सबै पालिकामा पुग्यो वाणिज्य बैंकको पहुँच, पूर्ण बैंकिङ्ग सेवाबाट अझै बञ्चित

सबै पालिकामा पुग्यो वाणिज्य बैंकको पहुँच, पूर्ण बैंकिङ्ग सेवाबाट अझै बञ्चित


काठमाडौं – यही वर्ष २०८१ को असोज दोस्रो साता बझाङ्गको साईपाल गाउँपालिकामा बैंकको सेवा पुग्यो । एभरेष्ट बैंकले आफ्नो शाखा स्थापना गरेसँगै साइपाल गाउँपालिका बैंकिङ्ग पहुँच पुग्ने अन्तिम गाउँपालिका बनेसँगै ७५३ वटै पालिकामा बैंक पुगेको थियो । यससँगै, सबै पालिकामा बैंकको शाखा खोल्ने नेपाल राष्ट्र बैंकको लक्ष्य पुरा भएको छ ।

बैंकको पहुँच पुगेसँगै पूर्ण बैंकिङ्ग सेवा पुर्याउने चूनौती सुरु भएको छ । हाल देशभरका सबै स्थानीय तहमा कम्तिमा एउटा बैंकको शाखा कार्यालय सञ्चालनमा छन् । तर, स्थापित ती शाखाले सम्पूर्ण बैंकिङ्ग सेवा दिन सकेका छैनन् । किनकी, शाखाको काम रकम झिक्ने र जम्मा गर्ने हुन्छ । यसबाहेक एटीएम कार्ड लगायतका कार्ड समेत जारी गर्छन् ।

तर, बैंकको शाखाद्वारा जारी गरिएको एटीएम कार्डको प्रयोग शून्य हुन्छ । यसबाहेक, काठमाडौंबाट बझाङ्गको साइपाल पुगेका सर्वसाधारणले आफुसँग भएको एटीएमबाट रकम झिक्नुपरेमा एटीएम बुथ हुँदैनन् । जसकारण, बैंकको शाखा पुगेपनि पूर्ण बैंकिङ्ग सेवा भने पुगेको हुँदैन ।

साईपाल पुगेका सर्वसाधारणले एभरेष्ट बैंकको शाखामार्फत गरेर अर्को बैंकको एटीएममार्फत पैसा जम्मा गरेर झिक्ने कल्पना गर्न सकिँदैन । यसका लागि सम्बन्धीत बैंककै चेक चाहिन्छ । सोहीकारण पनि यसलाई पूर्ण बैंकिङ्ग सेवा भन्न सकिँदैन । नेपाल राष्ट्र बैंक समेत वाणिज्य बैंकको शाखा पुग्दैमा सबै पालिका पूर्ण बैंकिङ्ग सेवाको पहुँचमा आएको मान्न नहुने स्वीकार्छ ।

राष्ट्र बैंकका डेपुटी सूचना अधिकारी भागवत आचार्य पूर्ण बैंकिङ्ग सेवाका लागि शाखासँगै एटीएम लगायतका सेवा समेत पुगेको हुनुपर्ने बताउँछन् । ‘केन्द्रीय बैंकले बैंकको शाखा पुग्नुलाई नै पूर्ण बैंकिङ्ग सेवा भनेर परिभाषित गरेको छैन,’ आचार्यले भने, ‘शाखा पुग्नु बैंकिङ्ग पहुँच मात्रै पुग्नु हो ।’

संघीय राजधानीसँग जोडिएका जिल्लामै छैनन् एटीएम
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कार्डलेस एटीएम सेवा प्रस्तुत गर्न थालेका छन् । ती संस्थाहरुले एटीएम बुथबाटै डिपोजिट गर्न सक्ने व्यवस्था समेत मिलाउन थालेका छन् । तर, संघीय राजधानी काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा नै एटीएमको पहुँच छैन । भक्तपुर, धादिङ, नुवाकोट, ललितपुर लगायतका जिल्लाका सबै पालिकामा एटीएम बुथ छैनन् ।

यसको उदाहरणका लागि धादिङ्गको ज्वालामुखी गाउँपालिकालाई नै लिन सकिन्छ । यो पालिकामा समेत एटीएमको पहुँच छैन । राजधानीबाट केही किलोमिटरका दूरीमा रहेका यस्ता पालिका नै एटीएमको पहुँचबाट बाहिर रहँदा अन्य पालिकाको स्थिती सहजै आँकलन गर्न सकिन्छ ।

कति छन् देशमा एटिएम ?
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म नेपालमा ५ हजार बढी एटिएमहरु सञ्चालनमा रहेका छन् । भदौ महिनासम्ममा एटीएमको संख्या ५ हजार २०५ छन् । जुन, नेपालमा सञ्चालनमा रहेका क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको एटीएम हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एटिएम संख्या ४ हजार ९७८ रहेको थियो ।

केन्द्रीय बैंकको छैन नीति
नेपाल राष्ट्र बैंकले एटिएम स्थापनाको सन्दर्भमा कुनैपनि नीतिगत व्यवस्था गरेको छैन । २०७४ साल भित्र देशका सबै पालिकामा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको राष्ट्र बैंकले उद्देश्य भेट्टाउन भने झण्डै दशक कुर्नुपर्यो । अब सबै पालिका बैंकको पहुँचमा आइसकेपछि केन्द्रीय बैंकले पूर्ण बैंकिङ्ग सेवातर्फ आफ्नो ध्यान मोड्नुपर्ने हो । सबै पालिकामा शाखा पुगिसकेपछि तत्कालनै नीति बनाएर पूर्ण बैंकिङ्ग सेवाको विस्तारमा नीति बनाउनुपर्नेमा राष्ट्र बैंकको ध्यान यतातिर गएको देखिँदैन ।