आधार दरमा २ प्रतिशतसम्म मात्र ब्याज लिन राष्ट्र बैंकको निर्देशन 

आधार दरमा २ प्रतिशतसम्म मात्र ब्याज लिन राष्ट्र बैंकको निर्देशन 


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो । 

२०७९ साउन १८ गते जारी गरिएको निर्देशनबमोजिम ब्याजदर निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो । 

गत साउन १८ गते राष्ट्र बैंकले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, सतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीमूलक व्यवसाय एवं उद्यम–व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ । 

यदि कसैले यस किसिमको कर्जा लिइसकेको वा लिने तयारी भइरहेको छ भने आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने सम्बन्धित संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न पनि आग्रह गरिएको छ ।