ईयूले सरकारलाई कालो मोसो दलिदिएको छ: केबी लिम्बु, बरिष्ठ क्याप्टेन

ईयूले सरकारलाई कालो मोसो दलिदिएको छ: केबी लिम्बु, बरिष्ठ क्याप्टेन


बदलिँदो विश्वपरिवेशसँगै हाम्रो आफ्नै भौगोलिक बस्तुस्थितिका कारण पनि   नेपालमा हवाई यातायातको महत्व र  आवश्यकता थप बृहत बन्दै गएको छ । तर, नेपालमा भएका ५५ वटा  विमानस्थलहरु  मध्ये अझैपनि २२ वटा विमानस्थल चल्न सकिरहेका  छैनन् । विना अध्ययन तथा लोकप्रियताका लागीमात्र विमानस्थल बनाईने परिपाटी बढेको छ यसरी लोक रिझाईका लागी मात्रै बनाइने  यस्ता आयोजनाले राज्यलाई आर्थिक भार थप्ने बाहेक अरु केही गरेको छैन । हामीले वायु सेवा क्षेत्रको अवस्था कसरी सुधार गर्ने भन्ने पहलकदमी र बिमर्श भन्दापनि उड्डयन क्षेत्रमा लापरवाही र जहाज खरिद, संचालनमा भ्रष्टाचार संथागतरुपमा मौलाउदो छ। यसैगरी हवाई सुरक्षा संवेदनशिलतालाई गम्भीरतापुर्वक नलिएका कारण हवाई दुर्घटना निम्तिरहेका छन्  जसले  गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा हामीले  हवाई क्षेत्रलाई हेर्ने दृष्टीकोण कस्तो छ भनेर निरन्तर गलत सन्देश गईरहेको अवस्था छ। 

यसै परिपेक्षमा तत्कालिन शाही नेपाल वायुसेवा निगममा बरिष्ठ क्याप्टेनका  रुपमा काम गर्नु भई, नेपाल वायु सेवा निगमका पुर्व महाप्रवन्धक समेत रहनु भएका  कुल बहादुर (केबी) लिम्बुसँग बैकिङ्ग समाचारको  ‘कार्यक्रम एभीएसन टक’ मा सुरेन्द्र कट्टेलले गरेको कुराकानीको सम्पादित अंश:

आज भोली तपाई के काममा ब्यस्त हुनुहुन्छ ?

आज भोली म सामाजिक कार्य तथा पारिवारिक काममा ब्यस्त हुनुका साथै नेपाल वायुसेवा निगमको संरचनागत एवम व्यवस्थापकीय अध्ययन तथा सिफारिश समितिको प्रतिवेदन कार्यान्वयन कार्यदलको म संयोजक छु त्यसैमा काम गर्दै छु । 

पाइलट कसरी बन्नुभयो ? नेपाल, भारत तथा यूकेमा रहेर जहाज उडाउनुभयो । तपाईको अनुभव कस्तो रह्यो ? 

म सानैबाट  नयाँ केही गरौं भन्ने मान्छे नेपालमा शिक्षा लिन त्यो समयमा त्यति सजिलो थिएन । म आधारभुत शिक्षा लिन नै क्यानाडा गएको थिए  अनि तत्कालिन अवस्थामा नेपालको भन्दा बहुआयामिक  शिक्षा लिने अवसर क्यानाडामा थियो अनि त्यसपछि नेपालमा आएर पर्यटनका क्षेत्रमा काम गरेँ ।  फेरी पछि क्यानाडा सरकारले दिएको पुर्ण छात्रावृत्तीमा  पाइलट पढ्ने अवसर प्राप्त भयो अनि सन् १९८१ मा आएर नेपालमा विमान उडाउन थालेँ  त्यसपछि भारत तथा यूकेमा गएर विमान उडाएँ । म जुनियर कोपाईलटबाट ब्यवसायीक उडान सुरु गर्दै गर्दा नेपालमा तत्कालीन आरएनएसीका ७/८ वटा मात्र जहाज थिए । त्यस अनुरुप हेर्दा उड्यनको क्षेत्रमा सन् १९८१ देखि अहिले सम्म धेरै सुधार भएको त छ, तर यतिले मात्रै पुग्दैन । 

नेपालमा ५५ वटा विमानस्थल मध्ये २२ वटा विमानस्थल चल्न सकेका छैनन् । विना अध्ययन तथा लोकप्रियताका लागीमात्र किन विमानस्थल बनाईन्छन् कि विज्ञले पनि त्यस्तै सुझाव दिन्छन् ?

विज्ञहरुले त्यस्तो सुझाव दिन्छन जस्तो त मलाई लाग्दैन बरु हामीहरुमा विज्ञले दिएका सुझाबलाई  बेवास्ता गर्ने परिपाटी बढ्दो छ। हाम्रो देशमा प्रायजसो  राजनितीज्ञहरुले कुनै पनि परियोजना सुरु गर्दा  चाहे परियोजनाबाट राज्य तथा जनताको हितमा होस या नहोस नाई भन्न हिचकिचाउँछन् । 

मेरो बिचारमा पहिले निजगढ बिमानस्थल बन्नु पर्थ्यो। पर्यावरणलाई जोगाउने नाममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम रोकिराख्नु हामीलाई नै घाटा हुनु हो । हामीले यो  विमानस्थल बनाउन २० बर्ष ढिला गरिसकेका छौ ।  त्यसकारण यसलाई  चाँडो बनाउनुपर्छ । निजगढ विमानस्थल बनेको भए काठमाडाैं अन्तर्राष्ट्रिय  विमानस्थलमा अहिलेको जस्तो अस्तब्यस्तताको अवस्थामा  हुदैन थियो । जापानमा ‘नारिता विमानस्थल’ बनाउँदा कृषकले घोर विरोध गरेका थिए । त्यहाँ  तत्कालीन प्रधानमन्त्रीलाई अण्डाले हानेर जनताले विरोध गरेपनि  सरकारले योजना बनाउन रोकेन पछि योजनाको सफलताले  त्यसको औचित्य पुष्टी भयो । हामीले यस्ता उदहारणहरुबाट  पाठ  सिक्नै पर्दछ।  हामीले हाम्रो आवश्यकता निर्धारण गरेर महत्वपुर्ण र आवश्यक विमानस्थल जसले दिर्घकालीन हितलाई पुष्टी गर्छ त्यस्ता योजनाहरुलाई  प्राथमिकतामा राख्नु पर्दछ  । हाम्रो समस्या भनेको नै हाम्रा धेरै  सांसदहरुलाई  पहाडमा डाँडा र तराईमा समथर भूभाग देख्नै बितिक्कै एयरपोर्ट बनाउनै पर्ने सोच हो  । जहासम्म  भैरहवा र पोखरा विमानस्थल को कुरा छ यो विमानस्थल बनाउन हामीले हतार गर्नु हुने थिएन हामीले विमानस्थल धेरै होईन भएका विमानस्थल ब्यवस्थित बनाउने तर्फ सोच्नु पर्दछ  । मेरो बिचारमा भैरहवा र पोखरामध्ये पोखराको विमानस्थल ठिक छ तर हामीले सिमा क्षेत्रमा त्यस्ता  पुर्वाधारहरु बनाउनु पूर्व  छिमेकी देशको भावना सकारात्मक नहुँदा सम्म ठुला पुर्वाधार बनाउनु हुँदैन ।  

नेपालमा हवाई दुर्घटना धेरै हुनुको कारण के होला ? अनि वायुसेवा क्षेत्रको अवस्था कसरी सुधार गर्न सकिन्छ ?

धेरै दुर्घटनाको मुख्य कारण भू–बनावट, मौसम, तालिम तथा जहाजको मर्मत सम्भार जस्ताका कुरा हुन । अर्को कारण नेपाल वायुसेवा निगमको  संरचनागत रुपमा साच्चिकै  पुर्नसंरचना गरिनुपर्छ । नेपालमा हवाईसेवा प्रदायक र नियमक छुट्टाछुट्टै निकाय  नहुनु पनि एउटा अर्को कारण हो ।  सेवा प्रदायक र नियमक छुट्टाछुट्टै नहुदा स्वार्थ बाझिने कारणले नियमन फितलो हुन्छ जसले गर्दा सुरक्षा खतरा बढ्छ । त्यसैले हामीले सेवा प्रदायक र नियमक निकायलाई अलग्गै बनाउनैपर्छ । यस्तै कुराहरुले  सुरक्षाको कारण देखाउँदै ईयूले नेपाललाई ब्ल्याकलिष्टमा राख्दा  सरकारलाई कालो मोसो दले जस्तै भएको छ।  यो हाम्रा लागी धब्बा हो।  ईयूले हामीलाई कालोसूचीमा राखेको १० बर्ष भन्दाबढी भईसक्यो तर  हामी चाहीँ केही नभए जस्तोे गरि रामराज्य नै छ भन्ने घमण्डले बसिरहेका छौ ।  त्यसैले हामीले यस क्षेत्रका कमी कमजोरी हटाउनुपर्छ । हाम्रो देश सानो भएपनि धेरै देशसँग हवाई सम्झौता भएका छन् ।  यी  सम्झौताहरु त्यतिकै  भएका होईनन्  नेपालमा हवाई क्षेत्रमा राम्रो व्यवसायीक संभावना भएकाले नै यी सम्झौताहरु भएका हुन्।  एउटा एयरलाइन्स फस्टायो भने त्यसले १२ विधामा रोजगारी सृजना गर्छ । यस्ता  बहुआयामीक पक्षलाई  हेरेर हवाई सुरक्षाका सुधारमा राज्य गम्भीर बन्नैपर्छ । त्यसैले हामीले यसलाई बुझेर अन्तर्राष्ट्रिय  अभ्यासलाई अध्ययन गरेर नियमन र सेवा प्रदायक एउटै बनाईराख्न जिद्दी गर्नु हुदैन