अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई परीसंघको सुझाव 

अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई परीसंघको सुझाव 


बैंकिङ समाचार, काठमाडौं । 

नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्दै परिसंघका पदाधिकारीले सुझाव दिएका हुन् । 

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले गभर्नर अधिकारीसँग मौद्रिक नीति, अर्थतन्त्र लगायतका विषयमा छलफल गरेको हो । 
अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताएका छन् । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै उनले हाल तरलता भए पनि कर्जाको उच्च ब्याज तथा चालु पुँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको उनको भनाई छ । 

उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

भेटमा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छाया शर्मा, राष्ट्रिय परिषद् सदस्यहरू अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी भएका थिए ।