बीमाप्रति आम सर्वसाधारणको बुझाइ : ‘बीमा जोखिम व्यवस्थापन हो बचत होइन’

बीमाप्रति आम सर्वसाधारणको बुझाइ : ‘बीमा जोखिम व्यवस्थापन हो बचत होइन’

नमुना के. सी.
784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – बीमाको इतिहासलाई हेर्ने हो भने वि. स २००४ मा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना गरिएको थियो। हाल उक्त कम्पनी नेपाल इन्स्योरेन्सको नाममा सञ्चालित छ। त्यति बेला नेपालमा निर्जीवन बीमाको कार्य केही मात्रामा हुने गर्दथ्यो। त्यसपछि जीवन बीमा व्यवसाय विंस २०२९ देखि सुरु भएको हो। विंस २०२५ मा स्थापना भएको बीमा संस्थानले विंस २०२९ देखि जीवन बीमा व्यवसाय सुरु गरेको थियो। 

हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनी , १४ वटै निर्जीवन बीमा कम्पनी , ७ वटा माइक्रो इन्स्योरेन्स कम्पनी र २ वटा रिइन्स्योरेन्स कम्पनी गरी जम्मा ३८ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्। नेपालमा बीमा के हो ?  यसबाट हुने तत्कालीन तथा दीर्घकालीन फाइदा सम्बन्धी विश्वसनीय जानकारीको अभाव तथा कमजोर आर्थिक अवस्थाका कारण धेरैले बीमालाई प्राथमिकतामा नराखेको देखिन्छ ।

यसै विषयमा आधारित भएर हामीले सर्वसारधणकाे धारणा लिएका छाैँ ।

सर्वसाधारण गगां अधिकारी भन्छिन्, ‘बीमाको बारेमा खासै ज्ञान त छैन, किताबमा पनि धेरै पढिएन तर पनि बीमा आवश्यक छ भन्ने बुझिएको छ । हाम्रो अफिसबाट नै बीमा गराइदिएको छ। बीमाप्रति आम नागरिकको ध्यानाकर्षण कम हुनुमा उनी भन्छिन् ‘बीमाप्रति सचेतना नै कम छ। बीमा कम्पनीहरू वा नियामकले नै बीमा गर्न आकर्षण गराउन असमर्थ भएको जस्तो देखिन्छ।’ कोरोना पश्चात् अलिकति बीमा गर्नुपर्ने रहेछ भन्ने कुरामा सचेत भएको देखिएकाे उनले बताइन्। ‘बीमा गर्दा बीमकले पनि बीमालेखमा के–के छ भनेर पढेर बुझेर मात्र लिनुपर्छ यसो गर्दा पछि गएर बीमाको दावी नपाइने भन्ने हुँदैन र बीमा सरेण्डर पनि घट्छ।’ उनले भनिन्। उनको विचारमा बीमा लगानी मात्र हाेइन जोखिम व्यवस्थापन पनि हो।

यस्तै, अर्की सर्वसाधरण स्मृति पाैडेलकाे विचारमा बीमा बचत हाेइन जाेखिम हस्तान्तरण हाे । उनकाअनुसार परिवारले पनि केही भएको खण्डमा सेवा सुविधा पाउने भएको कारण बीमा जोखिम कम गर्ने उपकरण हो। ’बीमा सबैभन्दा बढि स्वास्थ्य क्षेत्रमा आवश्यक रहेको छ।’ स्मृति थप्छिन्,‘ बीमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा नै आवश्यक छ किनभने सबै औषधी र टेस्ट एकदमै महगोँ छन्।’ स्वास्थ्य बीमाको रकम पनि दिइएन भन्ने हल्लाले पनि बीमाप्रति विश्वास घटेको उनले बताइन् । साथै, बीमा हरेक व्यक्तिले गर्न आवश्यक रहेको उनको धारणा छ र हरेक कम्पनीले आफ्नो कर्मचारीहरूको पनि बीमा गराइदिनुपर्ने उनले धारणा राखिन् ।

सर्वसाधारण निलकण्ठ गौतम भन्छन्,‘ मैले बीमा गरेको छु र बीमा गर्न आवश्यक पनि छ। राज्यले पनि बीमा गर्न आवश्यक मानेर स्वास्थ्य बीमाको अवधारणा सुरुवात गरेको छ। यो व्यवस्थालाई प्रभावकारी बनाउन सकियो भने सबै नागरिकको स्वास्थ्य सुरक्षित हुन्छ।’ ‘बीमाको सेवा दिनको लागि धेरै बीमा कम्पनीहरू खुलेका छन् तर मैले सुनेअनुसार बीमा कम्पनीहरूले राम्रो सेवा दिन सकेका छैनन् , सुधार गर्न आवश्यक छ’ उनले थपे। एउटा पोलिसी भनेर बेच्ने र दाबी पर्दा नदिने प्रचलनले बीमाप्रति विश्वास नभएको जस्तो देखिन्छ।’ उनी आफ्नाे अनुभव सुनाउँदै भन्छन् ,‘बीमा कम्पनीमा म आफैँ दाबीको लागि जादाँ पनि विभिन्न समस्या देखाउने विभिन्न बहाना बनाइएको थियो।’ नेपालमा बीमा कम्पनीहरूले सुरुवातमा बीमा गराउँदा हाँसी खुसी गराउने र दाबी भुक्तानी दिने बेला विभिन्न बहाना बनाउने प्रचलन रहेको गौतमको भनाइ छ।

विद्यार्थी सुस्मा चौधरी भन्छिन् ‘हामीलाई बीमाको विषयमा धेरै ज्ञान छैन। पाठ्यक्रममा पनि धेरै विषय समावेश गरिएको छैन। बीमा गर्नुपर्छ भन्ने थाहा छ तर बीमा गर्न हामीसगँ पैसा छैन।’