बाढीले बगाएका कामदारको परिवारलाई १० लाख क्षतिपूर्ति दिन इप्पानको माग

बाढीले बगाएका कामदारको परिवारलाई १० लाख क्षतिपूर्ति दिन इप्पानको माग


बैंकिङ्ग समाचार, काठमाडौं । 

बाढीले बगाएका कामदारको परिवारलाई १० लाख क्षतिपूर्ति दिन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले माग गरेको छ।

असार १ र २ गते पूर्वी नेपालमा आएको बाढीले १९ जलविद्युत आयोजनामा क्षति  भएपछि इप्पानले प्रधानमन्त्री र ऊर्जा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।  मंगलबार इप्पानले बुझाएको ज्ञापन पत्रमा पहुँचमार्गको तत्काल पुनस्निर्माण गर्न, आयोजनालाई ऋणको अवधि १ वर्ष थप गर्न, पुन:निर्माण अवधि वा बढीमा १ वर्षसम्म ऋणको ब्याज मिनाहा गर्न आग्रह गरेको छ।

यस्तै संचालन अनुमति र आरसिओडीको म्याद  १ वर्ष थप गर्न, राष्ट्र बैंकमार्फत ५ वर्षका लागि रिफाइनान्सको व्यवस्था गर्न र क्षतिग्रस्त आयोजनाहरूको यथाशक्य बीमा दाबी भुक्तानीको व्यवस्था गरिदिन माग गरिएको छ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लामा आएको बिनाशकारी बाढीका कारण त्यसक्षेत्रका हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला नदी बेसिनमा निर्माणाधिन तथा सञ्चालनमा रहेका १९ जलविद्युत आयोजनाहरुमा गम्भीर क्षति पुर्‍याएको छ ।

बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र माया खोला नदी बेसिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ३ मेगावाट, पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ०.९ मेगावाट, माया खोला १४.९ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्‍याएको छ । सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन् । अहिलेसम्म ४ जना मृत फेला परेका छन् ।

त्यसैगरी ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेसिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला ९.७ मेगावाट, इवा खोला ९ मेगावाट, काबेली बी-१ २५ मेगावाट, काबेली बी-१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १४.९ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२.१ मेगावाट, सुपर काबेली क्यासकेड १२ मेगावाट, काबेली-३ २१.९३ मेगावाट, सुपर काबेली खोला-ए १३.५ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्‍याएको छ ।

बाढीले क्षति पुगेका यी जलविद्युत आयोजनाहरुमा निर्माण भइसकेका संरचना बगाउँदा पुन:निर्माणगर्नुपर्ने अवस्था छ भने सञ्चालनमा आएका आयोजनाहरुको मासिक आम्दानीसमेत गुमेका कारण बैंक तथा वित्तीय संस्थामा ऋण भुक्तानी गर्न नसक्ने अवस्था सृजना भएको इप्पान अध्यक्ष कार्कीले बताए ।

क्षति भएका आयोजनाहरुको पुन:निर्माण कार्य गरी पुरानै अवस्थामा फर्काउन कम्तिमा पनि १ वर्ष समय लाग्ने देखिएकोले यस्तो विषम परिस्थिति तथा दैवी प्राकृतिक प्रकोपका कारण उत्पन्न अवस्थालाई मध्यनजरगर्दै पीडित आयोजनाहरुलाई तपशिल अनुसारको राहतको व्यवस्था गर्न इप्पान अध्यक्ष कार्कीले सरकारसँग माग गरेका छन् ।