७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार

७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार


बैकिङ्ग समाचार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जनाएको छ । चालु आर्थिक वर्ष २०७९—८० को चैत मसान्तसम्मको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या गत चैतसम्म ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या गत असार मसान्तमा ११ हजार ५२८ रहेकोमा गत चैत मसान्तमा ११ हजार ६४३ पुगेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् गत चैत मसान्तसम्म २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जरप्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

 यसमध्ये १८५ संस्थाहरूको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएका छन्।