पूरा तलब नपाएको भन्दै त्रिचन्द्रमा प्राध्यापकको पेन डाउन

पूरा तलब नपाएको भन्दै त्रिचन्द्रमा प्राध्यापकको पेन डाउन


बैंकिङ समाचार,काठमाडौं । 

त्रिचन्द्र क्याम्पसका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन् । एक वर्षदेखि पूरा तलब नपाएको विरोधमा क्याम्पसका प्राध्यापक र कर्मचारीले आज बिहानदेखि पेन डाउन गरेका हुन् । 

चालु आर्थिक वर्ष २०७९–८० को शुरुदेखि लागू हुनेगरी वृद्धि गरिएको १५ प्रतिशत तलब हालसम्म पनि नपाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस इकाइ समितिका सभापति टीकाराज कैनीले बताएका छन्  । क्याम्पसमा कार्यरत तीन सय प्राध्यापक र एक सय कर्मचारीले बढेको तलब नपाएको जानकारी दिइएको छ ।

यसबारेमा क्याम्पस प्रशासनसँग लगातार छलफल भएपनि सुनुवाइ नभएपछि पेन डाउन गर्न वाध्य भएको कैनीले बताएका छन् ।

यसअघि असार १७ गते प्राध्यापक संघले ध्यानाकर्षण पत्र जारी गर्दै तीन दिनभित्र  आफूहरूको माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो । तर, तीन दिन बितिसक्दा पनि आफूहरूको मागबारे क्याम्पस प्रशासन संवेदनशील नभएपछि पेन डाउन गर्नुपरेको सभापति कैनीले बताए ।

उनका अनुसार त्यहाँका प्राध्यापक र कर्मचारीहरूले एकवर्षदेखि  १५ प्रतिशत कम पारिश्रमिक पाउँदै आएका छन् । बिहानदेखि पेन डाउन गरेर बसेको भएपनि यसमा क्याम्पस प्रशासनबाट कुनैपनि प्रतिक्रिया नआएको सभापति कैनीले बताएका छन् ।