वित्तीय साक्षरता अभावका कारण आर्थिक विशृंखलता, बच्न कसाे गर्ने?

वित्तीय साक्षरता अभावका कारण आर्थिक विशृंखलता, बच्न कसाे गर्ने?


पूँजीवादी अर्थव्यवस्थाका कारण समाजमा वर्गीय खाडल पनि बढ्दै गयो। एकातर्फ एक वर्ग शासन गर्ने, विश्वमा राज गर्ने स्थानमा पुग्यो। अर्को वर्ग साँझबिहानको गर्जो टार्न दिनहूँ कठिन संघर्ष गर्न बाध्य भयो। तथापि, उक्त वर्ग सधैँ दैनिकी कसरी गुजार्ने? ऋणबाट कसरी मुक्त हुने वा निकालेको ऋण कसरी सदुपयोग गर्ने? संघर्षमै किन सीमित रह्यो? यसको प्रमुख कारणमध्ये एक वित्तीय साक्षरताको अभाव पनि हो ।

वित्तीय साक्षरता के हो?
मानिसको जीवनको एउटा महत्वपूर्ण पाटो हो; पैसा ।

यसकाे अभावमा अधिकांश इच्छा, चाहना अधुरै रहन्छन् । कुन समयमा कस्तो अप्ठ्यारो आइलाग्छ? निकट भविष्यमै जीवनमा कस्ताे घटना घट्छ? थाहा हुँदैन। त्यस्तो परिस्थितिको सामना गर्न पनि पैसा नै चाहिन्छ । भविष्यका लागि एउटा निश्चित उद्देश्य, समयसीमा तोकेर पैसाको बचत गर्नु, वर्तमानका आवश्यकता र अपर्झट आइलाग्ने समस्याको समाधान गर्न पूर्ववत् रुपमै खर्चको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने ज्ञान नै वित्तीय साक्षरता हो ।

यसले आम्दानीको वृद्धि, व्यवस्थित खर्च, बचत र लगानीकाे चेतना मात्रै दिँदैन, ऋणबाट कसरी मुक्त हुने वा निकालेको ऋण कसरी सदुपयोग गर्ने तथा हुँदा खानेबाट कसरी हुनेखाने बन्ने भन्ने विषयको ज्ञान पनि प्रदान गर्छ । जसरी मौरीले फूलबाट अलि–अलि रस झिकेर मह बनाउँछ, त्यसरी नै मानिसले आफ्नो आम्दानीको सानो–सानो अंशलाई जोडेर आफ्नो आर्थिक स्थितिलाई सबल बनाउन सिक्नुपर्छ । यसका लागि वित्तीय साक्षरताका कार्यक्रमहरु आवश्यक छन् ।

वित्तीय साक्षरताका कार्यक्रम कसका लागि ?
बदलिँदो परिवेशसँगै आउने प्रविधि र मानव जीवनका भिन्र तौरतरिकासँग सापेक्ष रहँदै अवस्थाहरू पहिचान गर्न वित्तीय साक्षरता सबै तहतप्काका शिक्षित र निरक्षर, धनी वा गरिब जोसुकैलाई पनि आवश्यक छ। जसमा वित्तीय ज्ञानको अभाव छ, उसका लागि वित्तीय साक्षरताका कार्यक्रम झन् आवश्यक छन् ।

कतिपयलाई भविष्यको चिन्ता हुँदैन । बचत नगर्ने, आवश्यकताभन्दा फजुल कुरामा पैसा खेर फाल्ने, ऋण निकाल्ने तर फिर्ता नगर्ने र ऋणलाई दुरुपयोग गर्ने बानी हुन्छ । मानिसका यी र यस्ता बानीमा सुधार ल्याउन वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आवश्यक छन् ।

वित्तीय साक्षरताकाे जरूरी कसलाई छ? उसाे त सबै वर्ग, समुदाय र क्षेत्रका मानिसलाई यसकाे आवश्यकता छ। तर वित्तीय साक्षरताका कार्यक्रम गर्दा दुर्गम र वित्तीय पहुँच कम भएका स्थानहरूलाई प्राथमिकता दिनुपर्ने भनाइ राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोख्रेलको छ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्ने भएकाले यसको सहभागितामा वृद्धि गर्नुपर्ने पोख्रेल औंल्याउँछन् । उनी भन्छन्, ‘पहिले-पहिले मानिसहरूमा बैंक र वित्तिय संस्थाप्रति अविश्वास थियो । आफ्नो व्यवसाय सञ्चालन गर्न खाता खोल्न लगाउँछन् भन्ने मानसिकता थियो । तर अहिले बैंक भनेका हाम्रा उन्नतिका साथी हुन्, समृद्धिका सारथी हुन् । हामीले बैंकमा बचत गर्नुपर्छ, कारोबार गर्नुपर्छ । कर्जा लिएर उद्यम गर्नुपर्छ भन्ने चेतना जागरण भएको छ ।’

वित्तीय साक्षरताको स्थिति
राष्ट्रिय जनगणना २०७८ अनुसार ६९.९ प्रतिशत घरपरिवार बैंकिङ्ग पहुँचमा छ। अर्थात्, अझैँ ३१.१ प्रतिशत घरपरिवार बैंकिङ्ग सेवाबाट वञ्चित छन् । यसबाट नेपालमा हुँदै आएका वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमले प्रभावकारी भूमिका खेल्न नसकेको पुष्टि हुन्छ । यस्ता कार्यक्रमले मानिसमा वित्तीय सचेतना फैलाउन नसक्दा र ३१.१ प्रतिशत मानिसलाई बैंकिङ्ग पहुँचमा ल्याउन नसक्दा के यस्ता कार्यक्रम क्षणिक हुन् ? या संस्थाहरुको देखावटी ? अथवा मानिसहरुले आफ्नो दैनिकिलाई बदल्नै नचाहेका हुन् ? गम्भीर प्रश्न उठ्छ ।

वित्तीय साक्षरता विशेषगरी ग्रामीण क्षेत्र, साना र मझौला व्यावसाय गरिरहेका महिला वर्ग, युवा, रेमिट्यान्स प्रापक र विद्यार्थीका लागि सञ्चालन भइरहेको एभरेष्ट बैंकका मार्केटिङ हेड पुष्पराज उप्रेती बताउँछन् । तर सबैका लागि वित्तीय साक्षरताका कार्यक्रम प्रभावकारी नभएको उनको भनाइ छ । प्रविधिसँग नजिक भएपछि बैंकमा खाता खोल्नेको संख्या बढे पनि पैसा पठाउने र झिक्ने व्यवस्थाबारे मात्र सेवाग्राही जानकार भएकाे उनले बताए । तर बैंकबाट प्रवाह हुने अन्य सेवासुविधालाई कसरी सदुपयोग गर्ने भन्ने ज्ञानको अभाव विद्यमान रहेको जानकारी उनले दिए।

पहिला खर्च गरेर पछि बचत गर्ने उल्टो बानी मानिसमा रहेको उनको भनाइ छ । ‘खर्च गरेर जम्मा गर्ने होइन, पहिला बचत गर्ने बाँकी पैसालाई जम्मा गर्नुपर्छ । यस्ताे तरिकाले वित्तीय चेतना बढाउन देशभरमै रहेका शाखाबाट कार्यक्रम भइरहेको छन्’, उनले भने ।

सुरक्षित भविष्य कसरी बनाउने भन्ने कुराको चिन्ता हुँदाहुँदै पनि वित्तीय ज्ञान नभएका कारण बचत गर्न नसकिने, ऋणको व्यपस्थापन गर्न नसकिने, उद्देश्य निर्धारण गर्न गाह्रो हुने स्थिति मानिसमा रहेको उनको भनाइ छ । यसै स्थितिबाट माथि उठ्न वित्तीय सेवामा समुदायका मानिसहरूको सहभागिता बढाउनुपर्नेमा उनले जाेड दिए । सहभागिता बढेपछि बैंक र वित्तीय संस्थाहरूको कारोबार समेत बढ्ने भएकाले वित्तीय साक्षरता व्यक्तिका लागि मात्र नभई संस्थाका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।

वित्तीय साक्षरताको नीतिगत व्यवस्था
नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिका लागि वित्तीय साक्षरता ढाँचा, २०७९ तर्जुमा गरेको छ । साथै निर्देशिका जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत छुट्याएको रकम हरेक प्रदेशमा न्यूनतम १० प्रतिशतको दरले खर्च गर्नुपर्ने व्यवस्था गरेकाे छ । त्यसरी छुट्याइएको रकम वार्षिक योजना तथा कार्यक्रम बनाइ तोकिएबमोजिमका क्षेत्रमा खर्च गर्नुपर्छ । सबै प्रकृतिका व्यवसायीले गरेको खुद नाफाबाट अनिवार्य १ प्रतिशत छुट्ट्याउने गरी काम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले इजाजत प्राप्त बैंक र वित्तीय संस्थाहरुले वित्तसम्बन्धी तालिम, पाठ्यसामग्री निर्माण र नाटकहरू प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि गरेकाे छ ।

यसै व्यवस्थामा आधारित रहेर समय–समयमा देशैभर बैंक र वित्तीय संस्थाहरूले कार्यक्रम गर्दै आइरहेका पनि छन् । तर बैंक र वित्तीय संस्थाले जुन संवेदनशीलताका साथ समुदायमा कार्यक्रम गर्नुपर्ने हो, त्याे जिम्मेवारी पूरा गरेको देखिदैन । समुदायका मानिसको चेतनाको स्तर, सरलता, भाषा र अभिरुचिअनुरुपका कार्यक्रम गर्न नसक्दा यस्ता कार्यक्रममा न्यून सहभागिता रहने एवम् कार्यक्रम प्रभावविहीन भइ कर्मकाण्डमा मात्र सीमित रहेको आम गुनासो छ ।

विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्साल संस्थाहरूले समुदायमा वित्तीय साक्षरताका कार्यक्रम गर्नुपूर्व कर्मचारीलाई यससम्बन्धी आवश्यक तालिम र क्षमता अभिवृद्धिका कार्यक्रममा समावेश गराइनुपर्ने बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरताका कार्यक्रम गरी उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, आयआर्जनसँगै उत्पादन बढाउनुपर्नेतर्फ जोड उनले दिए। ‘पैसा परिचालन गर्न सिकाउनु मात्र वित्तीय साक्षरताको कार्यक्रमभित्र पर्दैन,’ उनी भन्छन् ।

मानिसमा हुने पैसाप्रतिको लालच हटाएर व्यक्तिले गर्ने बीमा, खर्च गर्ने बजेट, घरपरिवारका आवश्यकता पूरा गर्न चाहिने आँट अभिवृद्धि गर्न सके वित्तीय साक्षरताको विषयले विस्तारित रूप लिन सक्ने लम्सालले बताए ।

नेपाली समाजमा पैसा हुँदा खर्चेर सक्ने र नहुँदा पछुताउने प्रवृति व्याप्त छ । आफूले गर्ने खर्चबारे आफै जानकार नहुनु, अनावश्यक खर्च गर्नु वित्तीय साक्षरता अभावको कारण हो । साना व्यावसाय गर्न नखोज्नु, आर्थिक उपार्जनका साधनको खोजी गर्न नसक्दा एकल जागिरको स्राेतमै परिवार निर्भर रहनु र कमाइएको रकमलाई जथाभावी प्रयोग गर्नु वित्तीय चेतनाको चरम अभावतर्फ संकेत गर्छ ।

देशको आर्थिक अवस्था खल्बलिरहेको समयमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्न सक्छन् । वित्तीय क्षेत्रमा मौलाएको अराजकता हटाउन, कर्जा तिर्नु पर्दैन भन्ने मानसिकतालाई बदल्न, कर्जाको दुरुपयोग हटाउन, मानिसलाई आफ्नो वित्तीय दायित्वप्रति जिम्मेवार बनाउन वित्तीय साक्षरताको भूमिका झन् बढेर गएको छ।