शेयर कारोबार गर्दा यी ३० विषयमा ध्यान दिन नेप्सेको आग्रह, यस्ता छन्  ५ शीर्षक अन्तर्गत ३० बुँदे जानकारी

शेयर कारोबार गर्दा यी ३० विषयमा ध्यान दिन नेप्सेको आग्रह, यस्ता छन्  ५ शीर्षक अन्तर्गत ३० बुँदे जानकारी


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध पक्षबारे सार्वजनिक सूचना प्रकाशन गरेको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेप्सेले शेयर लगानीकर्ताको लागि ५ शीर्षक अन्तर्गत ३० बुँदे जानकारीमूलक सूचना प्रकाशन गरेको हो । 

हेर्नुहोस् नेप्सेको जानकारी

पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध पक्ष 

१. प्रतिकुल परिस्थिति 

 सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिलाई पार्ने प्रभाव बारे बुझेको हुनुपर्छ । उसलाई लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल दर बारे जानकारी हुनुपर्छ । 

 निरन्तर मुद्रास्फितिको वातावरणले विभिन्न किसिमका लगानीमा पार्ने प्रभावको जानकारी तथा विश्लेषण लगानीकर्ताले गर्नुपर्छ । 

 अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि गरिने लगानी विविधीकरणको महत्वलाई लगानीकर्ताले बुझेको हुनुपर्छ । 

 लगानीकर्ताले प्रतिकुल अवस्थाका लागि पर्याप्त आपतकालीन कोषको व्यवस्था गरेको हुनुपर्छ । 
 सबै किसिमका लगानीमा जोखिम हुन्छ भन्ने लगानीकर्ताले बुझेको हुनुपर्छ ।
  जोखिम व्यवस्थापन गर्ने, मुद्रास्फितिको प्रभाव कम गर्ने र चर्को ब्याजको ऋणबाट बच्ने रणनीति तथा योजना लगानीकर्तासँग हुनुपर्छ । 
 
२. दिगो लगानी 

 दीर्घकालीन लगानी तथा लगानी विविधिकरणले प्रतिकुल आर्थिक अवस्था र बजार उतारचढावहरू बाट पार पाउन मद्दत गर्छ । 

 वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार क्षेत्र तथा संस्थामा गरिएको वित्तीय लगानी दिगो हुन्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्छ ।

 धितोपत्र निष्कासन कर्ताले प्रकाशित गर्ने विवरणबाट उक्त संस्था वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार हो कि होइन भन्ने थाहा पाउन सकिन्छ । 

 धितोपत्र निष्कासनकर्ता र लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकताहरू मेल खान्छ कि खादैन विचार गर्नुपर्छ ।

 लगानीको अवसर फरक फरक हुन्छन त्यसमध्ये आफूलाई कुन उपयुक्त हो लगानीकर्ताले छुट्याउन सक्नुपर्छ । 

३. जालसाजी, अपराध तथा ठगी 

 लगानीकर्ताले कारोबार गर्ने संस्था इजाजतपत्र प्राप्त हो कि होइन बुझ्नुपर्छ । 
 लगानी गर्नु अघि स्वतन्त्र रूपमा लगानीका अवसरहरूको अनुसन्धान गर्नुपर्छ । 
 छिटो धनी बन्ने, कहिल्यै नोक्सान नहुने, नाफाको ग्यारेन्टी गर्नेहरूको पछि लगानीकर्ता लाग्नुहुदैन । 
 हतारमा लगानीको निर्णय गर्नु हुदैन
 अपरिचितले गर्ने फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्दा आफ्ना सबै कुरा खुलाउनु हुदैन । 
 आफ्ना वित्तीय सूचना भएका मोबाइल, कम्प्युटर लगायतका उपकरणमा बलियो गरी पासवर्ड राखेको हुनुपर्छ । 
 सामाजिक सञ्जाल मार्फत आउने लगानीका प्रस्तावको पछि लाग्नुहुदैन । 
 इन्टरनेटमा पाइने कुनै पनि लगानी सम्बन्धी जानकारीको राम्ररी जाँचबुझ गर्नुपर्छ । 
 
४. लगानीका आधारभुत पक्ष 

 लगानीकर्ताले दीर्घकालीन, नियमित र लगानी विविधकरणको फाइदालाई बुझिनुपर्छ । 
 लगानीकर्ताले आफ्नो भविष्यको आवश्यकता र लक्ष्य अनुसारको लगानी योजना बनाउनुपर्छ । 
 के मा लगानी गर्दैछु ? भन्ने कुरा लगानीकर्ताले बुझेको हुनुपर्छ । 
 कुन क्षेत्रमा लगानी गर्दा कति शुल्क लाग्छ ? त्यसले लगानी प्रतिफलमा कस्तो प्रभाव पार्छ ? लगानीकर्ताले थाहा पाउनु पर्छ ।
 लगानीका प्रकृया लगायत लगानीसम्बन्धी विद्यमान ऐन, कानुन लगायतका विषयमा लगानीकर्ता जानकार हुनुपर्छ ।
 लगानीकर्ताले धितोपत्र हस्तान्तरण र रकम भुक्तानी तोकिएको समयमा नै गर्नुपर्छ ।
बजारमा सुनिने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुदैन
 
५. प्राविधिक पक्ष 

 वर्तमान द्रुत प्रविधिको लगानी वातावरणमा पनि समय लिएर लगानी सम्बन्धी निर्णय गर्नुपर्छ । 
 वित्तीय लगानीमा डिजिटल प्रविधिको उपयोग गर्दा हुनसक्ने जोखिमहरू के के हुन थाहा पाउनुपर्छ । 
 लगानीकर्ताले सूचनाको आधिकारिक स्रोत कुन हो? कुन होइन ? भन्ने छुट्याउन सक्नुपर्छ । 
 द्रुत गतिको प्रविधिको प्रभावमा परेर गर्न सकिने गलत लगानी निर्णय प्रति सधैँ सचेत हुनुपर्छ ।

4849a78554ba52735eff6c693c0540c3 (1).pdf