चिनको डिजिटल वालेट वी च्याट पे र एनएमबी बैंकबिच सहकार्य, अब चिनियाँ नागरिकले क्युआरबाट भुक्तानी गर्न सक्ने

चिनको डिजिटल वालेट वी च्याट पे र एनएमबी बैंकबिच सहकार्य, अब चिनियाँ नागरिकले क्युआरबाट भुक्तानी गर्न सक्ने


बैंकिङ समाचार,काठमाडौं ।

चिनको डिजिटल वालेट वी च्याट पे र एनएमबी बैंकबिच सहकार्य भएको छ ।

चिनियाँ नागरिकले क्युआर कोडमार्फत नेपालमा अनलाइन भुक्तानी गर्न सक्ने गरी  वी च्याट पे र एनएमबी बैंकबिच सहकार्य भएको हो । उक्त सहकार्यले नेपालमा अब चिनियाँ नागरिकले क्युआर कोडमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पोखरामा बिहीबार एक कार्यक्रमबीच उक्त सेवाको औपचारिक घोषणा गरेका हुन् । एनएमबी बैंकसँगको सहकार्यले नेपालमा कारोबार गर्न चिनियाँ नागरिकलाई अवसर प्रदान गरेको बैंकले जनाएको छ । एनएमबी बैंकमा खाता खोलेका ग्राहकलाई बैंकले वी च्याट पेको क्युआर कोड प्रदान गर्नेछ । जसले चिनियाँ नागरिकले सजिलै अनलाइनमार्फत सटही सुविधा पाउने बैंकले जनाएको छ ।

चिनियाँ राजदूत सोङले कार्यक्रमबीच अब नेपालमा कारोबार गर्ने चिनियाँ नागरिक र पर्यटकलाई क्युआर कोडमार्फत भुक्तानी गर्न सजिलो हुने बताएका छन् ।  वी च्याट पे सार्वजनिक भएपछि चिनियाँ पर्यटकले नेपालमा नोट सटहीको झन्झटबाट मुक्ति पाएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डको सिइओ धनञ्जय रेग्मी, एनएमबी बैंकका संचालक योगेन्द्रलाल प्रधान, बैंकका सिइओ सुनिल केसी लगायतले चिनियाँ नागरिकलाई मात्र नभएर चीनमा रहेका नेपालीलाई घर पैसा पठाउन पनि वी च्याट पेमार्फत सजिलो भएको बताएका थिए ।