डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, क्युआरबाटै २६ अर्ब ५ करोड बढीको कारोबार 

डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, क्युआरबाटै २६ अर्ब ५ करोड बढीको कारोबार 


बैंकिङ समाचार, काठमाडौं । 

पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो ।

राष्ट्र बैंकका अधिकारीका अनुसार पछिल्लो समय नगदसहित क्युआर पेमेन्ट,मोबाईल बैंकिङ्ग, कनेक्ट आइपिएस,आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि इ–कर्मश, इन्टरनेट बैंकिङ्ग, वालेट, पोन्ट अफ सेल्सका प्रयोगकर्ता बढेको राष्ट्र बैंकको तंथ्याकले बताएको छ ।

सार्वजनिक भएको तंथ्याक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार १५५.६२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । 
चालु आवको समिक्षा अवधिमा भने २६ अर्ब ५ करोड १० लाख रुपैयाँ बढीको कारोबार क्युआर कोड मार्फत भएको छ । गत आर्थिक वर्षको बैशाख मसान्तसम्ममा १० अर्ब १९ करोड १० लाख रुपैयाँ बढीको कारोबार क्युआर कोड मार्फत भएको थियो ।

समिक्षा अवधिमा ८५ लाख ८७ हजार २२४ पटक क्युआर कोड मार्फत भुक्तानी भएको छ ।समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग कारोबार पनि ८४.८३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा भने झण्डै दोब्बरले बढेर २ खर्ब १० अर्ब १ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा २ करोड ७४ लाख २४ हजार ७३२ पटक मोबाइल बैंकिङ्ग कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत आवको बैशाख मसान्तसम्मा भने १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको थियो ।

बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १७.४६ प्रतिशतले बढी हो । गत चैत मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४ लाख ३४ हजार ३१ रहेको थियो ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा इन्टरनेट बैंकिङ्ग मार्फत १३ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत आवको समिक्षा अवधिमा भने ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार इन्टरनेट बैंकिङ्ग मार्फत भएको थियो ।यस्तै, समिक्षा कनेक्ट आइपीएस मार्फत ३ खर्ब ५९ अर्ब ५२ करोड ८ लाख बढीको कारोबार भएको छ । समिक्षा अवधिमा कनेक्ट आईपीएस मार्फत ४२ लाख १० हजार ४८० पटक कारोबार भएको छ । कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या भने १० लाख ६४ हजार ५४९ रहेको छ ।

डिजिटल कारोबार मार्फत, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने लगायतका काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको देखिन्छ । 

पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षणसँगै डिजीटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रुपमा अघि बढेको हो । डिजीटल कारोबारलाई राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ ।