयो वीएनएम टेलर’। आफ्नो टेलरमार्फत उनी सबै किसिमको लुगा सिलाउने, बनाउने गर्छिन् । नेपालमा सम्भावना नदेखेर विदेसिनेको सङ्ख्या बढ्दै गर्दा उनलाई कहिले पनि विदेश जानुपर्छ भन्ने सोच नआएको बताउँछिन् । ‘नेपालमा नै धेरै सम्भावना छ त्यसैले विदेसिनुपर्छ भन्ने लाग्दैन,’ उनले भनिन्, ‘धेरै महिला दिदी बहिनीहरू तीस, चालिस हजारको लागि पनि खाडी गएका छन् ।’

चुनौतीभित्रका असीमित अवसरलाई चिनेर आफूले आफूलाई प्रेरित गर्न सक्दा सफलताले आफैँ पछ्याउँछ भन्ने उनलाई लाग्छ ।

‘मलाई म जस्तै सपना र रुचि भएको तर बाध्यताले अघि बढ्न नसकेका महिला दिदी बहिनीहरूलाई साथ दिन मन छ,’ उनी भन्छिन् । आफ्ना परिवारका सदस्यहरूबाट पनि सहयोग र प्रोत्साहन पाएका कारणपनि व्यवसाय विस्तारको गति बढेको उनको बुझाइ छ । नेपालमा आफूले देखेको सम्भावनासँगै जोडिएका धेरै चुनौती पनि छन् । उनी भन्छिन्, ‘आफ्नो के योजना हो, आफूले के गर्न खोजेको हो बुझेर अघि बढियो भने सबै सम्भव छ ।’ चुनौतीभित्रका असीमित अवसरलाई चिनेर आफूले आफूलाई प्रेरित गर्न सक्दा सफलताले आफैँ पछ्याउँछ भन्ने उनलाई लाग्छ ।

विशेषगरी आफू शिक्षिका भएका कारणले पनि समाजलाई सही दिशामा डोराउनुपर्ने जिम्मेवारी उनको काँधमा छ। पेसा छाडे पनि महिलाहरूलाई आत्मनिर्भर बनाएर समाजलाई अघि लैजाने इच्छा उनमा छ । ‘मलाई म जस्तै सपना र रुचि भएको तर बाध्यताले अघि बढ्न नसकेका महिला दिदी बहिनीहरूलाई साथ दिन मन छ,’ उनी भन्छिन् ।