बैकिङ्ग शिक्षा

ऋण सदुपयोग गर्न नजान्दा…

ऋण सदुपयोग गर्न नजान्दा…


‘लाइफ इजन्ट इजी’ । हरेक दिन फोनमा बोल्ने मेरी साथीको आवाज आज फरक सुनियो । सायद, उसको आँखामा आँशु पनि थियो ! चन्द्रा मेरी स्कुले साथी । अझै पनि उसँगको मित्रता त्यतीनै सुमधुर छ, जति सुमधुरता पहिलो प्रेममा हुन्छ । सुख दुःखको साथी पनि हो ऊ मेरी । त्यसैले उसले मलाई आफ्ना हरेक प्रोब्लम सेयर गर्छे ।

धेरैपछि उसको रुन्चे स्वर सुनेर मेरो मनमा चिसो पस्यो । केही ख्याल नगरी सोधीहाले, ‘के भो ओए, के अप्ठ्यारो आइलाग्यो भनेकी ?’ ‘घरबाट फोन आएको थियो । किस्ता तिर्न पैसा चाहियो रे’ उसले असहज मान्दै भनी । तर यो उसको हरेक महिनाको टाउको दुखाईको विषय हो । ४ वर्ष अघि ७ लाख ऋण निकालेर उसको माइलो दाईको बिहे भएको थियो । ऋणको साँवा त परको कुरा हो ब्याज समेत तिर्न धौँ धौँ परेको छ । बिहेमा आफन्तबाटै ४ लाख र २ लाख सहकारी बाट कर्जा लिएको उसले बताई । चन्द्राकी आमा एउटा ऋणको खाल्डो पुर्न अर्को ऋणको खाल्डो खनिरहन्छिन् । एक वर्ष अघि आमाको पीडा देखेर धन कमाउन ब्याङ्गलोर पुगेकी उसले भनी, ‘मिटरब्याजमा लिएको ऋणको त अहिले साँवाभन्दा ब्याज बढी भइसक्यो । सहकारीको ऋण चुक्ता गर्न महिनाको १५/२० हजार गरेर मैले पठाइदिन्छु । नपुगे आमाले एउटा सहकारीबाट झिक्दै अर्को सहकारीको तिर्नुहुन्छ ।’

कन्चनपुरको झलारी घर भएकी चन्द्रा ३ दाजुकी एक्ली बहिनी हो । ऋणमा बोझ कम गर्न घरमा बुढा बाआमा र माइली भाउजु छोडेर सबै व्याङलोर पसेको २ वर्ष बित्यो । चन्द्रा भन्छे ‘ऋणको बोझले गाउँ नै छोडेर सबै विदेशतिर लाग्यौं । मिलेर धन कमाउला र ऋण तिरौंला साचेको थिएँ । तर भएन । न माइलो दाइले कमाएको घर पठाउँछ, न कान्छो दाई । जेठो दाईका नि तीन छोरा छन् । कस–कसलाई हेरोस् उसले ।’ ऊ अहिले त्यहीकै एउटा अपार्टमेन्टमा सहजकर्ताको काम गर्छे । भारु २० हजार तलब छ । जेठो दाईसँग बस्ने भएकाले कोठा भाडा उसले तिर्न पर्दैन । जेनतेन १०/१२ हजार नेपाली रुपैयाँ आफ्नो लागि बचाएर बाँकी ऋण कम गर्न लागिपरेकी छे । शुभ कार्यको लागि लिएको ऋण सही तरिकाले खर्च गर्न नजान्दा ब्याज मात्र होइन तनावको भारी पनि गह्रौँ हुँदै गएको छ चन्द्रालाई ।

नातागोता, छरछिमेक सबैतिर ऋण नै ऋण भइसकेको चन्द्राले बताई । आफ्नो आय र बचतको हिसाबकिताब नभएकै कारण ऋण आकाशिएको चन्द्राको भनाइ छ । आपसी समझदारीमा घरखर्चको बजेट छुट्याउन नजान्दा अहिले पनि अनावश्यक खर्च भइरहेको ऊ बताउँछे । ऋणले च्यापेपछि स्नातक प्रथम वर्षको परिक्षा नै नदिई आफ्नो सपनालाई पूर्णविराम लगाएर भारत पुगेकी ऊ भावुक हुन्छे । आँखामा आँसु झार्दै, ‘कमाएको पैसा बचत गर्न नजाने जुन देशमा पुगेपनि बचाउन नसकिदो रहेछ । ऋणको काँडा गहिरो गरी बिझेको छ । निकालेर फाल्न पनि ठूलो आम्दानीको सुई चाहिँदैछ, कसरी जुटाउँ ? समाधान खोज्दैछु ।’

वित्तीय साक्षरता नभएकै कारण आफ्नो आयभन्दा बढी ऋण लिएर पछुताइरहेको चन्द्राको परिवार अहिले दुःखको दोसादमा छ । साहुहरु दिनैपिच्छे घरमा आउँछन् र धम्की दिएर जान्छन् । ‘घरजगगा धितो राखेर ऋण तिरौं भनेनि घरबाहेक केही छैन । ऋणको सदुपयोगसमेत भएन । दुई/तीन दिनसम्म पार्टी चल्यो । रक्सीका कार्टुन–कार्टुन आए । पैसा रित्तियो’, चन्द्राले दुःखेसो पोख्दै फोन काटी ।

चन्द्राको कथा त एउटा प्रतिनिधि कथा मात्र हो । नेपालमा यस्ता कैयौं परिवार छन्, जसले आफ्नो आम्दानीलाई सही ठाउँमा खर्च गर्न जानेका छैनन् । यहाँ हजारौँ मानिसहरु मोज, मस्ती र रमाइलोको नाममा आम्दानी भन्दा दुई गुणा बढी पैसा खर्च गरिरहेका छन । आफ्नो आय, बजेट, बचत र ऋण व्यवस्थापन कसरी गर्ने भन्ने नबुझ्दा पुस्तौसम्मका लागि ऋणको भारी बोक्ने परिस्थीती सिर्जना हुन पुग्छ । त्यसकारण हरेक व्यक्तिले आवश्यक र अनावश्यक पर्ने कुरामा फरक छुट्याउन जानेर आर्थिक पाटो सबल बनाउनुपर्छ ।