मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले सनराइज क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

मोलुङ्ग हाइड्रोपावरले आयोजना स्थल ओखलढुङ्गाका बासिन्दाहरुलाई छुट्टयाईएको ८ लाख २ हजार ५ सय कित्ता तथा सर्वसाधारणका लागि २७ लाख २८ हजार ५ सय कित्ता शेयर समेत एक सय रुपैयाँ अंकित दरका ३५ लाख ३१ हजार साधारण शेयर निष्काशन गर्ने भएको भएको हो ।

कम्पनीले स्थानीयलाई ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको तथा सर्वसाधारणलाई २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाण्डौमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको हो ।

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।

कम्पनीको गत माघ २५ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी एक अर्ब र जारी पूँजी वृद्धि गरी ८० करोड २५ लाख कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूँजीमा ५६% अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारणको शेयर स्वामित्व रहनेछ।