काठमाडौं– नेपाल मात्र होइन । विश्वभर नै आर्थिक सम्पन्नताका आधारमा मानिसहरुको वर्णीकरण गरिएको छ । उच्च वर्गीय, मध्यम वर्गीय र न्यून वर्गीय गरी तहगत रुपमै समाजका मानिसमा देखिने बर्गीय भिन्नताले यी वर्गहरुका बीच प्रतिस्पर्धात्मक द्धन्दको सिर्जना गर्दछ ।
यी वर्गका बीचको द्वन्दले त समाजको आर्थिक पाटोलाई दर्साउँछ। तर त्यही समाजभित्रका महत्वपूर्ण अंश महिला र पुरुष, जसलाई ‘एकै रथका दुई पाङ्ग्रा’ पनि भनिन्छ । यी दुई पक्षबीच सदियौंदेखि चल्दै आइरहेको लैंगिक असमानता २१ औं शताब्दीमा आइपुग्दासम्म पनि निर्मूल पार्न सकिएको छैन।
यही मानसिकताको अन्त्यका लागि सन् १९११ बाट अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै आइएको छ । आज ११३ औं नारी दिवस मनाउँदै गर्दा यसको प्रासंगिकता थप बढेको छ। भेदभाव रहित, रूढ़िवाद र असमानताबाट मुक्त विविधतापूर्ण अनि समानता र समावेशीतायुक्त विश्वको परिकल्पनालाई यथार्थमा बदल्न निरन्तर लैंगिक असमानताको बिरुद्ध आवाज उठाउन जति जरूरी छ त्यतिकै जरूरी छ हरेक तह र तप्कामा रही महिलाहरुले गरेको योगदान, संघर्ष र उनीहरुको सफलताको कथाहरुलाई आम सर्वसाधारणसम्म पुर्याउन जसले समाजलाई निरन्तर प्रेरणा दिन सकोस।
त्यस्तै संघर्ष र सफलताको कथा बोकेकी एक महिला हुन्, नम्रता थापा । उनी महिलाले आफुलाई मानसिक र आर्थिकरुपले आत्मनिर्भर बनाइ राखे कसैको हेपाइमा नपरिने कुरामा विश्वास राख्छिन् । नेपाली पृतिसत्तात्मक समाजको मध्यमवर्गीय परिवारमा हुँर्कदै गर्दा केवल बुवाको कमाइमा पाँच जनाको परिवार चल्नुपर्दाको पीडालाई चिर्न सानै उमेरदेखि संघर्षरत रहेर आज बैंकरको भूमिकामा आफुलाई सबल रुपमा उभ्याउन सफल नम्रता विगत १० वर्षदेखि शाइन रेसुङ्गा विकास बैंकमा कार्यरत छिन् ।
तीन जना सन्तानका लागि आफ्ना बुवाले अहोरात्र खटेर गरेको परिश्रमको बोझलाई केही कम गर्न कक्षा सातमा अध्ययन गर्दा गर्दै उनले ट्युसन पढाउन सुरु गरेकी थिइन् । उनी भन्छिन्, ‘महिलाले घर–परिवारबाट बाहिर निस्किएर पुरुषसरह काम गरेर पैसा कमाए विभेद कसो नहट्ला !’
त्यही सोचका साथ आफू आर्थिक रुपमा सम्पन्न हुन सानै उमेरबाट अध्यापन गर्न थालेकी उनी भन्छिन्, ‘आर्थिक सम्पन्नता मानिसको मेरुदण्ड हो । जसको जीवनमा अर्थको पाटो सबल हुन्छ । उही समाजमा बलियो हुन्छ । नेपालका धेरै परिवारमा एक जना कमाउने र त्यसमै पूरै परिवार निहित रहने परम्परा छ । विशेष गरी पुरुष कमाउने र महिलाले त्यसबाटै परिवारको खर्च धान्नुपर्ने हुन्छ । हाम्रो परिवारमा पनि त्यस्तै थियो । कुनै कुराको अभाव नभएपनि आर्थिक रुपमा आत्मनिर्भर हुनै पर्छ भन्ने सोच दिमागमा जहिल्यै आउँथ्यो ।’
विशेतः महिलाहरुका लागि आर्थिक रुपमा आत्मनिर्भर हुने कुरा मानसिक र सामाजिकरुपले महत्वपूर्ण छ । उनी भन्छिन्, ‘कुनै महिला रोजगार छ भने उसलाई घरपरिवार र समाजबाट हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ किनकि घर सम्हाल्ने महिलाको कामलाई काम नै होइन भन्ने प्रवृति आम रहेको छ । घर धानेर बस्नेहरुलाई श्रीमानको कमाई उडाएको आरोप लग्छ । जागिर गरौं भने यसले केही गर्नै सक्दैन भनेर निरुत्साहित गर्ने मानसिकता हावी छ । जसले गर्दा महिलाले आफ्नो योग्यता र खुबीलाई प्रस्फुटन गर्न पर्याप्त अवसर पाउन सक्दैनन् ।’
यसकारण आफू आर्थिक रुपमा सम्पन्न हुनैपर्ने लागेर १९ वर्षकै उमेरमा नम्रताले बैंकिङ्ग करियर रोजेकी थिइन् । बुटवलमा हुर्केकी उनले लामो समय ट्युसन पढाएरै आफ्ना बुवालाई आर्थिक सहयोग गरिन् । अध्ययनमा अब्बल उनी आफ्नो अथक मेहेनतकै कारण कक्षा १२ सम्म छात्रावृत्तिमै पढ्न सफल भइन् । कक्षा १२ पास पछि चार्टड अकाउन्टेन्ट (सीए) बन्न मन पनि उनलाई नलागेको होइन तर आर्थिक समस्याकै कारण सीएको प्रवेश परीक्षामा पास भएपनि त्यसलाई अघि बढाउन नसकेको बताउँदै उनी भन्छिन्, ‘पैसा तिरेर सीए नै पढ्न सक्ने अवस्था थिएन त्यसैले छात्रवृतका लागि कोशिस गरे इन्ट्रान्स दिएर नाम पनि निस्क्यो तर पढ्नको लागि भारत नै जानुपर्ने भएपछि निरन्तरता दिन भने सकिनँ । त्यस बेलै बैंकमा भ्याकेन्सी देखेँ । अप्लाई गरेँ र पास पनि भएँ ।’
ट्रेनी असिस्टेन्टको रुपमा बैंकको केन्द्रिय कार्यालय बुटवलमा प्रवेश गरेकी नम्रतालाई त्यति बेला बैंकको जागिर गर्नुपर्ने बाध्यता जस्तै थियो । बुवाको भार अझै कम गर्न भाई र बहिनीको जिम्मेवारी आफ्नो काँधमा बोकेकी उनी बैकिङ्ग क्षेत्रमै टिकेर आफ्नो आर्थिक स्थिति बलियो बनाउन लागि परिन् । फलस्वरुप आज उनी साइन रेसुङ्गा बैंकको निक्षेप संकलन विभागको प्रमुख छिन् ।
नम्रताले यस अघि बैंकको विभिन्न शाखाका भिन्दाभिन्दै विभागमा काम गरिसकेकी छिन् । बैंकको सहायक पदबाट काम शुरु गर्दै सञ्चालन विभाग, शाखा प्रवन्धक हुँदै आज निक्षेप विभाग सम्हालीरहेकी उनी दुई सन्तानकी आमा पनि बनिसकेकी छिन् । आफूप्रतिको विश्वासले आफूलाई कमजोर हुन नदिँएको बताउँदै भन्छिन्, ‘सामान्य परिवारबाट आएर एउटै काममा टिकिराख्न त्यति सहज हुँदैन, त्यसैमाथि महिला । विवाह नहुँदासम्म त त्यति धेरै अप्ठ्यारो हुँदैन तर विवाह भइसकेपछिको अलग वातावरणमा पेशागत जिम्मेवारी र पारिवारिक जिम्मेवारीलाई सन्तुलन मिलाएर अघि बढ्न गाह्रो पर्छ ।’
अझै आमा बनिसकेपछि धेरै महिलाले आफ्नो पेशालाई निरन्तरता दिन नसक्ने बताउँदै भन्छिन्, ‘आमा बन्दा त्यो भन्दा ठूलो कुरा केही लाग्दैन । बैंकबाट तीन महिनाको सुत्केरी बिदा पनि मिल्छ । तर बिदा सकिने बेलासम्म बच्चासँगको भावनात्मक लगावले दोधारको स्थितिमा पुराईदिने हुँदा काम र मातृत्वको जिम्मेवारी मध्ये एक रोज्न अत्यन्त कठिन हुन्छ जसले अधिकांश महिलाको करियरलाई नै उथुलपुथुल पारिदिन्छ ।’
यस बीचमा सन्तानसँगसँगै पेशालाई पनि सँगै लैजान्छु भन्ने आटलाई कुनै पनि महिलाले कम गर्न नहुने नम्रताको भनाइ छ । भन्छिन्, ‘तीन महिनापछि दुधेबालकलाई घरमा छोडेर आउँदा बरु काम नै छोडिदिन्छु भन्ने सोच नआउने होइन तर त्यो बेला हार मान्यो भने हारेको हारेइ भइन्छ । त्यसैले हिम्मतकासाथ आफू आर्थिक रुपमा असक्षम हुँदा खेप्नुपर्ने हेपाइलाई सम्झेर पनि महिलाहरु काममा कमब्याक हुनैपर्छ ।’
समाज परिवर्तन हुँदै गर्दा लैङ्गिक समावेशीता बढीरहेको भएपनि नेपाली समाजका महिलामा आफ्नो पेशाप्रतिको नभइ परिवारप्रतिको झुकाव उच्च रहेकाले उनीहरुमा आफ्नो आर्थिक सक्षमताप्रति दृढताको उच्च अभाव देखिएको उनी बताउँछिन् । महिला एउटा कुशल छोरी, श्रीमती, बुहारी र आमा मात्र नभई कुनै संस्थालाई बलियोसँग हाँक्नसक्ने योग्य प्रशासक पनि बन्न सक्ने भन्दै विविध कारणले काम छोड्न बाध्य महिलाको लागि उनी सुझाव दिँदै भन्छिन्, ‘बाधा आएपनि आफ्नो काममा फर्कनै पर्छ । ताकि कसैको अगाडि हात फैलाउन नपरोस् र आफ्नो अर्थको मेरुदण्ड पनि कमजोर नबनोस् ।’
प्रोत्साहनको कुनै औषधि नहुने बताउँदै उनी भन्छिन्, ‘मोटिभेसनको कुनै इन्जेक्सन हुँदैन । जो कि लगायो र मोटिभेट भयो । आफुलाई आर्थिक र मानसिकरुपमा बलियो बनाउन आफैँ मोटिभेट हुनुपर्छ । सँगै परिवारलाई आफ्नो कामबारे बुझाउन सके कसैले रोकटोक गर्न सक्दैन ।’ यसरी आफ्नो जीवनकालको कुनै पक्षमा पनि बैंकको जागिर तगाारो नबनेको बताउँदै यसले आफूलाई थप बलियो बनाइ आर्थिक स्वतन्त्रता प्रदान गरेको उनको विश्वास छ ।
प्रतिक्रिया