मेनपावर व्यवसायीद्वारा अध्यागमन विभाग घेराउ

मेनपावर व्यवसायीद्वारा अध्यागमन विभाग घेराउ


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन विभाग घेराउ गर्दै नाराबाजी गरेको छ । वैदेशिक रोजगारमा हिँडेका श्रमिकहरुलाई बिनाकारण फिर्ता गरेको भन्दै संघले विभाग घेराउ गर्दै नाराबाजी गरेको हो ।

म्यानपावर व्यवसायीहरुले अध्यागमनका कर्मचारीले बिनाकारण दुख दिएको भन्दै महानिर्देशकको राजीनामा मागेका छन् । महानिर्देशकको आदेशमा श्रमिकलाई फिर्ता गर्ने काम भएको भन्दै महानिर्देशकले राजिनामा दिनुपर्ने व्यवसायीहरुले बताएका हुन् ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुवेत जान लागेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको थियो । दोहोरो कागजात रहेको भन्दै असार २४ गते १५ जना र असार २७ गते ११७े जना श्रमिकलाई विमानस्थलबाटै फिर्ता गरेको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले अहिले अनलाइन व्यवस्था भएकोले जो कोहीले पनि क्यूआर स्क्यान गरेर हेर्न सक्ने भएकोले दोहोरो कागजात भन्नु झुट रहेको बताएका छन् ।
संघले अध्यागमनले फिर्ता गरेका श्रमिकको क्षतिपूर्ति दिनुपर्ने र फिर्ता गर्ने कर्मचारीलाई छानबिन गरेर कार्बाहि गर्नुपर्ने माग गरेको छ ।