नबिल बैंक र एसियन पेन्टबीच च्यानल फाइनान्सिङको सम्झौता

नबिल बैंक र एसियन पेन्टबीच च्यानल फाइनान्सिङको सम्झौता


बैंकिङ्ग समाचार,काठमाडौं । 

नबिल बैंक र एसियन पेन्ट्सबीच च्यानल फाइनान्सिङ सुविधाका सहकार्य गरिएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो ।

नबिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

कार्यक्रममा नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत  बिनय रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्टस्का प्रमुख बित अधिकृत समीर श्रेष्ठका साथै  एसियन पेन्टस्का अन्य कार्यकारीहरूको पनि उपस्थिति थियो ।

यस सम्झौता अन्तर्गत एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ् कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्टस् नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय बिस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए ।