सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा ८३.९५ प्रतिशतले बढ्यो

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा ८३.९५ प्रतिशतले बढ्यो



काठमाडौँ – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको नाफा ८३.९५ प्रतिशतले बढेको छ । ८३.९५ प्रतिशतले बढेर ६० करोड ८९ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड १० लाख २३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले एक वर्षमा आफ्नो बीमितहरुलाई २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन समेत ४३.८३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २४ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवको सोहि अवधिका ४ अर्ब ६७ करोड २३ लाख रुपैयाँ पुराएको हो ।

कम्पनीको जीवन बीमा कोषको आकार ६.६८ प्रतिशतले घटेर ६ अर्ब ९० करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आकार ७ अर्ब ३९ करोड माथि रहेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १७.५१ रुपैयाँबाट बढेर २३.२२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ ।