किर्ते कागज गरी ऋण प्रवाह गरेको आरोपमा वाणिज्य बैंकका प्रबन्धक  ८ वर्ष जेल

 किर्ते कागज गरी ऋण प्रवाह गरेको आरोपमा वाणिज्य बैंकका प्रबन्धक  ८ वर्ष जेल


बैंकिङ्ग समाचार, काठमाडौं । 

किर्ते कागज बनाएर ऋण दिएको अभियोग लागेका राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई आठ वर्ष कैद सजायको फैसला भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा अनियमितता मुद्दा दायर गरेको थियो।

विशेष अदालतले प्रबन्धक शाही र अर्का रिजवान अहमदलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरेको हो। शाहीलाई आठ वर्ष कैदसँगै १ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतले जानकारी दिएको छ।

विशेष अदालतका अध्यक्ष शालिग्राम पौडेल र सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारुको संयुक्त इजलासले १ असारमै कसुर कायम गरे पनि सजाय निर्धारण गरेको थिएन।  लागि आइतबारको पेसी राखिएको थियो। आइतबार कैद निर्धारण भएको हो। रिजवान अहमद जसगढलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ। यस मुद्दामा प्रतिवादी रहेका अन्य ६ जनाले भने सफाइ पाएका छन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाका प्रबन्धक शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्याङ्कन गरेर कर्जा दिएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।