ऋण लिएर कोही पीडित हुँदैन, ऋण लिएपछि तिर्नैपर्छ : गर्भनर अधिकारी 

ऋण लिएर कोही पीडित हुँदैन, ऋण लिएपछि तिर्नैपर्छ : गर्भनर अधिकारी 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ऋण लिएर कोही पीडित नहुने र ऋण लिएपछि तिर्नैपर्ने बताएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल ‘म्यान’ले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हु्न् । ‘हाम्रो समाजमा यसको योगदान धेरै ठूलो छ । गरिब, निमुखा र अतिविपन्न नागरिकको जीवनस्तर माथि उठाउने सन्दर्भमा धेरै काम भएको छ । ऋण लिएर कोही पीडित हुँदैन ऋण लिने मान्छे लाभार्थी हो, उसले ऋण तिर्नपर्छ । तिर्दैन भन्ने कुरा आउँदैन । यो प्राथमिक विषय हो । राष्ट्र बैंक सहकारीमा छिर्न चाहँदैन । सहकारी स्वनियमनमा छन् । तथापि, सहकारीहरु नियमनमा रहनुपर्छ भन्ने कुरा हामीले वर्षौंदेखि भन्दै आएका छौं उनले बताए ।

कन्फिडेन्सको कुरा आउँछ, वित्तीय कारोबार गर्ने संस्थाहरुमा अविश्वास बढ्यो भने केहीले पनि धान्न सक्दैन । तर, यो स्वाभाविक हो । सहकारीमा पनि भएको त्यही हो । सहकारीमा पहिलाको जस्तो समस्या आउला जस्तो लाग्दैन । सहकारीको पैसा जग्गा फसेको हो कि भन्ने लागेको छ । त्यो कमिटीको प्रतिवेदन र यो विशिष्टीकृत संस्थाले गरेको कामबाट सहकारीका समस्यामा सहजै निराकरण गर्छौं भन्ने विश्वास हामीलाई छ,’ गर्भनर अधिकारीले बताए । 

‘जहाँसम्म उत्पादनमा लगानी गर्ने कुरा छ, कृषि विकास बैंकलाई हामीले कृषिमा लगानी गर्ने नेतृत्वदायी बैंकको रुपमा सरकारले अघि बढाउन खोजेका हौं । उहाँहरुले नेतृत्व पनि लिनुभयो । उहाँहरुलाई कृषि बन्ड निकाल्नु भन्यौं । करिब १८ अर्बको कृषि बन्ड निकाल्नु पनि भयो । तर, कृषिमा मात्र केन्द्रित हुनुपर्ने संस्था त्यो परिधिभन्दा बाहिर गएकोमा हामी सचेत छौं । तथापि, कर्जा प्रवाहमा लिडिङ भएको हिसाबले अरु वित्तीय संस्थाले भन्दा उहाँहरुले नै गर्नुपर्छ,’ उनले भने । 

‘समग्रमा, राष्ट्र बैंकले पाएको म्यान्डेटअनुसार काम गरिरहेको छ । डिजिटल बैंकिङमा धेरै काम भएको छ । विगत अढाई वर्षदेखि मैले पर्स बोक्नुपरेको छैन । अधिकांशले बोक्नु हुन्न जस्तो लाग्छ । अघि प्रसंग निस्कियो, हामीले मर्जर, अक्विजिसनलाई अहिले पनि प्राथमिकतामा राखेका छौं । अहिले जे नतिजा आइरहेको छ, राम्रो आइरहेको  उजको तर्क थियो ।