काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् ।बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए ।
उनले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए । उनले कृषि क्षेत्रको जनसङ्ख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५/४० प्रतिशतसम्म पुर्याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्याउनसके मात्रै देश विकास सम्भव हुने बताए ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा गइ त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘हाम्रो अहिलेको कृषिप्रधान अर्थतन्त्र छ । ६० प्रतिशत जनसङ्ख्या अहिले पनि कृषिमा आश्रित छ । यसलाई यही रूपमा राखेर देश कहिल्यै विकास हुँदैन। कृषि, उद्योग र सेवाका जुन तीन वटा क्षेत्रहरु छन् । त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिनुपर्छ।
कृषि क्षेत्रको जनसङ्ख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५र४० प्रतिशतसम्म पुर्याउने र सेवा क्षेत्रलाई ५०र५५ प्रतिशतमा पुर्याउने भयो भने देश विकास हुने हो । त्यसको निम्ति स्थिर राजनीति र ठोस आर्थिक नीति चाहिन्छ । स्थिर आर्थिक नीति चाहियो । त्यसैले मेरो सुरुदेखिको प्रस्ताव के हो भने हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाऔँ ।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया