नेपालमा ग्रिन बैंकिङ्गको अवधारणा र यसको भविष्य

नेपालमा ग्रिन बैंकिङ्गको अवधारणा र यसको भविष्य


काठमाडौं–पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ग्रिन बैंकिङ्ग कारोबारलाई जोड दिँदै आएको पाइन्छ । हाल नेपालले मात्रै नभई अन्य मुलुकहरुले पनि ग्रिन बैंकिङ्गलाई जोड दिएको पाइन्छ ।

के हो ग्रिन बैंकिङ्ग ?

ग्रिन बैंकिङ्गलाई दिगो बैंकिङ्ग, नैतिक बैंकिङ्ग, वा वातावरणमैत्री बैंकिङ्ग भनेर पनि बुझ्ने गरेको पाइन्छ । ग्रिन बैंकिङ्ग, एक बैंकिङ्ग दृष्टिकोण हो जसले बैंकिङ्ग सञ्चालन, लगानी निर्णयहरू र समग्र व्यापार अभ्यासहरूमा वातावरणीय र सामाजिक विचारहरू समावेश गर्दछ । ग्रिन बैंकिङ्गको प्राथमिक लक्ष्य वातावरणमैत्री र सामाजिक उत्तरदायी पहलहरूलाई समर्थन गरेर दिगो विकासलाई प्रवद्र्धन गर्नु हो । ग्रिन बैंकिङ्गको लक्ष्य भनेको स्वच्छ ऊर्जाको प्रयोगलाई गति दिनु हो । जलवायु परिवर्तनबाट हुने जोखिम कम गर्दै विभिन्न किसिमका जोखिम सिर्जना हुने ठाउँमा कर्जा लगानी नगर्नु नै ग्रिन बैंकिङ्ग भएको विज्ञहरुको बुझाई छ । ग्रिन बैंकिङ्ग कारोबारलाई जोड दिने हो भने बैंकहरुले वातावरणलाई हानी नहुँने गरी कर्जा लगानी गर्नुपर्ने पूर्व बैंकर देवेन्द्र प्रताप शाह बताउँछन् । उनका अनुसार यस अवधारणा अन्तर्गत स्रोतहरुको दिगोपन महत्वपूर्ण हुने हुँदा भविष्यका पुस्ताहरुले जलवायु परिवर्तनबाट हुने समस्याहरुको सामना गर्नुपर्दैन । उनले बैंकहरुले वर्तमान र भविष्यका लागि ग्रिन वातावरण कायम गर्न लगानी गर्ने कर्जाको नियामक संरचनाको विकास गर्नुपर्ने र त्यसलाई नियमन गर्नुपर्ने बताए ।

ग्रिन बैंकिङ्गको विश्व परिवेश

ग्रिन बैंकिङ्गको अवधारणा पर्यावरणीय र सामाजिक मुद्दाहरूको बढ्दो चेतनाको प्रतिक्रियामा समयसँगै विकसित भएको हो । ग्रिन बैंकिङ्गको सुरुवात भएको कुनै खास मिति भने भेटिदैन । १९६० र १९७० को दशकमा सामाजिक उत्तरदायी लगानीसँग ग्रिन बैंकिङ्गको उत्पत्तिलाई जोड्न सकिन्छ । २१ औं शताब्दीमा दिगो वित्त प्रवर्द्धन गर्न विभिन्न हरित वित्त संस्था र हरित बैंकहरुको स्थापना भएको पाइन्छ । संयुक्त राज्य अमेरिकाको डोरा, फ्लोरिडामा सन् २००९ मा ‘पहिलो ग्रिनबैंक’ नाम गरेको बैंक स्थापना भएको थियो ।

नेपालमा पनि सन् २०११ मा ग्रीन बैंकिङ्गको अवधारणा आरम्भ गर्ने पहिलो बैंक ‘बंगलादेश बैंक’ हो । नेपालको सन्दर्भमा लक्ष्मी बैंक ग्रिन बैंकिङ्ग अवधारणा र रणनीतिको आरम्भकर्ता हो । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकहरूले पनि ग्रिनबैंकिङ्ग अभ्यासलाई समर्थन गरिरहेका छन् । हालसम्म नबिल बैंक, एनएमबि बैंक र ग्लोबल आईएमई बैंकले पनि ग्रिन बैंकिङ्ग अभ्यासलाई जोड दिएको पाइन्छ । ग्रिन बैंकिङ्ग अभ्यासलाई समेट्ने गरी हाल नेपालका अधिकांश बैंकहरुले लगानी गर्दै आएका छन् । छिमेकी मुलुक भारतलाई हेर्ने हो भने भारतका बैंकहरूले पनि अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, ग्रीन च्यानल काउन्टरहरू, ई–स्टेटमेन्ट, सौर्य एटीएम, आदि जस्ता ग्रिन बैंकिङ अभ्यासहरू सुरु गरेका छन् । भारतमा पहिलोपटक इन्डसइन्ड बैंकले देशको पहिलो सौर्य उर्जाबाट चल्ने एटिएम खोलेको थियो । त्यस्तै, भारतको अर्को बैंक एचडीएफसी बैंकले ग्रिन बैंकिङ्गलाई प्रवर्द्धन गर्न थुप्रै सुझावहरु पनि प्रकाशित गरेको पाइन्छ ।

नेपाल राष्ट्र बैंकको अवधारणा के छ ?

नेपाल राष्ट्र बैंकले गत पुस २५ गते ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’को मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार ग्रीन फाइनान्सिङ्गलाई बढ्वा दिन ग्रिन बन्ड जारी गर्ने, जलवायु जोखिम रिर्पोटिङ्ग गर्ने, पुँजी आवश्यकता पहिचान गर्नेलगायतका विषय समेटेर ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार पारेको थियो । यसबारे २ महिनाभित्र सुझाव दिन सरोकारवालालाई राष्ट्र बैंक अनुरोध पनि गरेको छ । नेपाल राष्ट्र बैंकले थप दिगो र जिम्मेवार वित्तीय क्षेत्रलाई प्रोत्साहन गर्दै ग्रिन बैंकिङ्ग सिद्धान्तहरूलाई आफ्नो रणनीतिमा समावेश गर्न, सुनिश्चित गर्न दिशानिर्देश र प्रोत्साहन गर्न विभिन्न नियमहरू प्रदान गर्ने गरेको छ ।

अर्थविद्ध ज्ञानेन्द्र अधिकारी भने नेपालमा ग्रिन बैंकिङ्गको अभ्यास भएको नपाइने बताए । उनले बैंकिङ्ग सिस्टममा रिसर्च निकै कम भएको बताए । नेपालमा दिगो बैंकिङ्गमा भन्दा पनि ‘सर्ट ट्रम ल्यान्डिङ्ग’ र ‘सर्ट ट्रम फि’ मा केन्द्रीत भएको बताए । नेपालको कन्सेप्ट भन्ने हो भने ग्रिन बैंकिङ्ग शुन्य जस्तै छ । राष्ट्र बैंकको पोलिसीमा भने देखाउँन खोजेको भन्दै मौद्रिक नितीमा परिवर्तन गर्ने हो भने ग्रिन बैंकिङ्गको अभ्यास अघि बढ्ने बताए । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशन नरबहादुर थापाले निजी क्षेत्रलाई केन्द्रमा राखेर काम गर्ने हो भने ग्रिन बैंकिङ्गको अभ्यास सकारात्मक हुँने बताए । उनले केन्द्रीय बैंकले ग्रिन बैंकिङ्ग अभ्यासलाई अघि बढाउन अन्तर्राष्ट्रियस्तरमा अभ्यास गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको उचित नियमन र स्थलगत निरिक्षण गर्नुपर्ने, चालु पुँजीका कर्जाहरु व्यवस्थित बनाउँनुपर्ने, जोखिमयुक्त क्षेत्रमा लगानी कम गर्नुपर्ने बताए ।

ग्रिन बैंकिङ्गको प्रर्वद्धन गर्दा के फाइदा ?

ग्रिन बैंकिङ्ग पर्यावरणमैत्री परियोजनाहरू र दिगो अभ्यासहरूलाई समर्थन गर्दै प्राकृतिक स्रोतहरू, जैविक विविधता र समग्र वातावरणीय स्वास्थ्यको संरक्षणमा योगदान गर्दछ । ग्रिन हरित बैंकिङ्गले नवीकरणीय ऊर्जा र अन्य न्यून कार्बन परियोजनाहरूमा लगानी गर्न प्रोत्साहन गर्छ, जसले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र हरितगृह ग्यास उत्सर्जन कम गर्ने विश्वव्यापी प्रयासमा सहयोग गर्ने गर्दछ । बैंकिङ्ग सञ्चालनसँग सम्बन्धित वातावरणीय जोखिमहरूको मूल्याङ्कन र व्यवस्थापनले सम्भावित वित्तीय जोखिमहरूलाई न्यूनीकरण गर्न मद्दत गर्छ ।

ग्रिन बैंकिङ्गले अर्थतन्त्रको दीर्घकालीन स्थायित्वमा योगदान पुर्याउँछ । वित्तीय लचिलोपनलाई बढवा दिन्छ र वातावरणीय प्रकोपका जोखिमलाई कम गर्छ । अर्थविद्ध डा.चन्द्रमणी अधिकारीले ग्रिन बैंकिङ्गको कारोबार क्रमश बढ्दै गएको भएपनि अपेक्षा अनुसार नबढेको बताएका छन् । उनले भने, ‘यसमा केही कारणहरु छन । जस्तै बैंकहरुले कर्जा लगानी गर्दा ग्रिन बैंकिङ्गलाई प्रोत्सान गर्ने खालको प्रोडक्टहरुमा ध्यान दिनुपर्छ ।

अर्को बैंकहरुले प्रोजेक्ट फाइनान्सिङ्ग गर्दा नाफा मात्रै नभई ग्रिन बैंकिङ्ग उर्जा क्षेत्रमा पैसा लगाउनुपर्छ । तर नेपालका बैंकहरुले त्यस्तो गर्न सकिरहेका छैनन ।’ उनले ग्रिन बैंकिङ्गको कारोबारले अर्थत्रन्त्रमा पनि ठुलो भुमिका रहने भएपनि दीगो क्षेत्रमा लगानी गर्न बैंकहरु अग्रसर नभएको बताए । अधिकारीले केन्द्रीय बैंकले उर्जामा लगानी, साना मझौला उद्योगमा लगानी, कृषिमा आधारित लगानीमा हाल भएको ‘क्यापिङ्ग’ लाई बढाउनुपर्ने बताए ।