काठमाडौं–पछिल्लो समय नेपालमा बीमा आवश्यकतासँगै अनिवार्य भइसकेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा जोखिमको व्यवस्थापन वा लगानी भन्दा पनि बीमा सेवा भएको बताएका छन् । बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले हरेक प्रकारका जोखिम सुरक्षण गर्ने, भविष्यको लागि सचेतना गरी त्यसको सुरक्षण गर्ने भएकाले बीमा सेवा रहेको बताएका हुन् ।
बीमा हाम्रो जीवनमा आवश्यक छ भन्ने विषयलाई उनले थप स्पष्ट पारे । ‘लगानी गरेर प्रतिफलको आश गर्न विभिन्न क्षेत्रहरू छन् तर पहिलो भनेको व्यक्ति आफै सुरक्षित रहनु हो र यसको लागि बीमा चाहिन्छ’ । उनले भने, ‘एउटा व्यक्तिले आर्जन गरेको सम्पत्तिदेखि आफ्नै जीवनको समेत सुरक्षा बीमाले गर्ने भएकोले बीमा आवश्यक छ ।’
पछिल्लो समयमा बीमा क्षेत्रमा पहुँच उकालो लाग्नुको सट्टा ओरालो लागिरहँदा यो मुलुककै विडम्बना रहेको बताउँदै उनले भने, ‘बीमाको पहुँच नबढ्नुको प्रमुख कारण आर्थिक कारोबारमा कमी आउनु हो । विगतको दिनमा भन्दा बीमा क्षेत्रमा सुधार पनि भएको छ र प्राधिकरणबाट बीमाको पहुँच बढाउन र बीमा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन पहल पनि हामीले गरिरहेको छौं’ ।
साथै प्राधिकरणबाट बीमा क्षेत्रमा लागिरहेको आरोप र गलत बुझाईलाई निराकरण गर्न पनि पहल भैरहेकोे उनले बताए । ‘बीमा कम्पनीहरूलाई अनुशासन अवलम्बन गर्ने र गराउनेतर्फ प्राधिकरण लागिरहेको छ’ अध्यक्ष सिलवाल भन्छन्, ‘बीमाको महत्व धेरै छ । आजको दिनमा यो आवश्यकता मात्रै नभई बाध्यता नै हो भन्दा फरक नपर्ला । बीमा सबैलाई आवश्यक छ तर विशेषगरी न्युन आय भएका वर्गहरुलाई त झन् आवश्यक छ’ ।
बीमा कम्पनीहरूको यस्तो छ धारणा
बीमाको नियमलाई मध्यनजर गर्दा बीमा भनेको जोखिम व्यवस्थापन रहेको नेपाल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली बताउँछन् । उनी भन्छन्, ‘प्राथमिकताका आधारमा नेपाल तथा साउथ एशियाकै अभ्यासको कुरा गर्दा बीमा जोखिम कै व्यवस्थापन हो’ तर हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा जोखिमको व्यवस्थापन सँगै लगानी पनि हो भन्न सकिन्छ’। कुल पोर्टफोलियोलाई हेर्दा ९५ प्रतिशत भन्दा माथि बचत गर्ने पक्ष रहेको र त्यसैले बीमालाई पनि जोखिमको व्यवस्थापन मात्र भन्न नमिल्ने उनको भनाइ छ ।
त्यस्तै, बीमाको कुरा गर्नु अघि अन्य वित्तीय उपकरणको पनि कुरा बुझ्न आवश्यक रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकोे नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) निराजन कडेलको भनाइ छ । उनी भन्छन्,‘ग्राहकले बीमालाई पनि लगानीको रुपमा हेरिरहेका हुन्छन्। । तर बीमा क्षेत्रलाई नेतृत्व गरिरहेका पक्षहरूले बीमालाई पूर्णरूपमा लगानीको रुपमा हेर्न मिल्दैन’ तर ग्राहकको नजरले हेर्ने हो भने यो लगानी नै हो’। कुनै समय हाम्रो समाजमा बच्चाहरूमा पैसाको जिज्ञासा आयो भने गलत मानिने भएकाले बताउँदै उनले अहिलेको समाजमा पैसा सम्बन्धी हरेक उमेर समूहमा सचेतना हुन आवश्यक रहेको बताए ।
बीमाको पँहुच बढाउने चक्करमा भ्रम फैल्याउने प्रचलन
बीमाको विषयमा कुराकानी हुदैँ गर्दा अभिकर्ताको कुराकानी नहुने भन्ने हुदैन । बीमाको पहुँच वृद्धि गराउन अभिकर्ताको प्रमुख भुमिका हुने गर्छ । यस्तै, बीमाको पोलिसी बेच्ने क्रममा ग्राहकलाई बीमा लगानी हो राम्रो प्रतिफल आउँछ नभनेसम्म बीमामा आकर्षित नहुने विगत ५ वर्षबाट बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी सफलता भण्डारीको भनाई छ । उनी बीमा क्षेत्रमा लगातार लामो समयबाट बीमा पोलिसी बेच्दै आइरहेकी छिन् । बीमा क्षेत्रमा आवद्ध गराउन सुरुमा गाह्रो हुने बताँउदै उनी भन्छिन्, ‘बीमामा जोडिरहँदा ग्राहकलाई बीमा बुझाउन सुरुमा गाह्रो हुन्छ । तर यसमा लगानी गर्नुस् पैसा सुरक्षित हुन्छ या पैसा समयमा बढेर फिर्ता हुन्छ भन्दा मात्र सबैले चासो देखाउनुहन्छ’ । यसो गर्दा ग्राहकहरु बीमामा आवद्ध हुदै पनि जाने र बीमाको महत्व बुझदै जाने गरेको उनको बुझाइ छ ।
बीमाको विषयमा सर्वसाधारणको बुझाइ
काँडाघारीको मूलपानी बस्ने सविना भण्डारी जीवन बीमा गरेको ७ वर्ष भयो र उनले १५ वर्षको जीवन बीमा गरेकी छिन् । भण्डारीले उनको मात्र नभएर परिवारको पनि बीमा गरेकी छिन् । बीमा गरेर आफूलाई अप्ठ्यारो परेको समयमा सहयोग हुने गरेको उनी बताउँछिन् । सुरुमा बीमा गर्दा कुनै पनि आवश्यक नभएको जस्तो लाग्ने गरेको उनी बताउँछिन् । बीमा गरेर भविष्य सुरक्षित भएको र एक तर्फबाट हेर्दा पैसाको बचत र जोखिममा रक्षावरणको भूमिका खेलिरहेको उनको धारणा छ ।
प्रतिक्रिया