नोटमा हानी, नोक्सानी पुर्याय जेल सजाय हुनसक्छ, कसरी गर्ने जतन ?

नोटमा हानी, नोक्सानी पुर्याय जेल सजाय हुनसक्छ, कसरी गर्ने जतन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

तपाईसँग भएको रकम (नोट) तपाईकै सम्पत्ति हो । आफूसँग भएको नोटको सुरक्षा गर्ने जिम्वारी समेत आफ्नै हुन्छ । यदि तपाईले मेरै सम्पत्ति त हो नि भनेर नोटको जतन गर्नु भएन भने तपाईलाई आर्थिक नोक्सानी त हुन्छ नै कानूनी सजायको समेत भागेदार बन्नुपर्ने हुनसक्छ ।

नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय समयमा अनुरोध गर्दै आएको छ । अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ ।

तीन वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी नोक्सानी पुर्‍याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि नोटको सुरक्षाका लागि भन्दै सफा नोट नीति नै बनाएर लागू गरेको छ ।

आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना, मैला नोटहरू फिर्ता लिएर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । जस अन्तर्गत बंैक तथा वित्तीय संस्थाहरूको माध्यमबाट सुकिला भुक्तानी योग्य नेपाली नोटहरू मात्र ग्राहकहरूलाई भुक्तानी गर्ने र पुराना मैला नोटहरू नेपाल राष्ट्र बैंकमा दाखिला गर्न पठाउने कार्य पर्दछन् ।

 कसरी गर्ने नोटको जतन ?

आफूसँग भएको नोटको जतन तपाई आफैले गर्नुपर्ने हुन्छ । आर्थिक नोक्सानीसँगै नोटमा क्षति पुर्याए कानूनी कारबाही समेत हुनसक्ने भएकाले आफूसँग भएको नोटलाई सुरक्षित राख्नु पर्छ । नेपालीहरुको प्रमुख ठूलो चाड दशैंमा नोट धेरै विग्रने गरेको राष्ट्र बैंकको निष्कर्श छ ।

नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाउन राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । दशैंमा रंग तथा अविर नदल्ने, पुजा पाठहरुमा पनि पानी तथा टिका नलगाउने लगायतका सावधानी अपनाएर नोटको सुरक्षा गर्न सकिन्छ । यस्ता निम्न  कुराहरुमा ख्याल गरेर नोटको सुरक्षा गर्न सकिन्छ ।

१. नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ ।

२. नोटमा केरमेट नगरौँ ।

३. समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।

४. नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाऔँ ।

५. नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्य नगरौं ।

६. नोटको हिफाजत गर्ने कुरा आफै पनि मनन् गरौं र अरुलाई पनि सिकाऔँ ।

७. नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौँ ।

८. पूजा गर्दा अथवा कुनै काम गर्दा रङ लागेको तथा मैलिएका हातहरूले सकेसम्म नोट नछोऔँ ।

९. टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्य नगरौँ ।

१०. कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ ।

११. नोटलाई मठ मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रङ, अबिर, पानी, दूध, रगत आदि नपारौँ । बरू दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ ।