बाढीले क्षति भएको जलविद्युतको अनुमति अवधि ५० वर्ष बनाइदिन इप्पानको माग

बाढीले क्षति भएको जलविद्युतको अनुमति अवधि ५० वर्ष बनाइदिन इप्पानको माग


बैंकिङ समाचार,काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था,नेपाल (इप्पान)ले जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष बनाउन सरकारसँग माग गरेको छ ।

इप्पानको नवनिर्वाचित पदाधिकारीले विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतसँग भेटेर सो माग गरेको हो । भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले बाढीका कारण गम्भीर क्षति भएर सञ्चालनमा रहेका आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष गरिदिन आग्रह गरेका हुन् ।

त्यस्तै ३ वर्षदेखि विद्युत खरिद विक्री सम्झौता (पीपीए) रोकिँदा करीब १२ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना रोकिएको इप्पानले जनाएको छ । क्यू ४० मा डिजाइन गरिएका आयोजनालाई क्यू २५ सम्म डिजाइन गरेर जलस्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादनको व्यवस्था गर्न इप्पानले माग गरेको छ ।

इप्पानले वित्तीय संकटका कारण निर्माणमा ढिलाइ भएका आयोजनाको पनि अनुमतिपत्रको अवधि २ वर्ष थप गरिदिन आग्रह गरेको छ। बैंकिङ क्षेत्रमा आएको तरलता संकटकै कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाहरूलाई वित्तीय व्यवस्थापनका लागि २ वर्ष समय थप गरिदिन पनि इप्पानले माग गरेको हो ।

त्यस्तै आयोजना निर्माणको लागि आवश्यक मेसिनरी र पार्टपुर्जा आयात गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर छुट हुने सबै सामानको एकमुष्ठ छुट सिफारिस गर्न पनि इप्पानले माग गरेको छ ।