कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शर्नी गर्न लागेको मिडिया स्पेस शोलुसन प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए
उनले छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने बताए । उनले विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल रहेको उल्लेख गरेका छन् । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्रि डा.वेदुराम भुसालले गर्ने भएका छन् ।
प्रर्दशनीमा देशभरका किसानहरुलाई प्रदर्शनी भ्रमण गराउन सहज हुने भएकाले काठमाडौंमा आयोजना गरिएको निर्देशक भट्टराईले बताए । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएका छन् ।
मेलामा देशभरबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुका बारेमा जानकारी दिने आयोजकले जनाएको छ । प्रदर्शनीमा करिव २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको र निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया