मजदुरी त्यागेर व्यवसाय : सानो उद्यमले धेरै कमाइ

मजदुरी त्यागेर व्यवसाय : सानो उद्यमले धेरै कमाइ


काठमाडौं– बल्खु चोकबाट कलंकी जाने बाटोको छेवैमा छ सरिनको सानो सटर । उनी अचेल त्यहीँ बुन्छन् आफ्नो जीवनका सुनौला/घमाइला सपनाहरू । त्यसैको सहारामा जहान बालबच्चा पाल्छन्, छोराछोरी पढाउँछन्, दैनिकी चलाउँछन् । र, गर्छन् थोपा–थोपा संगालेर बचत पनि ।

१५ वर्षको कलिलो उमेरमै बम्बै पुगेका उनलाई २१ वर्षको युवावयमा नियतिले मलेसिया पुर्यायो । तीन वर्षसम्म ‘मलैया’का होटलमा वेटरको काम गरे । उनले सपना देखेका थिए– देश फर्किँदा सोहरेर सबै मिल्काउनेछु दुःखका दिनहरू ।

तर सोचेजस्तो भएन । उनी स्वदेश फर्किँदा उसैगरी फर्किए, जसरी काठमाडौं एयरपोर्ट छाड्दा उडेका थिए । रित्तो हात । भन्छन्, ‘म फर्किँदा यही ज्यानबाहेक केही लिएर आएनँ ।’

०००

बागलुङका सरिन ढकाल दुई छाेराछाेरीका बुवा हुन् । उनको परिवार गाउँमै छ । तर परिवारबाट टाढा बस्नुपर्ने बाध्यता उनको अहिलेदेखिको होइन ।

कक्षा १० पढ्दापढ्दै कमजोर आर्थिक स्थितिका कारण भारत पुगे । भारतमा ६ वर्ष ज्याला मजदुरी गरे । तर जति नै दुःख गरे पनि उनको आर्थिक स्थिति सुध्रिएन । भन्छन्, ‘दुःख गरेँ । दिनको ४ सय मिल्थ्यो । खान, लाउन ठिक्क । घरमा पैसा पठाउन पनि सकिएन ।’

आमाले बोलाएपछि उनी गाउँ फर्किए । उनका बुबा पनि मजदुर हुन् । आमा घरगृहिणी । दुई बहिनी र एक भाइ । जेठो छोरा भएकाले पनि क्रमशः घरको जिम्मेवारी उनको टाउकोमा आउँदै थियो । जिम्मेवारीले निरन्तर थिचिरह्यो । त्यही जिम्मेवारीले उनलाई एक वर्ष पनि घरमा बस्न दिएन । उनले विदेश जाने निर्णय गरे । अनि गाउँबाटै दुई लाख ऋण लिएर उडे मलेसिया ।
मलेसियाको होटलमा वेटरको काम गर्दा उनको हातमा मासिक ४० हजार पारिश्रमिक पर्थ्याे । १० हजारले जेनतेन महिना चलाएर बाँकी घर पठाउँथे । यसरी कमाएको पैसा उनलाई मलेसिया उड्दा लागेको ऋण तिर्नै ठिक्क भयो । मुस्किकलले दुई भाइबहिनीलाई पढाए । आफूले पढ्न नपाए पनि भाइबहिनीलाई पढाउने सपना उनले पालेका थिए ।

३ वर्षपछि घर फर्किँदा घरमा आमाले सरिनको बिहेको तयारी गरिसकेकी थिइन् । गाँस काटेर बिहेका लागि भनेर अलिअलि पैसा पनि जोहो गरेकी थिइन् । तर आर्थिकस्तर नउकासी सरिनलाई बिहे गर्न मन थिएन । तर पनि आमाको जिद्दीलाई टार्न सकेनन् । र, विवाहबन्धनमा बाँधिए । त्यसपछि झनै गहु्रंगो भयो उनको जिम्मेवारीको भारी ।

६ वर्ष बुबासँगै मजदुरी गरे । बालुवा र गिट्टी बोके । घर बनाउने काम गरे । तर समयमै कामको पैसा हात पर्न मुस्किल पथ्र्यो । आफैँ केही गर्ने योजना बनाए । अनि १५ हजार बोकेर सरिनले काठमाडौंको बाटो तताए ।

काठमाडौं आए पनि के गर्ने? उनले केही सोचेका थिएनन् । दुई दिन ढुङ्गेअड्डामा साथीसँग बसे । तर के गर्ने निधो गर्न सकेनन् । साथीले नै सुझाए, ‘चटपटे व्यापार गर न त।’ लगानी पनि धेरै नचाहिने भएपछि साथीको सुझावअनुसार चटपटे बेच्ने निर्णय गरे । ठाउँ खोज्न सुरु गरे ।

विगत पाँच वर्षदेखि बल्खुमा पानीपुरी र चटपटे बेचिरहेका उनी अब आफ्नो पेसामा सन्तुष्ट छन् । अर्काको मजदुरी छाडेर आफ्नै व्यवसाय गर्न पाएको गौरव पनि लाग्छ उनलाई । उद्यम सानो छ, आम्दानी आफूलाई पुग्दो छ । यसैमा खुसी छन् उनी ।

आफ्नो समय अनुसार व्यवसाय गर्छन् । हरेक दिउँसो २ बजेपछि मात्रै खोल्छन् सटर । ८ नबज्दै बन्द गरेर डेरा जान्छन् । ठाउँ साघुँरो छ, त्यसैले ३/४ ओटा स्टुल छन् । तर सधैँ भरिभराउ हुन्छन् । सटर अगाडि उनको चटपटे रुचाउनेहरू पर्खिएर पालो कुरिरहन्छन् ।

यही पेसाबाट उनी दैनिक १५ सयसम्म कमाउँछन् । तर चिसो मौसममा भने चटपटे, पानीपुरी अन्य समयभन्दा कम बिक्छ ।त्यसैले अहिलेको समयमा उनको दैनिक आम्दानी ६ देखि ८ सयमसम्म हो । त्यसैबाट खाद्यान्न जुटाउँछन् । छोराछोरी पढाउँछन् । मासिक कोठा भाडा तिर्छन् । वार्षिक ३ लाख रुपैयाँभन्दा बढी कमाउने उनले अचेल केही बचत पर्ने गर्ने बानी बसालेका छन् ।

बैंकसँग जोडिएपश्चात् आफ्नो आर्थिक पाटो अझैं सबल बनेको अनुभव उनको छ । पैसाको कारोबारमा उनी सक्षम हुँदै छन् । उनले भने, ‘पहिले कमाए पनि आवश्यकता पूरा गरौँ लाग्थ्यो । नचाहिने सामान पनि किनिन्थ्यो । अहिले थोरै भए पनि जोगाउँ लाग्छ । फाल्तु खर्च गर्दिनँ ।’ आर्थिक पाटो बलियो बनाउन वित्तीय साक्षरतालाई कसरी पछ्याउने भन्ने शिक्षा पनि सरिनले सिकिसकेका छन् । भन्छन्, ‘सधैँभरि पैसा हुँदैन । अप्ठयारोमा पर्दा ऋण माग्दा कस्तो व्यवहार हुन्छ भन्ने पनि भोगेको छु । त्यसैले अलिकति भए पनि बैंकमा जम्मा गर्ने गरेको छु ।’

हिम्मत जुटाएर आफ्नै व्यवसाय सुरु गरेका उनी अब आफ्नो र परिवारको चाहना पूरा गर्नसक्ने भएका छन् । चटपटे र पानीपुरीकै व्यावसायलाई व्यवस्थित बनाएर चलाउने उनको इच्छा छ । त्यसका लागि पनि उनी तयारी गरिरहेका छन् । व्यवसाय सानो भए पनि आफ्नो हुने भएकाले उनी सकेसम्म आफ्नै व्यवसाय गर्न सुझाउँछन् । मजदुरी गर्दा मालिकले गर्ने रुखो व्यवहार अब उनले व्यहोर्नुपर्दैन । चिन्तामुक्त छन् । भन्छन्, ‘सानो भए पनि आफ्नै हो । काम गर्न अब न कसैको अनुमति चाहिन्छ, न पैसा कहिले आउँछ भनेर कुर्नुपर्छ ।’