काठमाडौं – बीमा प्राधिकरणले बीमा गराउन र नागरिकको अनेकौँ जोखिम बहन गर्न बीमा कम्पनीहरू खडा गरिरहेको अवस्थामा समयअनुसार विभिन्न समस्याहरू पनि आइरहेका हुन्छन्। हाल बाढी पहिरा लगायत विभिन्न प्राकृतिक विपत्तिबाट धेरै नागरिकहरू पीडित भइरहेका छन्। समय– समयमा बीमा दाबी नपाइने गुनासो पनि सुनिन्छ। बीमा हुनेहरूको पनि समयमा दाबी रकम फिर्ता नहुनु र कतिपय बीमा पहुँचमा संलग्न नभएक लगायतका समस्या पनि देखिरहेका हुन्छन्।
यसैबीच प्राधिकरणले वर्षेनी ठूलो जनधनको क्षति भइरहेको बेलामा पुलको गठन गर्ने तयारी गरेको हो। यस वर्ष नेपाल बीमा प्राधिकरणले वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई बीमाको माध्यमबाट आर्थिक सहायता दिन बीमा पुल गठन गर्ने भएकाे हाे।
जलवायु परिवर्तनबाट हुने क्षतिको लागि प्राधिकरणको योजना कस्तो छ ? वर्तमान अवस्थामा बीमाको अवस्था कस्तो छ ? लगायतका विषयमा आधारित भइ नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीसँग बैकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अशं :
वर्षायाममा हुने क्षति न्यूनीकरणलाई रोक्न बीमा प्राधिकरणको योजना कस्तो छ ?
नेपाल बीमा प्राधिकरण वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई सचेत गराउने प्रयासमा छ । यसका लागि निर्देशिका तयार हुँदैछ। असार महिनामा बीमा कम्पनीहरूले कतिको जोखिम लिन्छन? लिनुपर्ने कति छ ? नागरिकहरूको सहभागिता कस्तो छ ? भन्ने विविध पक्षहरूलाई आधार बनाएर नयाँ निर्देशन दिने तयारी भइरहेको छ। बीमा प्राधिकरणको एउटा मात्रै उद्देश्य स्वस्थ बीमा बजार बिस्तार गर्नु हो। बीमाको पहुँचमा संलग्न भएका बिमितलाई त हामीले क्षति न्यूनिकरणमा सहज गरेको छौँ। तर बीमाको प्रिमियम बुझाउन नसक्ने र बीमाको पहुँचमा नपुगेका नागरिकहरू नै प्राकृतिक विपत्तिबाट पीडित भएको देखिन्छ। यसमा प्राधिकरणले पनि केही विद्यमान समस्याहरूको बारेमा स्वीकार गर्दै आगामी दिनमा त्यस्तो समस्या समाधान गर्न सबै मिलेर हातेमालो गर्दै अघि बढ्नुपर्छ।
प्राधिकरणको यथावत् प्रयत्न पश्चात् पनि सरकारले सरकारी सम्पत्तिको बीमा गरेको छैन ,प्राधिकरणले यस पक्षलाई कसरी लिएको छ ?
हामीले सरकारलाई बुझाउन प्रयास गर्ने हो र प्रयास गरिपनि रहेका छौँ । स्थानीय तह, प्रदेश तहकोस्तरबाट बीमामा सहभागिता बढाइरहेका छन्। सरकारले सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ भन्ने विषयलाई गहन रुपले हेर्नु पर्छ। बीमा प्राधिकरणले सरकारलाई बीमा बुझाउने अथक प्रयत्न गरिरहेको छ। हाम्रो मुख्य उद्देश्य नै सरकारलाई बुझाउनु हो र हामी सरकारलाई बीमा बुझाउने क्रमलाई निरन्तरता दिने जोडमा छौँ सरकारले पनि हाम्रो प्रयासलाई छिटै मूल्याङ्कन गर्छ भन्ने हाम्रो आशा छ ।
बीमा कम्पनीले शाखाबाटै दाबी भुक्तानी दिनुपर्ने नियम निकालिएको छ यसले बीमा क्षेत्रमा लागेको आरोपलाई कम गर्न सहयोग पुग्छ ?
बीमा कम्पनीले शाखाबाटै दाबी भुक्तानी दिनुपर्ने व्यवस्थाले बिमकहरुलाई सहज होस् भन्ने धारणाले हो । यसोगर्दा बीमाको दाबी प्रक्रियामा बीमा कम्पनीलाई पनि सहज हुने गर्छ। स्थानीय तहमा नै बीमा दाबी भुक्तानी दिने व्यवस्थाले बीमा क्षेत्रमा दाबी भुक्तानी प्रक्रियालाई सहजीकरण गर्न सक्छ । यस्तो व्यवस्था सानो शाखाहरूले भन्दापनि प्रदेश कार्यालय वा ठूला कार्यालयले दाबी भुक्तानी दिनुपर्ने व्यवस्था रहेको छ।
सम्पत्ति शुद्धीकरणमा बीमा प्राधिकरण सहित १४ वटा निकायले अनुसन्धान गर्न पाउने भएको छ, प्राधिकरणले कसरी काम गर्ने योजना बनाएको छ ?
हामी अहिले आइएफएफसँग मिलेर काम गरिरहेका छौँ। हाम्रो कानूनले पनि आइएफएफसँग मिलेर काम गर्न निर्देशन दिन्छ। यस्तै, सम्पत्ति शुद्धीकरण सँग सम्बन्धित अन्य निकाय सँग पनि हामी समन्वय गरेर अघि बढेका छौँ।
जनशक्तिको अभाव खड्किएको समेत प्रतिवेदनमा उल्लेख छ, प्राधिकरणमा दक्ष जनशक्तिको अभाव भएको हो ?
प्राधिकरणमा दक्ष जनशक्तिको अभाव भएको होइन । त्यस्ता अनैतिक कार्यहरू कतै सुनिएको हो तर प्राधिकरणले छिटो प्रतिक्रिया दिइसकेको हुन्छ। हाम्रो नियमले हाम्रो कानूनले सम्बोधन गर्न सक्ने सम्म हामी गरिरहेका हुन्छौँ। हामीले सम्बोधन गर्न नसक्ने कार्यहरू सम्बन्धित निकायमा लेखेर पठाउने काम गर्छौ। यसरी नै हामीले यस्तो प्रक्रियालाई अघि बढाइरहेका हुन्छौँ।
अहिले बीमाको अवस्था कस्तो छ ?
बीमाको वर्तमान अवस्था उज्यालो छ। बीमाको दायरा बढिरहेको छ। सबैको ध्यानाकर्षण पनि बढिरहेको छ। पछिल्लो समय बीमा गर्नुपर्छ भन्ने कुरामा सबै सचेत हुनु भएको छ। यसको प्रतिफल पनि राम्रो छ। बीमा क्षेत्रमा अझै राम्रो प्रतिफल निकाल्नको लागि बीमा प्राधिकरण, बीमा कम्पनीहरू र ग्राहकहरू पनि सजक भएका छन् ।
ग्राहकहरूले बीमा गर्दा विशेष के कुरामा ध्यान दिनुपर्छ ?
पछिल्लो समयमा बीमाको पहुँच पनि बढ्दै छ। डिजिटल प्रविधिमा पनि गैरहेको छ। बीमा गर्दा बोनस हेर्नेभन्दा पनि बीमा पोलिसी राम्रोसँग पढ्नुपर्छ। धेरै ग्राहकले नपढी बीमा गर्नुहुन्छ र पछि गुनासो गन्नहुन्छ । बीमा गर्दा, बीमाको विषयमा राम्रोसँग पढेर मात्र बीमा गर्नुपर्छ। बीमालेख लिँदा सबै बुझियो भने कहिले पनि दुःख पाइँदैन ।
प्रतिक्रिया