राष्ट्र बैंक भन्छः लघुवित्तमा अब ग्रामीण मोडल परिवर्तन हुनु सामान्य

राष्ट्र बैंक भन्छः लघुवित्तमा अब ग्रामीण मोडल परिवर्तन हुनु सामान्य


काठमाडौं–नेपालका लघुवित्तले विगत लामो समयदेखि समूह र सामुहिक जमानीमा कर्जा दिने ग्रामीण मोडेल अपनाउँदै आएका छन् । विगतमा नेपाली समाजमा ग्रामीण मोडेल राम्रो भए तापनि अहिलेको समयमा समयसापेक्ष नभएको गुनासो आउन थालेका छन् । हाल नेपालको लघुवित्त क्षेत्रलाई नियाल्ने हो भने ग्रामीण मोडेलले खास उपलब्धि नभएको विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार लघुवित्तको मोडेल र काम गर्ने तरिका परिवर्तन गर्नुपर्ने समय आएको छ ।

लघुवित्तको ग्रामिण मोडल
लघुवित्तको ग्रामीण मोडेलले सामान्यतया ग्रामीण क्षेत्रका मानिसहरूलाई साना–सानो वित्तीय सेवाहरू प्रदान गर्ने गर्दछ । यस मोडेलले ग्रामिण भेगका समुदायहरूलाई साना ऋण, बचत खाताहरू र तिनीहरूको आवश्यकता अनुरूप अन्य वित्तीय उत्पादनहरू प्रदान गरेर सशक्त बनाउने लक्ष्य राखेको हुन्छ । यसले समुदायमा आधारित दृष्टिकोणलाई जोड दिन्छ । लघुवित्तको ग्रामीण मोडेलले तल्लो तहको आर्थिक विकासलाई जोड दिएको हुन्छ । लघुवित्तको ग्रामीण मोडेलले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका व्यक्तिहरूलाई वित्तीय क्षेत्रमा समावेश गराउन यसको योगदान रहेको हुन्छ । ग्रामीण परिवेशमा सञ्चालित लघुवित्त संस्थाहरूले सामान्यतया व्यक्ति र समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन लघु ऋण, बचत खाता र बीमा जस्ता साना–साना वित्तीय उत्पादनहरू प्रदान गर्छन् । लघुवित्तको ग्रामीण मोडेलले आर्थिक समावेशीकरण, सशक्तीकरण र दिगो विकासलाई प्रवर्द्धन गर्छ ।

ग्रामिण मोडलको मुख्य उद्देश्य
यसको प्रमुख पक्ष भनेको समुदायमा आधारित दृष्टिकोणमा जोड दिनु हो । यसले ग्रामीण समुदायका विशिष्ट चुनौतिहरू र आवश्यकताहरू बुझ्न सहयोग गर्दछ । यसमा साना ऋणहरू र स्थानीय अर्थतन्त्रसँग सान्दर्भिक आय–उत्पन्न गतिविधिहरू तर्फ लक्षित ऋणहरू समावेश हुन्छन् । ग्रामीण लघुवित्त मोडेलले सामुदायिक संलग्नता र सशक्तीकरणमा जोड दिन्छ । यस मोडेलको अर्को महत्वपूर्ण तत्व हो विकेन्द्रीकरण । यो विकेन्द्रीकृत दृष्टिकोणले स्थानीय गतिशीलतालाई राम्रोसँग बुझ्न सहयोग गर्दछ । लघुवित्तको ग्रामीण मोडेलले ग्रामीण समुदायका विशिष्ट विशेषताहरूलाई पहिचान गरी सामुदायिक संलग्नतालाई बढावा दिँदै दिगो विकासका लागि रणनीतिक साझेदारी स्थापना गर्दछ ।

कसरी सुरु भएको थियो ?
सन् १९८३ मा बंगलादेशी सामाजिक उद्यमी मुहम्मद युनुसले लघुवित्तको सृजना गरेका हुन् । यसयुनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरे । सुरुमा उद्यमीहरूलाई साना ऋण उपलब्ध गराउने उद्धेश्यका साथ ग्रामीण बैंकको स्थापना भएको थियो । बंगलादेशमा बाँसको मल बनाउने महिलालाई दिनको दुई सेन्ट कमाउने देख्दा युनुसको लघु कर्जाको दृष्टिकोण सृजना भएको थियो । उनले महिलाहरू ऋणमा फर्कन सक्षम भएमा उनीहरूले आफ्नो मार्जिन सुधार गर्न र धेरै नाफा कमाउन सक्षम हुने निर्णय गरेर उनीहरुलाई २७ डलर ऋण प्रदान गरे । समूह मोडेल पछ्याउँदै ऋण लगानी गरेपछि महिलाहरूले ऋण तिरे र आफ्नो व्यवसाय पनि राम्रोसँग सञ्चालन गरे ।

त्योसँगै २००६ मा युनुसले ग्रामीण बैंकमा कामले नोबेल शान्ति पुरस्कार प्राप्त समेत गर्यो । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष एवम् विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त लम्सालले सामाजिक एकतामा भएको परिवर्तनसँगै लघुवित्तको मोडेलमा पनि परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउँछन् । उनले मोडल यो नै आउनुपर्ने भनेर अहिले नै निक्यौल नभएको बताए । लघुवित्तमा केही समस्या आएपछि मोडल परिवर्तका कुराहरु उठेका हुन् । अर्थविद् डा. चन्द्रमणी अधिकारीले बंगलादेशमा ग्रामीण मोडेल सफल भएको बताउँदै नेपालमा लघुवित्तको मोडललाई प्रयोग गर्ने तरिका ठिक नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जस्तै लघुवित्तलाई हेर्ने नजर एउटै भएकाले समस्या आएको बताए । उनले लघुवित्तलाई व्यापार बनाउन थालेको टिप्पणी गरे । उनले समयअनुसार मोडल परिवर्तन गरे पनि सबैभन्दा पहिला यहाँ सुद्ध्ताको आवश्यकता, नियमन, संस्थाबिच अन्तरसम्बन्ध, इमानदारिता र पारदर्शिताका कुरालाई जोड दिन आवश्यक रहेको बताए ।

मोडल परिवर्तनको विषयमा के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल समयअनुसार कुनै पनि संस्थाको मोडल परिवर्तन हुनु सामान्य रहेको बताउँछन् । उनका अनुसार ग्रामीण मोडेललाई छाडेर पारिवारिक मोडलमा लघुवित्तले काम गर्नुपर्ने अवस्था आएको छ । उनले केही रकमसम्मका ऋणहरु परिवारका सदस्यहरुको सहमतिमा प्रदान गर्ने गर्नुपर्ने बताए । उनले फेरि पनि केही ऋणहरु भने सामूहिक जमानीमा नै र निश्चित रकम धितो मोडलमा जाने कु्रा आइरहेको बताए । अहिलेको समयमा समूहको दायित्व के हुने भन्ने कुरा बढि स्पष्ट हुन आवश्यक भएको बताउँदै उनले जमानत लिने तर ऋण नतिर्ने प्रवृत्ति रहेको उल्लेख गरे । उनले नेपालमा प्रचलित रहेको ग्रामीण मोडेल बंगलादेशमै पनि केही परिमार्जन भएको बताए । बंगलादेशसँग नेपालको व्यवसायको प्रकार, आम्दानीका स्रोत जस्ता कुराहरु केही फरक हुँदा पनि हुबहु गर्ने भन्दा समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ ।

उनले मोडल परिमार्जन भनेर सबै कर्जा धितोमा लगानी गर्न खोजेको हो भने त्यो गलत हुने बताए । उनले तत्कालै धेरै परिवर्तन नभएपनि समसामयिक परिवर्तन हुने उल्लेख गरे । उपयुक्त मोडलहरु आए परिमार्जन गर्न राष्ट्र बैंक सकरात्मक रहेको उनको भनाई छ ।