बैंकिङ्ग डिस्कोर्स २०२४ : नबिल बैंकका डिसीईओ ज्ञवाली वक्ताको रुपमा सहभागी हुने

बैंकिङ्ग डिस्कोर्स २०२४ : नबिल बैंकका डिसीईओ ज्ञवाली वक्ताको रुपमा सहभागी हुने


काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली सहभागि हुने भएका छन्। छलफलको दोस्रो सत्रको ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव र वर्तमान स्थिती’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा ज्ञवाली सहभागी हुने भएका हुन् ।

ज्ञवाली वि.सं. २०३४ सालमा दैलेखमा जन्मिएका हुन् भने उनले ५ वर्ष नेपाल राष्ट्र बैंकमा सहायकको रुपमा सेवा गरिसकेका छन् । नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग क्षेत्र प्रवेश गरेका उनले ग्लोबल आईएमई बैंकको सीएफओ, सीओओ, बीएम र शीर्षस्तरको व्यवस्थापन समिति सदस्य समेत रहेर कार्य गरिसकेका छन्। साथै, उनले ग्लोबल आईएमई क्यापिटलमा सञ्चालक र प्रबन्ध निर्देशकको रूपमा ४ वर्ष बिताएका छन् भने ज्ञवालीले ज्योति विकास बैंकमा डिसीईओ र सीईओको रुपमा पनि सेवा गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक हुँदै बैंकिङ्ग क्षेत्रमा काम गरेका ज्ञवाली हाल नबिल बैंकका सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । उनी ज्योति विकास बैंकमा कार्यरत रहँदा विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनका महासचिव पनि रहेर कार्य गरेका थिए । चाटर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवाली एक समय चाटर्ड एकाउन्टेन्स संघका कोषाध्यक्ष पनि रहेका थिए ।

ज्ञवाली फोकस नेपालद्वारा राष्ट्रिय सेवा सम्मान २०७४, नागरिक समाज नेपालद्वारा आर्थिक विकास सेवा सम्मान २०७५, लुम्बिनी कलेजबाट विद्यार्थी अभिमुखीकरण मान्यता पुरस्कार–२०७८ र उत्कृष्ट बैंकिङ्ग नेतृत्व पुरस्कार २०२४ बाट सम्मानित भएका छन्। उनले हालसम्म भारत, चीन, मकाउ, थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, जर्मनी लगायतका देशहरु भ्रमण गरिसकेका छन् ।

बैंकिङ्ग समाचार डटकमको आयोजना, ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ आयोजना हुने भएको हो । कार्यक्रमकाे उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा गरिनेछ। साथै कार्यक्रमको विशेष सत्रमा छलपलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिती रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधी क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका ब्यक्तीत्वहरुको उपस्थिीति रहने छ।

मुख्यरुपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ । दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।