कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे दुर्गा प्रसाईं, ८ बैंकको ५ अर्ब ५७ करोड ऋण 

कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे दुर्गा प्रसाईं, ८ बैंकको ५ अर्ब ५७ करोड ऋण 


बैंकिङ्ग समाचार, काठमाडौं । 

बैंकले ऋण तिर्न पत्र पठाएपछि अन्तरिम आदेशको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन्। कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्नरनगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् ।

उच्च अदालत विराटनगरको इलाम इजालशले असार ११ गते कुमारी बैंकका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर, प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन भने अदालतले अस्वीकार गरेको छ । अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई असार २० गते बोलाइएको छ । प्रसाईंको पक्षबाट बी एण्ड सीका प्रशासकीय अधिकृत टिकाप्रसाद अधिकारीले रिट दायर गरेका थिए ।

कुमारी बैंकले २०८० वैशाख १ गते ऋण तिर्न ताकेता गर्दै पठाएको पत्र कार्यान्वयन भएमा धितोहरु समेत लिलाममा गइ कालोसूचीमा समावेश गर्ने प्रवल सम्भावना रहेको र उपकरण अभावमा सेवा संचालन गर्न समेत बाधा अवरोध हुने हुँदा उक्त पत्र तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी प्रसाईंका तर्फबाट अधिकारीले रिटमार्फत अन्तरिम आदेशको माग गरेका थिए । तर अदालतले भने यसलाई अस्वीकार गरेको हो । छलफलका लागि बोलाइएको मितिसम्म ऋण असूलीको कुनै पनि कानूनी प्रकृया अघि नबढाउन अदालतले बैंकलाई आदेश दिएको छ ।

प्रसाईंले २०७९ फागुन १ गते  झापाबाट नागरिक बचाउ महाअभियान सुरु गरेका थिए । अभियान घोषणा गरेसँगै उनले बैंकको ऋण नतिर्ने, ऋण उठाउन आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने तथा आक्रमण गर्ने जस्ता अराजक गतिविधि सञ्चालन गर्दै आएका छन् ।राष्ट्र बैंकका अनुसार प्रसाईंले बी एण्डसी, पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’ लगायतमा गरी साढे ५ अर्ब रुपैयाँ ऋण लिएका छन् । प्रसाईंले अहिलेसम्म बैंकबाट लिएको ऋणको साँवा ब्याज तिरेका छैनन् । तर, बैंकबाट ब्याजको पुँजीकरण गरी साँवा ऋण बढाउँदै आएका छन् ।

यसो त प्रसाईंको कुमारी बैंक मात्र होइन नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थामा ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण रहेको छ । प्रसाईंले गत पुसदेखि कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफूले लिएको ऋणको साँवा–ब्याज तिरेका छैनन् । तर, हाल उनी बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलनको नेतृत्व गर्दै हिँडेका छन् ।

उनले बैंक वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि बढाउन थालेसँगै बैंकहरुले ब्याज पुँजीकरण गर्न अस्वीकार गर्न थालेपछि प्रसाईं थप अफ्ठ्यारोमा परेका छन् । साँवा ब्याज नतिरेपछि धितो राखेको सम्पत्ति बैंकले लिलाम गर्न अन्तिम पत्र काटेसँगै उनी त्यसलाई रोक्न अदालत पुगेका हुन्