बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठ मसान्तसम्म नेपालले १३ खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा १३ खर्ब ३७ अर्ब ३९ करोड व्यापार घाटा पुगेको हो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक प्रतिशतले घटेको छ । चालू आवको जेठ मसान्तसम्मको अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ ।
विभागका अनुसार निर्यात पनि २२ दशमलव ७४ प्रतिशतले घटेको छ । यस अवधिमा एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको निर्यात भएको छ । यस अवधिमा कूल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।
नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा आठ खर्ब ३८ अर्ब ८५ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड बराबरको मात्रै निर्यात भएको देखिन्छ ।
त्यस्तै, चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा एक अर्ब ५२ करोडको मात्र निर्यात भएको छ । चीनसँगको व्यापारघाटा दुई खर्ब ८४ करोड बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रहेको छ ।
नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख, नर्वेसँग १० करोड १६ लाख र अल्जेरियासँग सात करोड २५ लाख व्यापार नाफा गरेको छ ।
जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ३७ अर्ब ६० करोडको डिजेल, ६१ अर्ब ३८ करोडको पेट्रोल र ५४ अर्ब ३२ करोडको एलपी ग्यास रहेको छ । त्यस्तै, ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोडको कोइला र २४ अर्ब ६२ करोडको कच्चा पाम तेल आयात भएको छ ।
नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै, १० अर्ब २१ करोडको प्रशोधित पाम तेल, आठ अर्ब ४७ करोडको प्रशोधित सोयाबिन तेल र सात अर्ब ७० करोडको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया