अन्तर्राष्ट्रिय बैंकिङ्ग कारोबारको प्रमुख चुनौती साइबर सुरक्षा हो : सीईओ श्रेष्ठ

अन्तर्राष्ट्रिय बैंकिङ्ग कारोबारको प्रमुख चुनौती साइबर सुरक्षा हो : सीईओ श्रेष्ठ


काठमाडौं । पछिल्लो समय नेपालका बैंकहरुले आफ्नो व्यवसाय विस्तारको लागि विभिन्न प्रकारका अन्तर्राष्ट्रिय कारोबारलाई जोड दिएका छन्।कारोबारको वृद्धिसँगै बैंकहरुले विभिन्न किसिमका चुनौतीहरु सामना गर्दै आएका छन् । यसमध्ये बैंकहरुले अन्तर्राष्ट्रिय कारोबार गर्दा दैनिक भोग्नुपर्ने सबैभन्दा प्रमुख चुनौतीको रुपमा साइबर सुरक्षा देखापरेको छ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठ पनि अन्तर्राष्ट्रिय कारोबारमा साइबर सुरक्षाका कारण संबेदनशील सूचनाहरु चुहावट हुँदा केही समस्या सिर्जना भएको बताउँछन्। प्रस्तुत छ उनै किरण कुमार श्रेष्ठसँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादीत अंश :

पछिल्लो समय बैंकहरुले अन्तर्राष्ट्रिय कारोबार पनि गर्दै आएका छन् । यस्ता कारोबारहरुमा के कस्तो चुनौतिहरु देखापरेका छन् ?
तपाईले भने झै पछिल्लो समय बैंकहरुले अन्तर्राष्ट्रिय कारोबार गर्दै आएका छन् । अन्तर्राष्ट्रिय कारोबार विद्युतीय हुने हुदाँ नोटको प्रयोग हुँदै हुँदैन त्यसैले हाल अन्तर्राष्ट्रिय कारोबारको प्रमुख चुनौतीको रुपमा देखा परेको कुरा भनेको साइबर सुरक्षा नै हो । बैंकहरुलाई डिजिटाईजेसनमा नगई ग्राहकमैत्री तथा प्रभावकारी अत्याधुनिक बैंकिंग सेवा प्रदान गर्न सम्भव छैन त्यसकालागि हामी डिजिटल त हुनुपर्यो तर योसँग सँगै यसले संबेदनशील सूचनाहरु चुहावटको जोखिम, छिटो छिट्टो प्रविधिमा भैरहेको परिवर्तनले निम्त्याउने असुरक्षा, अनुपालनको अन्तर्राष्ट्रियस्तर कायम गर्ने जटिलता, सेवा अवरुद्ध हुने जोखिम, साइबर सुरक्षा तथा यसले निम्त्याउने जरिवाना जस्ता जोखिमहरु बढेका छन्।

हाल बैंकमा तरलता अत्याधिक छ तर किन कर्जा प्रवाह हुन सकिरहेको छैन ?
तपाईले भन्नु भएको कुरा एकदमै सहि छ । हामी २ वर्ष अगाडि यो कुराहरु गर्दा तरलताको एकदमै समस्या थियो ,धेरै वित्तीय सूचकहरुमा कसी कसाउ को स्थिति छ । सिडि रेसियो पनि संकुचित भएर कर्जा दिन सक्ने अवस्था छैन भनिरहेका थियौ । तर अहिले हामीसँग प्रर्याप्त तरलताले स्थिति एकदमै राम्रो छ । अहिले हाम्रो राष्ट्रिय वाणिज्य बैंककै कुरा गर्दा पनि २० प्रतिशत राख्नुपर्ने तरलता ३०–३२ प्रतिशत रहेको छ । हाल हामीसँग जति तरलता छ त्यो अनुसारको कर्जाको माग छैन । आजभन्दा ४/५ महिना अगाडिसम्म बैंकहरुको ब्याजदर निकै बढी भयो त्यसकारण कर्जा नै गएन भन्ने कुरा आए । त्यो समयमा हामी बैंकरहरु पनि के भन्दै थियौं भने निक्षेप प्राप्तिमा वृद्धि भएको लागतका कारण ब्याजदर केही मंहगो भएको त हो तर ब्याजदर नै त्यति उच्च भने होइन। हामीलाई लागेको थियो यसले त्यतिबेला व्यवसायमा विस्तारमै समस्या गरेको छैन तर अहिले हामीसँग तरलता पनि प्रर्याप्त छ । ब्याजदर पनि एकल अंकमा आइसकेको छ । त्यसैले अहिले कर्जा प्रवाह हुन नसक्नुको मूल कारण आर्थिक गतिविधिमा आएको सुस्तता नै हो । किनभने जति आर्थिक गतिविधि चलायमान हुन्छ त्यति नै व्यापार व्यवसाय विस्तार हुदै जान्छ । त्यसको लागि पुँजी आवश्यक पर्दछ र कर्जाको माग सिर्जना हुन्छ, जस्तो कि व्यापार हुन, उसले उत्पादन गरेको वस्तु र सेवाहरु खरिद गर्न मान्छेहरु हुनुपर्यो भएका मान्छेहरुसँग पनि उसको उत्पादन किन्न सक्ने क्षमता हुनुपर्दछ । मान्छे मात्रै भएर पनि भएन खरिद गर्ने क्षमता हुनुपर्यो । हाल बैंकबाट कर्जा लगानी हुन नसक्नुको एउटा कारण अर्थतन्त्र चलायमान नहुनु पनि हो । हाल अर्थतन्त्रको बाह्य पक्ष सबै राम्रो छ ।

बाह्य पक्ष राम्रो छ भन्दैमा देशको अर्थतन्त्रको सबै पक्ष राम्रो छ भन्न सकिन्छ ?
मैले त्यहि भन्दै छु । हाल अर्थतन्त्रको बाह्य पक्ष संम्बद्ध सबै तत्वहरु निकै राम्रा छन् । तर आन्तरिक पक्ष भने उस्तै छ । जस्तोकी रोजगारी बढ्नुपर्यो, जसले उपभोक्ताको क्रय शक्ति बढ्दछ। मुद्रास्फीतिलाई नियन्त्रणको स्थिति लगायतका कुराहरु सबै राम्रो हुनुपर्छ । आन्तरिक पक्षका यस्ता तत्वहरुमा हाल कुनै किसिमको गतिशीलता देखिदैन । आन्तरिक पक्षको सुचकहरुको स्थिति कमजोर देखिन्छ त्यसैले यो चक्र गतिशील बनाउन सबैभन्दा पहिले सरकारले पुँजीगत खर्च वृद्धि गर्नै पर्ने देखिन्छ। साथै अहिले भुक्तानी रोकिएर जुन किसिमको अवरोधहरु भइरहेका छन् त्यसलाई सुचारु गर्न तत्काल भुक्तानी समस्या समाधान गर्ने पर्छ। मलाई लाग्छ यसले अर्थतन्त्रमा देखिएको अहिलेको जडतालाई भंग गर्ने उत्प्रेरकको भूमिका खेल्ने छ।

भुक्तानी रोकियो अनि खराब कर्जा पनि बढ्यो भन्ने त हामीले सुन्दै आएका छौं । तपाईको विचारमा खराब कर्जा बढ्नुको कारण के होला ?
स्रोतको सुनिश्चितता नगरि व्यवसाय सुरु गर्ने, ९० प्रतिशत काम गर्ने तर सबै काम सकिएको भन्दै झुटा विवरण पेस गर्ने प्रबृत्ति छ। त्यस्तो हुँदा कर्जालिने व्यक्तिले बैंकको पैसा फिर्ता गर्नै सक्दैनन् । त्यसैले अब हामीले उत्पादमूलक क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।

केन्द्रीय बैंकले फरक क्षमता भएका मानिसको लागि भिन्दै एटिएम काउन्टर राख्न पटक पटक आग्रह गर्दै आएको छ यसमा तपाईले नेतृत्व गर्नुभएको बैंकले के गर्दै छ ?
राष्ट्र बैंकले लिएको यो नीति स्वागतयोग्य छ । फरक क्षमता भएका मानिसहरुलाई राज्यले सबै क्षेत्रमा सहजता प्रदान गर्नुपर्ने हुन्छ । फरक क्षमता भएका मानिसहरुलाई हेर्ने जुन दृष्टिकोण थियो । हाल त्यसमा धेरै परिवर्तन आएको छ । अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने त फरक क्षमता भएका मानिसहरुलाई पनि निकै सहजताका साथ बैकिङ्ग कारोबारसँग जोडेको पाइन्छ। नेपालमा हालसम्म यस्तो केही नभएको हुँदा मात्रै केही नयाँ आएको होकि भन्ने लागेको हो । आजको दिनबाटै सुरु भनेर त छैन । हामी हाम्रा बैंकिङ्ग पूर्वाधारहरुलाई त्यसअनुरुप बनाउने प्रक्रियामा छौं । अब हामी फरक क्षमता भएका मानिसहरुले सहजै बैंकसँग जोडिन सक्ने माध्यमहरु छिट्टै भित्र्याउँछौं ।

बैंकहरु काठमाडौंमा शाखा थपेको थपै गर्ने तर बाहिर जाँदै नजाने भन्ने एक खालको कुराहरु पनि आइरहेका छन् नि ?
सहरी क्षेत्रहरुमा जनसंख्याको घनत्व संगै आर्थिक गतिबिधि पनि अरु क्षेत्रको तुलनामा धेरै हुन्छ जसले गर्दा शहरी क्षेत्र अथवा काठमाडौंमा धेरै स्रोत प्रयोग हुन्छ । साथै सेवाको धेरै माग हुनेहुदा त्यसलाई व्यवस्थापन गर्न पनि शहरी क्षेत्रमा शाखा धेरै भएको हो।त्यसको अर्थ ग्रामिण भेगमा जान न खोजेको होइन हरेक जनतामा वित्तीय पहुच बढाउँन पनि हामी जानै पर्छ। यसलाई अलिकति अर्थशास्त्रको माग र आपुर्तिको सिद्धान्तको आधारमा पनि बुझ्नु पर्दछ । जस्तै संखुवासभामा पाँचतारे होटल खोल्दा त्यसको सेवा उपभोग गर्ने मान्छे हुँदैनन् । त्यो दिगो हुदैन त्यसले गर्दा माग र आपुर्तिको परिवेश अनुसार संख्या र शाखाको घनत्व चयन गर्ने काम गर्नु पर्ने स्थिति हुन्छ ।

वाणिज्य बैंकमा तपाईले दुई कार्यकाल पुरा गर्नुभयो । अब केही दिनमा तपाईको कार्यकाल पनि सकिँदै छ । समग्रमा भन्नुपर्दा सरकारी स्वामित्वको बैंक वाणिज्य बैंकको यात्रा कस्तो रह्यो ?
मेरो यात्रा संघर्ष पूर्ण नै रह्यो । मेरो एउटा चाहाना के थियो भने राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएकाले जुनखालको आम बुझाई छ, जस्तो कि सरकारी तौर तरिका, ढिलासुस्ति, चुस्त कर्मचारीको अभाव, निजी क्षेत्रको जस्तो हुँदैन भन्ने भाष्यहरु थिए । त्यसलाई चिर्दै बैंकको प्रशासनिक क्षमता रुपान्तरण गर्न म लागि परे । डिपोजिट लिने दिने नाफा कमाउँने त जसले पनि गर्छ नि तर हामी फरक हुनुपर्छ र हामीलाई अरुले हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्छ भनेर म यहाँ प्रवेश गरेदेखि त्यता लागे । हाम्रोबाट जनशक्तिको ठुलो हिस्सा अवकास भएर जानुपर्ने थियो , नयाँ भर्ना गर्न मुद्दा पनि गर्नुपर्यो । आज हामी जहाँ छौ त्यहाँ सम्म आईपुग्दा भविष्यको लागि आशावादी हुने धेरै ठाउँ छन् । अब हामीसँग युवा कर्मचारीहरु हुनुहुन्छ । सेवाको गुणस्तरीयता वृद्धि भएको छ । नविन प्रविधि अबलम्बन गरेका छौ र यसलाई थप समयासापेक्ष बनाउन पनि हामी लागिरहेका छौं । सरकारी संस्थाले नाफा दिनसक्छ । सरकारलाई नाफा दिनुपर्छ भन्ने मेरो चाहना थियो तदनुरुप ५ वर्षदेखि राष्ट्रिय वाणिज्य बैंकले लगातार सरकारलाई नाफा दिइरहेका छ । समग्रमा भन्दा मेरो कार्यकाल सुखद र संघर्षपूर्ण दुवै रह्यो ।