काठमाडौं – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङचेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर),निदा दुन मल्ल (मेम्बरसिपचेयर), पुनित अग्रवाल (फाइनान्सचेयर),अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एन्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअपचेयर) निर्वाचित भएका हुन् । सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल थिए ।
नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष अग्रवालले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिए ।
मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।स्टार्ट–अप र युवा उद्यमीहरूलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरूलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए ।
व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आबद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ।
प्रतिक्रिया