ऋणीहरुको एउटै स्वर

‘लघुवित्तबाट पाइने बिनाधितो ऋणले व्यवसाय गर्न सहज भयो’

‘लघुवित्तबाट पाइने बिनाधितो ऋणले व्यवसाय गर्न सहज भयो’


काठमाडौंं–ग्रामिण क्षेत्रमा गरिबी न्युनीकरण, वित्तीय पहुँच विस्तार, महिला शसक्तिकरण लगायतको उद्देश्यले ३० वर्षको छोटो समयमा नेपालभर फैलिएको लघुवित्त क्षेत्र केही समयदेखि चरम समस्यामा पुगेको छ । नाफा केन्द्रीत भएर महिला तथा गरिबलाई ऋणको पासोमा पारेको आरोप लघुवित्त क्षेत्रलाई लाग्दै आएको छ । लघुवित्त खारेजीका लागि आन्दोलनसमेत हुँदै आएको छ । तर, धेरै उद्यमीहरुले लघुवित्त संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दा अत्यन्तै सहज भएको बताउँछन ।

भिडियो

उनीहरुले लघुवित्त संस्थाबाट ऋण लिएर जीवनस्तर पनि सुधारेका छन् । ग्रामीण भेगका कतिपय महिलाहरु लघुवित्त संस्थालाई माइती पनि सम्झिन्छन् । लघुवित्तलाई विश्वास पनि धेरै गर्छन् । लघुवित्त संस्थाले नराम्रा मात्रै काम गरेका छैनन् । ग्रामीण भेगका मानिसलाई बोल्न सक्ने, लेख्न सक्ने र पैसाको कारोबार गर्न सक्ने सम्म बनाएको उदाहरण पनि छन् ।

‘दुःखको साथि हो लघुवित्त’

मेरो नाम हल्कामाया तामाङ्ग हो । मैले व्यवसाय सुरु गरेको ४ वर्ष भयो । मैले सुरुमा गोलभेँडा फर्म सञ्चालन गरेको थिएँ । पछि फेरि भैसि फर्म पनि शुरु गरेँ । सुरुमा मै २ वटा भैंँसी ल्याएँ । अहिले ९ वटा भैँसी, गाई ६ वटा छन । म बिहन ३ बजे उठ्छु । गोबर सोसेर, दुध दुँदा ८ बज्छ । अनि नानीहरुलाई स्कुल पठाउँने त्यसपछि २ बजेसम्म काम नै हुन्छ । २ बजेपछि फेरि फर्ममा दानापानी र ७ बजेसम्म फर्ममै बित्छ । मैले चिनेको एकजनाले भनेर लघुवित्तमा आएँ । यसमा बस्यो भने लोन पाउँछ भनेर बसे । सुरुमा मैले २ लाख ऋणबाट कारोबार गरे । मलाई लघुवित्त ठिक लाग्छ । दुःखको बेलाको साथि होनि त लघुवित्त त । हामीले ऋण एकैपटक तिर्नु परेन किस्ता किस्ता तिरे भयो । त्यसैले सजिलो छ । मलाई लघुवित्तको चित्त नबुझेको कुरा भनेको मैले माग गरेजति पैसा पाइन । अब लघुवित्तले धेरै ऋण दियो भने व्यवसाय बढाउ भन्ने सोँच छ । म अन्त कुनै पनि संस्थामा छैन । एउटा संस्थामा मात्रै कारोबार गर्ने हो सबैतिर बसेर त लोन तिर्न सकिँदैन नि । अहिले नि मेरो १८ वटा गोलभेँडा फर्म छ । उता पनि गर्ने यता पनि गर्ने दुवैतिर ।

‘कम्प्युटर सिक्न काठमाडौं आएको’

मेरो नाम मिठ्ठु बुढा हो । मैले व्यवसाय सुरु गरेको ३ वर्ष भयो । मेरो घर कालिकोट हो । म कालिकोटबाट काठमाडौं आएको ४० वर्ष भयो । म पहिले पढ्ने भनेर काठमाडौं आएको तर पढ्दा पढ्दै यतातिर लागेँ । १२ कक्षासम्म गाउँमा पढेको हो । यहाँ आएर कम्प्युटर सिक्छु भनेको सफल भएन । अहिले एक महिनामा डेढ लाखसम्म आम्दानी हुन्छ । तरकारीबाट मूल्य पायो भने २/३ लाख पनि आउँछ । लघुवित्तले लगानी गरिदिन्छ । लगानी गरेपछि आफुले काम गर्न सक्नुपर्छ आम्दानी हुन्छ । पहिले व्यवसाय ५० हजारबाट शुरु गरेको अहिले यतिका भइरहेको छ । बैंकबाट ऋण लिन धितो चाहिन्छ तर लघुवित्तमा धितो चाहिएन त्यसैले लघुवित्तमा गएको । अब गाई थप्ने योजनामा छु । अहिले एउटा गाई मात्रै दुहुनु हुँदा त्यति बचत छैन । म यो व्यवसाय गरेर सन्तुष्टि छु । बच्चा पढाउन र आफुलाई खान पुगिरहेको छ । कालिकोटमा पनि भैँसी पलान गर्थे । अहिले नि त्यही गर्दैछु ।
‘लघुवित्तको सामुहिक ऋण दिने नीति निकै राम्रो’

मेरो नाम सकुन्तला पुरी हो । म लघुवित्त क्षेत्रमा जोडिएको २ वर्ष पुरा भयो । मलाई लघुवित्तको सामुहिक जमानीमा ऋण दिने व्यवस्था मन परेर लघुवित्तमा आएँ । बैंकतिर गयो भने त जग्गाको धितो राख्नुपर्छ । मेरो पहिलेदेखि नै कृषि फर्म थियो । फर्म बढाउन ऋण लिएर ठुलो बनाएँ । मेरो परिवारले मलाई अत्यन्तै सपोर्ट गर्दछन् । मेरो परिवामा सासु, ससुरा, श्रीमान र ३ जना छोराछोरी छन् । श्रीमानले फर्मबाट तरकारी लगेर बजारमा बिक्रि गर्नुहुन्छ । बढि भएको मात्रै कालिमाटि तरकारी बजारमा पठाउने हो । कालिमाटि नजिकै छ । बजारको दुःख खासै छैन । मैले व्यवसाय गरेको धेरै भयो, मान्छेहरु धेरै चिनेको छ आफैले पनि धेरै बेचिन्छ । तरकारी बेच्न चाहिँ गह्रो छैन । मलाई यो आईडिया यो ठाउँमा कुनैपनि टनेल नहुँदा मेरो एकजना जेठाजुले तरकारी खेती गर्नुहुन्थ्यो । म उहाँकोमा काम गर्थे तर मलाई आफ्नै फर्म भए भन्ने लाग्यो अनि मैले यो सुरु गरे । मैले सुरु गरेको ११ वर्ष भयो ।

‘छोराछोरीले घर छोडेपछि, के एक्लै बस्नु भनेर व्यवसाय शुरु गरे’

पहिले म कालिकोटमा नै बस्थे । यहाँ आएको ६/७ वर्ष भयो । आएदेखि नै गाई पाल्न शुरु गरे । सुरुमा एउटा लेराएँ । त्यसबाट थोरै थोरै पैसा जम्मा गर्दै अर्को–अर्को गर्दा गर्दै ११ वटा पुग्यो । अनि लघुवित्तबाट ऋण निकाल्दै थप्दै गर्यौं । शुरुमा म अर्कै लघुवित्तमा बसेँ । अहिले यता मात्रै छु । ऋण लिएर भैँसी फर्ममा लगानी गरेँ । दुधको माग बढ्दै गएपछि ऋण लिएर गाई/भैँसी थपेको हो । छोराछोरी यतै थिए । म एक्लै घर बसेर के गर्नु बरु यतै केही गरौंला भनेर आँए । यहाँ त के गर्नु र गाई पालेको छु अरु केही छैन । मेरो ३ जना छोरा र एक जना छोरी छन । बच्चाहरुले त बिहान बेलुका दुध पुर्याउन सहयोग गर्छन् त्यत्ति नै हो । हामी श्रीमान–श्रीमति मात्रै फर्ममा काम गर्ने त । आम्दानी ३/४ लाख हुन्छ । गाईवस्तुलाई नि खुवाउनुपर्यो । यस्तै छ ।