साढे छ दशक लामो इतिहास भएको नेपाल वायुसेवा निगमको वर्तमान अवस्थाको कुरा गर्दा आन्तरिक उडानतर्फ निजी क्षेत्रले नै धानेको छ । नेपालमा जुन संख्यामा विमानस्थल बढेका छन् । नाफामूलक भन्दा बढी सेवामूलक भनिएको सरकारी स्वामित्वको वायुसेवा निगममा जहाजको संख्या घटिरहेको छ । नयाँ बनाइएका विमानस्थलमा जहाज अभावका कारण उडान हुन नसकिरहेको अवस्था पनि छ । राष्ट्रको शानको रुपमा चित्रित गरिएको ध्वजा वाहकलाई माथि उठाउन र दूर-दराजमा बनेका विमानस्थल नियमित चलाउने विषयमा छलफल हुनै पर्छ । समग्र हवाई क्षेत्रको विकासका लागि विद्यामान हवाई नीति समयानुकुल परिर्वतन गर्न आवश्यक छ कि छैन ? यसका अलवा समग्र हवाई क्षेत्रको विकासका लागि के गर्न सकिन्छ ? यसै सेरोफेरोमा आधारित रहेर सुरेन्द्र कट्टेलले बैंकिङ्ग समाचारको कार्यक्रम ‘एभीएसन टक’ मा नेपाल वायुसेवा निगमका उप–निर्देशक चार्टड एकाउण्टेन्ट दीपेन्द्र सुवेदीसँग गरेको कुराकानीमा आधारित रहेर तयार पारिएको सम्पादित अंश:
नेपाल वायुसेवाको वर्तमान अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ ?
समग्र हवाई उद्योग राम्रो प्रतिफल दिएर अगाडि बढिरहेको छ । त्यसमा नेपाल एयरलाइन्सको भूमिका महत्वपूर्ण रहेको छ । हवाई क्षेत्रबाट कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ५ प्रतिशत योगदान रहेकोमा एक प्रतिशत योगदान नेपाल वायुसेवा निगम कै छ । कोभिड पछि निगमको आर्थिक अवस्थामा राम्रो सुधार आएको छ । गत वर्षको कुरा गर्ने हो भने नेपाल वायुसेवा निगमको कुल आम्दानी २४ अर्ब बराबर रहेको छ ।
भौगोलिक आवश्यकतासँग मात्र नभएर देशको आर्थिक उन्नतीसँग हवाई उद्योगलाई कसरी जोड्न सकिन्छ ?
हरेक उद्योगको चलायमान शक्ति भने कै आर्थिक स्रोत हो । नेपाल प्राकृतिक रुपमा सम्पन छ । यहाँको प्राकृतिक सौन्दर्यताले विश्वलाई लोभ्याएको छ । पर्यटन क्षेत्र र हवाई क्षेत्र एक अर्कासँग जोडिएका छन् । पर्यटन क्षेत्रलाई चलायमान बनाउन यातायातको साधान हवाई जहान नै भएकाले हवाई उद्योगको विस्तारसँगै देशको अर्थतन्त्रमा टेवा पुग्छ । त्यसैले हवाई क्षेत्रले अर्थतन्त्रकै स्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
आन्तरिकतर्फ निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले हवाई उद्योग धानेको अवस्थामा वायुसेवा निगमका जहाज भने घटिरहेका छन् । निगमको अवस्था सुधार गर्दै सेवा विस्तार कसरी गर्न सकिन्छ ?
सर्वप्रथम नेपाल एयरलाइन्स नाफा मात्र नहेरी सेवालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने सेवा प्रदायक हो । कानुनी रुपमा काम गर्न निजी क्षेत्रलाई जति सजिलो छ त्यती सजिलो सरकारी भएकाले निगमलाई छैन । सेवा विस्तारकै लागि जहाज थप्न पनि धेरै प्रक्रियाहरु रहेकाले ऐन कानुन र प्रक्रिया अलिक धेरै झन्झटिलो भएकाले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सकिएको छैन ।
समग्र हवाई क्षेत्रको विकासका लागि विद्यामान हवाई नीति समयानुकुल परिर्वतन गर्न आवश्यक देख्नुहुन्छ ?
वर्तमान हवाई नीतिमा समयानुकुल परिर्वतन गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय नियामक निकायको कानुनलाई पनि ध्यान दिएर नीतिगत तथा कानुनी परिमार्जन गर्दा समग्र हवाई क्षेत्र नै समृद्धीको बाटोमा जान्छ ।
५२ वटा विमानस्थल मध्ये २२ वटा राम्रोसँग चलेका होलान् । वायुसेवा निगमसँग पर्याप्त जहाज भएको भए धेरै विमानस्थल चल्न सक्थे होला नि ?
एयरलाइन्स कम्पनी भएकाले जहान धेरै हुँदा सेवा विस्तारमा सहयोग पुग्छ । नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा पनि सेवा दिएको छ । यसको विकल्प भनेको जहाज नै थप्नुपर्छ । स्रोत साधन सम्पन्न भएको खण्डमा सेवा विस्तारमा समस्या छैन । हामीले जहाज थपेर पनि उडाउन सकेनौं भने बल्ल प्रश्न गर्ने हो ।
एउटा जहाज इजरायलमा मर्मत गर्न भनेर लगिएको धेरै भैसक्यो अहिले सम्म किन नल्याइएको ?
यसमा अनावश्यक सङ्का गरिरहनु पर्ने ठाउँ छैन । प्राविधिक कुरा भएकाले ढिला भएको हो । सेफ्टीको कुरालाई ध्यानमा राख्नै पर्यो, त्यसमा पनि इजरायल वार जोन (युद्ध क्षेत्र) पनि हो । यस्तै कारणले ढिला भएको हो । सम्भवत: चाँडै जहाज आउँछ होला ।
नेपाललाई युरोपेली संघ (ईयू) ले किन अहिलेसम्म कालोसूचीबाट नहटाएको होला ?
नेपाल वायुसेवा निगमको कारणले मात्रै युरोपेली संघ ईयूले कालोसूचीबाट नहटाएको होइन । समग्रमा हवाई उद्योग कै कमी कमजोरी तथा नियामक निकायकै पनि सुधार गर्नुपर्ने ठाउँ देखेरै होला कालोसूचीबाट नहटाएको । यसमा सरकारको तर्फबाट कुटनीतिक पहल गरेर निकास निकाल्न पनि सकिन्छ । चाँडो कालोसूचीबाट हटेको खण्डमा नेपाल वायुसेवा निगम र समग्र हवाई उद्योगलाई नै रामो हुन्छ ।
नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्न कतिको आवश्यक छ ?
पुनर्संरचना गरेर मात्रै सबै परिर्वतन हुने होईन, भएका संरचनागत पक्षमा सानो सानो सुधार गर्नुपर्छ । उपलब्ध स्रोत साधनलाई उचित ढंगबाट प्रयोग गरेर अधिकतम् फाइदा लिनुपर्छ ।
वायुसेवा सञ्चालनमा खर्च धेरै तर तत्काल नाफा नदिने क्षेत्र भन्छन्, यसलाई आर्थिक रुपमा बढी उत्पादनमुखी कसरी बनाउन सकिन्छ ?
म विश्वकै सफल मध्ये एक कतार एयरवेजको उदाहरण दिन्छु । कतार एयरवेजले क्याटरिङ्ग देखि उडान इन्जिनियरिङसम्म सबै काम आफैले गर्छ । त्यसकारण यसरी बहुआयमिक पक्षको व्यवस्थापन एउटै संस्थाले गर्ने हो भने एउटाबाट भएको घाटा अर्को पक्षबाट पूर्ति हुन्छ । फलस्वरुप आर्थिक चलायमानको स्थिति राम्रो हुन्छ । नेपाल एयसलाइन्सले पनि सबै पाटोलाई जस्तै क्याट्रिङग्ङ्ग राख्ने देखि लिएर फ्लाइङ्ग स्कुलसम्म आफै हेर्ने हो भने एउटा पाटोबाट घाटा हुँदा अर्को पाटोबाट परिपूर्ती गर्न सजिलो हुन्छ ।
अन्त्यमा, नेपालमा फ्लाइङ्ग स्कुल (उडान विद्यालय ) को आवश्यकता कतिको छ ? आर्थिक हिसाबले हेर्दा चल्न सक्छ ?
देशको अर्थतन्त्रकै कुरा गर्ने हो भने विदेशी मुद्रा एकदम कम्ती छ भन्ने सुनिन्छ । हवाई क्षेत्रका पाइलट देखी सबै प्राविधिकलाई तालिमका लागि बाहिर पठाउँछौं । हाम्रो मुद्रा बाहिर जान्छ, त्यसकारण यो सबै काम हाम्रै देशमा भयो भने त्यो पैसा नेपाल मै रहन्छ । रोजगारीका दृष्टीकोणबाट तथा जनशक्ति खपतको हिसाबले पनि फ्लाइङ्ग स्कूल आवश्यक छ ।
प्रतिक्रिया