बैंकिङ समाचार,काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ ।
‘विगत केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाको भुक्तानी सेवाप्रदायकको कर्मचारी भएको भन्दै ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न ओटीपी, निश्चित अंकको नम्बर या नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको छ,’ राष्ट्र बैंकद्वारा बिहीबार जारी सूचनामा भनिएको छ, ‘यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ ।’ बैंकले जारी गरेको सुचनामा भनिएको छ ।
ठगी गर्ने गिरोहरुले आफ्नो खातामा पैसा सार्ने उद्देश्यले विवरण माग्ने गरेको पाइएको जनाउँदै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले विद्युतीय भुक्तानी उपकहरुको प्रयोग गर्दा सजगता अपनाउन सूचित गरेको हो ।यस्ता ठगीबाट जोगिन अपरिचित व्यक्तिले मागेको कुनै पनि सूचना उपलब्ध नगर्न राष्ट्र बैंकले अपिल गरेको छ । कसैले यसप्रकारका घटना घटाएमा वा घटाउन उत्प्रेरित गरेमा तत्काल जानकारी गराउन पनि केन्द्रीय बैंकले सूचित गरेको छ ।
कसैले त्यस्तो प्रयास गरेमा सम्बन्धित सेवाप्रदायक संस्था तथा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन वा इमेल ठेगाना [email protected] मा अबिलम्ब जानकारी गराउन आग्रह गरेको छ। केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाले यस्ता अवाञ्छित गतिविधिलाई सूक्ष्म रुपमा निगरानी गर्न पनि सचेत गराएको छ ।
प्रतिक्रिया